नेपालका आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा धुमधामसँगै मनाउँदै आइरहेको माघेसंक्रान्ति र माघेमेलाको महात्म्यको अत्यन्तै महत्व रही आएको छ । काठमाडांै उपत्यकाका आदिवासी नेवार र तराईका आदिवासी थारूहरूले माघेसंक्रान्तिलाई आआफ्नै रीतिरिवाजअनुसार मनाउँदै भव्य रूपमा मान्दै आइरहेका छन । त्यस्तै अन्य जातिकाले पनि आआफ्नै संस्कार अनुसार मनाउँदै आइरहेका छन ।
माघ महिनाको संक्रान्ति घिउ, चाकु खाएर मनाइने संक्रान्ति । त्यसैले यो संक्रान्तिलाई घिउ चाकु संल्हु पनि भनिन्छ । दक्षिणयाणमा रहेका सूर्य यो दिनदेखि उत्तरयाणमा सर्दै आउँछ । १२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ, यो प्राकृतिक नियम नै हो । नेवारी संस्कारअनुसार माघेसंक्रान्तिका दिन चाकुमा तिल राखेर बनाएको लड्डु खानु पर्ने र विभिन्न प्रकारले तिलको प्रयोग गर्नुपर्ने भएकाले यो संक्रान्तिलाई नेवारहरूले हाम्वः संल्हु, तिल संक्रान्ति पनि भन्ने गर्छन् । यो दिन अलिकता अमलाको धुलो दलेर नुहाउनुपर्ने, तिल राखेर तेल लगाउनुपर्ने, छोराछोरीलाई आमाले टाउकोमा तिल राखेर तोरीको तेल लगाइ दिनुपर्ने, तिल राखेर पितृ तर्पण गर्नुपर्ने, तिल आगोमा डढाउनुपर्ने, तिल खानुपर्ने, अनि तिल दान गर्नुपर्ने नेवारी संस्कार र परम्परा छ । यसरी विभिन्न प्रकारले तिल प्रयोग गर्नुपर्ने भएकाले नै यस संक्रान्तिलाई हाम्वः संल्हु, तिल संक्रान्ति भनिने हो ।
जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ्य बनाइ राख्न मनाउँदै आएको यो माघेसंक्रान्तिका दिन शरीरलाई अत्यन्तै फाइदा हुने घिउ, चाकु, तरुल, पालुंगोको साग, माछासहितको सम्ये बजी खाएर चाड मान्ने पुर्खाहरूले बनाइ राखेको यो चलन बैज्ञानिक रूपमा पनि उचित देखिन्छ । जाडोको समयमा शरीरलाई नभई नहुने न्यानोपन, तागत र शरीर बलिस्ठ बनाउन विभिन्न परिकार बनाएर खाने चलन हाम्रा पुर्खाहरूले चलाउँदै आएको यो चाड नेवार संस्कारसँगै सम्बन्धित भएकाले पनि यसको ठूलो महŒव रहेको हो ।
नेवारहरूले यो चाड मनाउने दिन बिहान सवेरै घरभरी बढारेर सफा सुग्घर पारेर सबैभन्दा पहिला देवी देवताको पूजा गर्दा घिउ, चाकु, माछा र सम्ये बजी चढाउँछन् । यसरी नै पितृ तर्पण गर्दा पनि घिउ, चाकु, तरुल, माछा, सम्ये बजी, चामल, पालुंगो, मास आदि राखेर दान दिइने गरिन्छ । घरैमा पनि पितृभाग राखेर पन्छाइन्छ । नेवारहरूले चाड मान्दा सबैभन्दा पहिला देवता र पितृलाई मानी सकेपछि मात्र आफन्त र साथीभाईलाई बोलाएर भोज खुवाउने पनि नेवारी संस्कृतिभित्रै पर्छ ।
माघेसंक्रान्तिमा ठेचोमा देवता पूजा, माघ महात्म्य र वृहस्पति जात्रा पनि हुने भएकाले यो ठेचोको जात्रालाई एक ठेचो तीन जात्रा पनि भन्ने गरिन्छ
नेवारी संस्कृतिअनुसार बिहे गरेर पठाई सकेका छोरीलाई बोलाएर भोज खुवाउने र टाउकोमा आमाले तेल लगाइदिने परम्परा छ । बिहे गरी पठाएका छोरी चेलीहरूले बच्चा नजन्माएसम्म लोग्नेको घरमा घिउ चाकु खानु हन्न भन्ने नेवारहरूको चलन छ । यो दिन सिद्रा माछा खाएमा शत्रु कमजोर हुन्छ भनिन्छ । त्यस्तै हरियो लसुनको टाउको टोक्नु पर्छ शत्रुको टाउको टोके बराबर हुन्छ भनिन्छ । यो दिन खाइने पालुंगोको साग पनि पाटनकै पालुंगो चाहिन्छ भनी खोजी खोजी किनेर ल्याउने गरिन्छ ।
