आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गर्न लागिएको हो ।

केन्द्रीय सङ्घर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागिता हुने समुहले जनाएको छ । विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने भएका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुसहित दिउसो १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए । सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने