दिक्तेल बजार ढलान हुँदै

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा दिक्तेलबजारस्थित रत्नपार्कदेखि हाटडाँडासम्मको सडक ढलान गरिने भएको हो । क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेलबजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरमार्फत यो वर्ष रु पाँच करोड खर्च हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ”, उनले भने, ‘क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र बोलपत्र आह्वान गरेर ढलानको काम शुरु गरिनेछ ।’

अर्थ मन्त्रालयले गत पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । त्यसपछि शहरी विकास मन्त्रालयले मातहतका शहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन गरेको हो ।

दिक्तेल बजारको सडक ढलानमा बजारमा भएका पुरानो संरचनाका घरहरुको बार्दली, पेटी, टहरालगायत जोखिम देखिन्छ । लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको साँघुरो सडक मापदण्ड विपरीत हुने भएकाले यसको विकल्पसमेत अपनाउनुपर्ने अवस्था देखिएको छ ।

दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो । साँघुरो सडकका कारण यसअघि विद्यालय जाँदै गरेका एक विद्यार्थीको ट्र्याक्टरले किचेर मृत्युसमेत भएको थियो ।

सवारीसाधनको जथाभावी पार्किङ, निर्माण तथा व्यापारिक सामग्री यत्रतत्र राखिनाले पटक–पटक दुर्घटना हुँदै आएको छ । यस वर्ष सडक ढलानमा देखिने सबै समस्यालाई नगरपालिकाका तर्फबाट समाधान गरेर जुनसकै हालतमा ढलानको कामलाई सफल पारिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए ।

दिक्तेल बजारको मुख्य सडकसँगै आसपासको शाखा सडकसमेत यसै वर्ष ढलानको तयारी भइरहेको जनाइएको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड लगानीमा त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म तथा पुरानो बैंकचोकदेखि झिसेपू मन्दिर जाने सडक शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र सङ्घीय कार्यान्वयन इकाइ कार्यालय विराटनगरको रु दुई करोड लगानीमा दिक्तेल–दुम्ली सडक ढलान हुँदैछ ।

मुख्य सडकबाहेक तीनवटै सडकको ढलान प्रक्रिया शुरु भइसकेको नगरप्रमुख रिजालले जानकारी दिए । ‘तीनवटै सडक ढलान गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम थालिएको छ’, उनले भने, ‘नगरपालिकाभित्र बाँकी सडकसमेत बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी कामलाई अगाडि बढाइएको छ ।’

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भए पनि ढलान हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । हप्ताको दुईपटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 822 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी