कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा भिषण पहिरो आएपछि घरबार बिहीन भएका त्यहाँका दुई सय ६ घरधुरीले पहिरो गएको ६ महिना बितिसक्दा समेत सुरक्षित बास पाउन नसकेर नजिकैको सुगुँरखालको एक सामुदायिक जंगलमा हिउँदको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा बस्न बाध्य छन् ।
साउन १३ गते राति आएको भिषण पहिरोले गाउँपालिकाको वडा नं. ४ र ७ का २ सय ६ धरधुरी पुर्णरुपमा क्षतिग्रस्त भई गाउँपालिकाले पीडितहरको व्यवस्थापनका लागी सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसालेको थियो । माघ महिनाको कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामा बस्नु पर्दा बालवालिका र वृद्धवृद्धाहरु लाई निकै असहज भएको बाढी पिडित रतन बुढाले गुनासो गरे । उनले भने, ‘हामीहरुको छिट्टै व्यवस्थापन गरीदिएको भए, बाच्न सकिन्थ्यो कि ?’
छ महिना बितिसक्यो आफुहरुको व्यवस्थापन हुन सकिरहेको छैन । हिउँदको महिनामा बालवालिका र वृद्धवृद्धालाई बचाउन निकै कठिन छ । उनले भने, ‘केही त्रिपालमा छन, केही खरको छानामा बस्न बाध्य छौँ । गाउँपालिकाले अस्थायी टहरा बनाएर बसालेको छ । प्रदेश सरकारले घर बनाई दिने भनेपनी अहिलेसम्म केही गरेको छैन’, उनले गुनासो पोखे ।
रतन बुढाको मात्र यस्तो गुनासो छैन, जंगलको कठ्यांग्रिँदो चिसोमा बसिरहेका बाढी पीडित धनबहादुर सहकारीको पनी यस्तै गुनासो छ । ‘प्रदेश सरकारले दिने भनेको एक लाख राहत पनि अहिलेसम्म पाएका छैनौं । तीन महिना भयो चेक दिएको अझै खातामा पैसा हालेको छैन । हाल्छौं भन्छ, अहिलेसम्म पीडितलाई खाली चेक दिएर झुकाएको छ । जंगलमा त्रिपाल हालेर चिसोमा बस्न वाध्य छौँ । हामीहरुको पिढा न स्थानिय सरकारले बुझेको छ, न प्रदेश सरकारले ’, उनले भने ।
बाढी पीडितको लागि जग्गा छुटाईसकेका छौँ : गाउँपालिकाका
गाउँपालिकाका २ सय ६ घरधुरीका लागि जग्गा छुटाईसकेको गाउँपालिकाले जनाएको छ । जिल्ला वमसंग सहयोग मागेर २ सय ६ बाढी पीडितका लागि सो वडामा रहेको सार्जजनिक ८३ हजार पाँच सय २० वर्ग मिटर जग्गा अमिनको टोलीले नापिसकेको गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले जानकारी दिए । अव तत्काल उनिहरुको व्यवस्थापन गर्ने तर्फ लागिरहेको जानकारी दिए ।