काठमाडौं । काठमाडौंमा शनिबारबाट १०औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु हुने भएको छ । २५ फागुनसम्म नेपालका विभिन्न सहरमा आयोजना हुने यो मेला एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्न लागेको हो ।
कल्चरल ग्रुपमा अध्यक्ष तथा १०औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाका अनुसार यसपटकको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट र नेपाल गरी ११ देशले आफ्ना लोकनृत्य प्रस्तुत गर्नेछन् । बिहीबारबाट उनीहरू नेपाल आउनेक्रम सुरु भएको छ ।
नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन यो मेला विगतझैं यसपटक पनि भव्यसँग आयोजना गर्न लागेको पनि कोइरालाले बताए । यो मेलाको उद्घाटनमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ देशका कलाकारले आफ्ना कला प्रस्तुत गर्नेछन् ।







