निलकमल ह्युमन रिसोर्सले मनायो १८औँ वार्षिकोत्सव

रक्तदान तथा वैदेशिक रोजगारमा ज्यान गुमाएका पीडित परिवारलाई सहयोग

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा दुई दशक नजिकको अनुभव हासिल गरेको निलकमल ह्युमन रिसोर्स प्रा.लि. ले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रसँग आवद्ध व्यवसायी, कानुनविद्, विभिन्न सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निलकमल ह्युमन रिसोर्स प्रा.लि. का अध्यक्ष मेघनाथ भुर्तेलले १८ वर्षको यात्रा कम्पनीका लागि उपलब्धिमूलक रहेको उल्लेख गरे । उनले कम्पनीले स्थापना कालदेखि नै सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको अवधारणालाई प्राथमिकतामा राख्दै सेवाग्राहीलाई पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए ।

अध्यक्ष भुर्तेलले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उनको भनाई थियो । उनले वैदेशिक रोजगारी रोजगारीको माध्यम मात्र नभई हजारौँ नेपाली परिवारको आर्थिक आधार भएकाले यस क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिगबहादुर खत्रीले वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार, व्यवसायी तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीहरूले श्रमिकप्रति जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै निलकमल हुमन रिसोर्सले आफ्नो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा कम्पनीका कानुनी सल्लाहकार सम्भु निरौलाले निलकमल ह्युमन रिसोर्स प्रा.लि. ले १८ वर्षसम्म निरन्तर सेवा प्रवाह गर्दै आएकोमा खुसी व्यक्त गर्दै संस्थाको आगामी यात्राका लागि शुभकामना दिए । उनले वैदेशिक रोजगार क्षेत्र कानुनी रूपमा संवेदनशील भएकाले प्रचलित कानुनको पूर्ण पालना गर्दै श्रमिकको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। नियमित रक्त अभावको समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।

यसै अवसरमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका दुई जना नेपाली श्रमिकका परिवारलाई आर्थिक सहयोगसमेत गरिएको अध्यक्ष भुर्तेलले जानकारी दिए। उनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकका परिवारले भोग्नुपर्ने पीडा र आर्थिक कठिनाइलाई केही हदसम्म कम गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताए । यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ थियो।

१८औँ वार्षिकोत्सवलाई औपचारिक समारोहमा सीमित नराखी रक्तदान तथा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई सहयोग जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमसँग जोडेर मनाइएको कम्पनीले जनाएको छ। निलकमल ह्युमन रिसोर्स प्रा.लि. ले आगामी दिनमा पनि वैदेशिक रोजगार क्षेत्रको सुधार, श्रमिक हितको संरक्षण तथा समाजप्रति आफ्नो दायित्व पूरा गर्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल आयल निगमको स्पष्टोक्ति : ग्यासको आपूर्ति नियमित छ, अभाव छैन