भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सबभन्दा बढ्ी भ्रष्टाचार सिंहदरवारमा भएको बताएका छन् । बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताएका थिए ।
सरकारमा वलीका सबै भन्दा विश्वास पात्र सूचना मन्त्री संचार भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको धारणा थियो ।
अध्यक्ष रोहितले भने, ‘‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’’ उनले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो ।
उनले भने, ‘‘नेपाली कांग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए ।’’ पदमा पुगेपछि नेताहरूमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको आरोप लगाए ।
अध्यक्ष रोहितले सङ्घीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत भएको बताए । मातृभाषाबाहेक भोजपुर, मैथिली, राजवंशी, थारुलगायत देशको एक राष्ट्रिय भाषा विद्यार्थीलाई सिकाउनुपर्ने भन्दै स्थानीय निकाय खटिने कर्मचारीले स्थानीय भाषा जानेको हुनुपर्ने विचार प्रकट गरेका थिए ।
चिनियाँ क्रान्तिपछि नेता माओ त्सेतुङले नेताको जन्मदिन नमनाउने, कुनै ठाउँको नाम नेताको नाममा नराख्ने, भाषणा लामो नगर्नेजस्ता आचारसंहिता लागू गरेको भन्दै अध्यक्ष रोहितले प्रधानमन्त्री ओलीको घरमा गरिने जन्मदिनमा गरिएको कार्यशैली उपयुक्त नभएको बिचार राखेका थिए । उनले भने,
‘प्रमको उपचार विदेशी चिकित्सकबाट हुनुहुँदैन ।’ नेपालमै राम्रो अस्पताल आवश्यक भएको अध्यक्ष रोहितको कथन थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जगनाथ सुजखू, नेपाल नर्सिङ समाजका अध्यक्ष देविका दनेखू, भनपा वडा नं २ का अध्यक्ष हरिप्रसाद बासुकला र बासु कलेज व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण जोशीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बासु मावि तथा कलेजका प्रिन्सिपल अम्विका न्याइच्याईले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गरेकी थिईन् । विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।