घिउ, चाकु र सम्ये बजीको साथै थलथले मासु, सिद्राको थलथले पनि खाने गरिन्छ । चाड मनाउँदा माघेसंक्रान्तिका दिन विहान घरका सवै परिवार एकै ठाउँमा बसेर मकलमा आगो बालेर त्यसमा घिउ, चाकु, तरुल र पकाएका सबै परिकारका एक एक टुक्रा चढाउने गरिन्छ भने सिद्रा माछा पनि आगोमा चढाएर धुवाँ आउने पारिन्छ । यसरी नेवारहरूले माघेसंक्रान्ति मनाउने संस्कार रही आएको छ ।
सनातन संस्कृतिका अनुयायीहरू माघेसंक्रान्तिका दिन बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थानमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्छन् भने यो दिन ब्राम्हण वा पुरोहितहरूबाट महिना सुन्ने चलन पनि छ । महिना सुन्ने र सुनाउनुको मूख्य उद्देश्य ऋतु, तिथि र बारको जानकारी लिनु र दिनु हो ।
यो दिन तराईको आदिवासी थारुहरूले माघी संक्रान्ति र तिला संक्रान्ति भन्दै धुमधामसँग मनाउने गर्छन । यसै दिन थारूहरूको नयाँ वर्ष शुरु हुने भएकोले पाँच दिन सम्म रमाइलो गर्दै चाड मनाउँछन् । थारू समुदायमा सँुगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ ।
मगर समुदायले टराभरा उभौली जीवजनमा प्रवेश गरेको खुशीयालीमा माघेसंक्रान्ति चाड मनाउँछन् । यस चाडमा खास गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु खाने र मासको दाल भात र नुन एकै ठाउँमा पकाई खिचडी बनाई खाने र खिचडी नै पितृृलाई पिण्ड दिने गर्छन् । यो दिन मगरहरूले आफ्ना चेलीवेटी र इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । नेपाल सरकारले २३ पुस २०६५ मा माघेसंक्रान्ति मगर जातिको पनि राष्ट्रिय पर्व हुने भनी निर्णय घोषणा गरेकाले मगर जातिले गौरवान्वित ठानेका छन् । र राष्ट्रिय पर्वको रूपमा मान्दै आएका छन् ।
माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ । यो मेला लिच्छिविकालीन राजा मानदेवको पालादेखि सुरु भएको हो भनिन्छ । यो संक्रान्तिका दिन देशका विभिन्न तिर्थमा माघ स्नानको मेला नै लागिरहेको हुन्छ । माघ स्नान भनेर यसरी नुहाएर मेला भर्ने सन्दर्भमा वाग्मती अञ्चलको त्रिशूली र तादी खोलाको दोभान देवीघाटमा र उपत्यकाका बाग्मती नदी र मनमती मनहरा खोलाको संगम शंखमूल, त्यस्तै नारायण्ी अञ्चलको त्रिशूली, काली गण्डकी र राप्ती नदीको देवघाटमा मेला लाग्छ । नारायणी अञ्चलको देवघाटमा मेला भर्न नेपाल र भारतका हजारौं भक्तजनहरूको भिड लागिरहेका हुन्छन् । माघेसंक्रान्तिको मेला भर्न र नुहाउनुका साथै पितृ तर्पण गर्ने भक्तजनहरू एक दिनअघि नै देवघाटमा वास बस्न पनि हजारौंको संख्यामा आउने गर्छन् ।
काठमाडौं उपत्यकाका आदिवासी नेवार र तराईका आदिवासी थारूले माघेसंक्रान्तिलाई आआफ्नै रीतिरिवाजअनुसार मनाउँदै भव्य रूपमा मान्दै आइरहेका छन्
त्यस्तै, गुल्मीमा धार्मिक ऐतिहासिक महत्व भएको रुरु क्षेत्रमा पनि माघेसंक्रान्तिको मेलाको दुई, तिन दिन अघिदेखि नै नेपाल र भारतका भक्तजनहरू जाने गर्छन् । माघेसंक्रान्तिको मेला भर्न गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्रमा भक्तजनहरूको ठूलो भिड लागिरहन्छ । वैशाख संक्रान्ति, माघेसंक्रान्ति र हरिबोधिनी एकादशीका दिन विशेषगरी ठूलो मेला लाग्ने यो रुरु क्षेत्र तीन ओटा जिल्लाको संगम रहेको र यही क्षेत्र भएर कालीगण्डकी बगिरहेकाले पनि तीन दिनसम्म गण्डकमा नुहाएर त्यहाँ स्थित ऋषि केशव देवताको दर्शन गरेमा सम्पूर्ण पापबाट मुक्त भएर मोक्ष प्राप्त हुने जनविश्वास रही आएको छ । यसैले रिडीको रुरु क्षेत्रमा बर्सेनि १ देखि ३ माघ सम्म गण्डक स्नान गर्नेहरूको भिड नै लागिरहेको हुन्छ । ऋषि केशव, भृंगतुंगेश्वर, रुरु कन्याको मन्दिर, राम नाम स्तुप, मणि मुकुन्देश्वर, महाविष्णुका साथै दर्जनौं भन्दा बढी देवालयहरू भएको यो क्षेत्रलाई नेपालको वनारस पनि भन्ने गरिन्छ ।
त्यस्तै, माघेसंक्रान्तिका दिन भक्तपुरको सिपाडोल गाविस स्थित आशा पुरेश्वर महादेव स्थानमा पनि मेला लाग्छ । यहाँ पनि टाढा टाढा देखि भक्तजनहरू आएर मेला भर्ने गर्छन । माघे संक्रान्तिका दिन भक्तपुरमा बर्सेनि पाँच ओटा दीपंकर बुद्ध भगवान्को मूर्ति प्रदर्शन गरिन्छ । काठमाडौंमा भने १२ बर्षमा एक पटक उपत्यकाका सबै दीपंकर बुद्धका मूर्तिहरू हनुमानढोका दरबार अगाडि माघे संक्रान्तिको अघिल्लो दिन प्रदर्शन गरिन्छ । मानिसकै आकारका ६÷७ फिट अग्ला ती दीपंकरका मूर्तिहरू भोलिपल्ट माघे संक्रान्तिका दिन स्वयम्भूको भुइँखेलमा प्रदर्शन गरेर सम्यक पूजा गरी पञ्चदान पर्व मनाइन्छ । राजाको पनि उपस्थिति हुने सो सम्यक पुजामा राजालाई पनि दीपंकर बुद्धका रूपमा मानेर पूजा गरिन्थ्यो र अभिषेक गरिन्थ्यो । हाल राजा हटि सकेको हुँदा दीपंकर बुद्धका मूर्तिहरू मात्र प्रदर्शन गरेर पञ्चदान गरिन्छ । श्रद्धालु भक्तजनहरूले यथासम्भव आफनो गच्छे अनुसार दान दिएर पञ्चदान पर्व मनाउँछन् ।
माघेमहात्म्य मनाउने क्रममा सांखुमा परुषहरूले पनि व्रत बसेर अष्टमातृका देवीको आराधना गरेर जिउ नाप्ने र महिलाहरूले सहस्रधारा जल बगाएर बज्रयोगिनी देवीलाई क्षमा पुजा गर्ने गर्छन । माघमहात्म्य मनाउने भन्दै उपत्यकामा टोलै पिच्छे सहस्रधारा जल बगाएर तीर्थमा गई नुहाएर माघमहात्म्य गीत भजन गाउँदै गाउँ नगर परिक्रमा गरिन्छ । तर अहिले यो चलन धेरै ठाउँमा हराइसक्यो, कतै कतै गाउँघरमा बाँकि छन । साँखुमा भने यो परम्परा हालसम्म कायमै छ ।
त्यस्तै, ललितपुरको ठेचोमा पनि यो परम्परा हाल सम्म रही आएको छ ।
ठेचोमा माघ महात्म्य परिक्रमा गर्दा १० अवतार प्रर्दशन गरेर सवा लाख सहस्रधारा जल बगाएर जात्रा मनाउने परम्परा छ । श्री स्वस्थानीको व्रतकथा प्रारम्भ भएको दिनदेखि नै माघ महात्म्य सुरु गरिन्छ । यही समयमा ठेचोका मानिसहरूले कुल देवता पुजा, वृहस्पति देवताको जात्रा र माघ महात्म्य एकै चोटि मनाउने भएकाले नै यसको विशेष महत्व छ । बिहानैदेखि सुरु हुने यो जात्रामा जल चढाउने र व्रत बसेका महिलाहरूले आफ्नो शरीरमा दियो बालेर ठेचोका ब्रम्हायणी, बालकुमारी, नवदुर्गा र भैरव परिक्रमा गरेर अत्यन्तै श्रद्धा भक्तिपूर्वक ठेचोका नेवारहरूले जात्रा मनाउँदै आइरहेका छन् । १० अवतार देवता पनि सम्मिलित गरेर मनाइने भएकाले यो जात्रा अत्यन्तै रमाइलो हुन्छ । कुल देवता पुजा, माघ महात्म्य र वृहस्पति जात्रा पनि हुने भएकाले यो ठेचोको जात्रालाई एक ठेचो तीन जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा मल्लकालदेखि चल्दै आएको हो भनिन्छ ।






