जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।
प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधीले नेपालको संविधान २०७२ मा संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै ओलीको निर्णय अवैधानिक भएको बताए ।
लोकतान्त्रिक प्रणाली, देश, जनता र संविधानको रक्षाको लागि प्रतिनिधिसभाको आवश्यकता भएको जनाउँदै उनले कांग्रेस प्रतिनिधिसभा प्राप्त गर्ने दुवै विकल्पका लागि तयार रहेको बताए । ‘हामीलाई प्रतिनिधिसभा चाहिन्छ, यसमा दुई मत हुनै सक्दैन । यसका दुई विकल्प छन् प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन,’ उनले भने, ‘हामी दुवै विकल्पका लागि तयार छौं ।’
कांग्रेस आन्दोलन भन्दा पनि निर्वाचनको पक्षमा देखिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले भनेको छ देश, जनता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा चाहिन्छ । अदालतले संसद् पुनःस्थापना ग¥यो भने पनि वा निर्वाचनमा जान भने पनि हामी त्यो निर्णय स्वीकार गर्छौं ।’
अब हुने निर्वाचन विगतमा राजाद्वारा गराइएको निर्वाचन प्रणालीजस्तो नहुने उल्लेख गर्दै उनले निर्वाचनमा भाग लिनु संवैधानिक रहेको बताए । ‘संसद् विघटन नभएको भए पनि निर्वाचनको तयारीमा जुट्ने समय आइसकेकै थियो,’ निधिले भने, ‘निर्वाचनको तयारी एक–दुई वर्षपहिलेदेखि नै गर्ने हाम्रो पुरानै चलन छ ।’
निधिले संसद पुनस्थापना र निर्वाचन दुवै विकल्पका लागि कार्यकर्ताहरुलाई तयार भएर बस्न आफूले निर्देशन दिएको बताए । निधिले संविधानलाई ट्रयाकमा ल्याउन कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिने बताए । प्रतिनिधिसभा फर्काउन अदालतको फैसला वा निर्वाचनमात्र विकल्प रहेको भन्दै उनले दुवै विकल्पका लागि कांग्रेस तयार भएर बस्नुपर्ने स्पष्ट पारे ।
‘सडकबाट अहिले संसदको पूर्नस्थापना सुरक्षित देखिएको छैन । पुनस्थापना र निर्वाचन दुबै नहुने स्थिति नबनोस्,’ उनले थपे,‘कम्युनिस्टहरूले दुवै कुरा चाहेका छैनन् । तर, कांग्रेस चाहिँ यसको कारक बन्नु हुँदैन ।’
नेपाली कांग्रेसले यसअघि १४ औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाती स्पष्ट पारेका छन । उनले भने ‘म आफै पनि महाधिवेशनको तयारीमा लागेको थिएँ तर अहिले प्राथमिकता बदलिएको छ ।’ अगाडि भने ‘पहिले पार्टीको महाधिवेशन प्राथमिकता थियो भन्दै उपसभापति निधिले अहिले चुनाव भयो भने चुनावमा भाग नलिने भन्नु अनुचित हुने बताए ।