सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन पाएकी थिइनन् । दिनभर वालुवा निकालेर माछा मारेर दैनिकी चलाउने सुन्तलीको परिवार आर्थिक अभावकै कारण रोग लाग्दा पनि अस्पतालसम्म जान सकेका थिएनन् ।
आफ्नै घर छेउमा औषधी सहित स्वास्थ्यकर्मीहरु आएपछि आफन्तको साहारामा लौरो टेक्दै स्वास्थ्य शिवरमा आएकी सुन्तलीले आफुलाई भएको सबै समस्या सुनाइन । घुडा दुख्ने र छाती दुख्ने समस्याबाट ग्रसित सुन्तलीलाई डाक्टरको टोलीले परिक्षण गरेपछि केही औषधी दिएर पठाएपछि उनी खुसी देखिन्थीन ।
सुन्तली माझी जस्तै सोही बस्तीकी ठुलीकान्छी माझीले पनि आफ्नै घर छेउमा आएर स्वास्थ्यकर्मीको टोलीसँग आफुलाई भएको समस्याको बारेमा जानकारी गराएपछि उनको पनि स्वास्थ्य परिक्षण गरेर निःशुल्क औषधी हातमा लिएर जाँदा कम्ती खुसी थिइनन् ।
चौतारा साँगाचोकगढी–१४ माझी बस्ती र इन्द्रावती गाउँपालिका–११ बिसदेउटारका माझी बस्तीका अल्पसंख्यक माझी समुदायलाई लक्षीत गरेर नेपाली सेनाले एक दिनको स्वास्थ्य शिविरको आयोजना गरेर निःशुल्क औषधी समेत दिएपछि सुन्तीले र ठुलीकान्छी जस्तै सयौ माझी समुदायले आफ्नो घर छेउमै स्वास्थ्य परिक्षण गराएका थिए ।
इन्द्रावती नदी किनार छेउमा गुजुमुज परेको माझी समुदायको बस्ती २०७२ को भुकम्पले सखाप बनाएपछि चौतारा साँगाचोकगढी नगरपालिका–१४ को माझी बस्ती स्वेता श्री फाउण्डेशनको अगुवाइमा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ भने इन्द्रावती–११ बिसदेउटारको माझी समुदायको बस्ती ओरेक संस्थाले निर्माण गरिदिएको थियो ।
बस्ती निर्माण सम्पन्न भएपनि आर्थिक समस्याका कारण यहाँका माझी समुदाय चिसोको कारण बिरामी हुन थालेपछि नेपाली सेनाले माझी बस्तीमा नै पुगेर निःशुल्क स्वास्थ्य परिक्षण शिवीरको आयोजना गरेको थियो ।
नेपाली सेनाको श्री नम्बर २६ बाहिनी अड्डाको आयोजना तथा गोरख बक्स गण,श्री नम्बर २६ फि.ए गुल्म,श्री नम्बर १ फि.ए गुल्म लगायत स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र चौतारा अस्पतालक सँग समन्वयमा माझी समुदायको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य शिवीरमा नेपाली सेनाको दुइ र चौतारा अस्पतालका दुइ सहित चार विशेषज्ञ डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुले माझी समुदायको स्वास्थ्य परिक्षण गरेको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।
एक दिने स्वास्थ्य शिवीरमा दुइ बस्तीका २ सय ५० को निःशुल्क स्वास्थ्य परिक्षण गरेर औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका अधिकाश विरामीहरुमा आँखाको समस्या,छात्ती दुख्ने,निमोनीया लगायत समस्याका विरामीहरु देखिएको नेपाली सेनाको डाक्टर सुमन थापाले जानकारी दिए । नदीमा गएर माछा मार्ने र बालुवा निकाल्ने माझी समुदायको पेशा भएको र चिसोका कारण बिरामी भएपछि आफुहरुले नेपाली सेनालाई सहयोग माग गरेपछि स्वास्थ्य शिवीरको आयोजना भएको वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाले आफुहरुको नगरपालिकाको माझी समुदायमा गएर स्वास्थ्य परिक्षण गरेर सेनाले ठुलो गुन लगाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले बताए । स्वास्थ्य शिवीरमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, श्री नं. २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउत, विरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति महासेनानी मनोज बैदावार, तारादल गणका गणपति प्रमुख सेनानी अनिल के.सी.,बिष्णुदल गणका गणपति नरेश के.सी.,श्वेता श्री फाउण्डेशनका अध्यक्ष श्वेता खड्का सहित अन्य सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । नेपाली सेनाले यस अघि लिदी पहिरो पछि बिस्थापित भएर बासखर्कमा आएर बसोबास गरिरहेका पीडितहरुको बस्तीमा नै पुगेर स्वास्थ्य परिक्षण गरेको थियो ।