काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण गर्दै तोकिएको समयमै आगामी प्रतिनिधिसभाको निर्वाचन गराउन जरुरी रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने कार्यमा निर्वाचन आयोग दत्तचित्त भएर लाग्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदान स्थल तथा केन्द्र मतदातामैत्री बनाउन आयोगलाई सुझाव दिइन् । सरकारले आगामी १७ र २७ वैशाखमा निर्वाचनको मिति घोषणा गर्दै सोहीअनुसार तयारी तीव्र पारिसकेको छ ।
राष्ट्रपति भण्डारीले निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि छनोट गर्न पाउने गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्ने आवश्यकता आंैल्याइन् । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक गृहकार्य र तयारी थालिसकिएको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचनसम्बन्धी नीति एवं कानूनको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्थालगायत विषयमा जानकारी गराएका थिए ।
उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भइसकेको जानकारी दिए । थपलियाले राजनीतिक दलहरूसँग परामर्श बैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम सम्पन्न भएको जानकारीसमेत दिएका थिए ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समावेश गरिएको छ ।
निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, बजेट तथा जनशक्ति प्रक्षेपण, मतदाता शिक्षा सामग्री तयारी, तालिम सामग्री तयारी, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्नेलगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका सम्पूर्ण कार्य योजनाबद्ध रूपमा अगाडि बढिरहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराएका थिए ।