सिमरा । बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यामिक बिद्यालयमा यसै शैक्षिक सत्रदेखी संचालन गरिएको बाल मन्टेश्वरीमा अभिभावकको रुची बढेको छ । सामुदायिक बिद्यालयमा कमजोर पठनपाठन हुने भनेर जनमानसमा परेको प्रभावलाई चिर्दै यस बिद्यालयले भने जिल्लामै पहिलो बाल मन्टेश्वरीमामा नमुना अभ्यास शूरु गरेको छ ।
अंगेजी र नेपाली दुबै माध्यममा कक्षा १ देखी १२ सम्मका कक्षा संचालन भइरहेको यस बिद्यालयमा शैक्षिक जग बलियो बनाउन मन्टेश्वरी अवधारणलाई अघि सारिएको बिद्यालयको भनाई छ । तलका कक्षाहरुमा प्रभावकारी पढनपाढन हुन सके माथिल्ला कक्षाहरुको यसै स्तर उन्नतीहुने बिद्यालय ब्यवस्थान समितीका अध्यक्ष राजेन्द्र गौतमको ठम्याई छ ।
‘सामुदायिक बिद्यालयहरुले तलको कक्षालाई ध्यान नदिँदा माथिल्ला कक्षाका बिद्यार्थीहरु कमजोर भएका हुन्, अब हामीले तल्ला कक्षाहरुबाटै स्तर सुधार गर्दै छौँ ।’ , गौतमले भने, ‘अहिले मन्टेश्वरी कक्षामा अभिभावकले देखाएको सकारात्मक चासोले बिद्यालयकै शैक्षिक गुणस्तर सुधार्ने हौँसला मिलेको छ ।’

यसैगरी बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा बिद्यालय प्रशासन मात्रै भन्दापनि अभिभावक र शिक्षक दुबैको सकारात्मक दृष्टिकोण आवश्यक रहेको बिद्यालय ब्यवस्थापन समितीका सदस्य दिपक शर्माको बुझाई छ ।
अहिले बिद्यालयमा दिनहुँजसो बिद्यालय ब्यवस्थाप समितीले आलोपालो प्रणालीबाट बिद्यालयको रेखदेख गरिरहको छ । बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म कोही न कोही बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी बिद्यालयमा भेटिने गरेको बिद्यालयका सह प्रधानाध्यापक अच्युतदेव सिटौला बताउँछन् ।
‘अहिले बिद्यालयको शैक्षिक माहोलमा निकै सुधार देखिएको छ, बिद्यालय ब्यवस्थापन समितीले पनि उत्तीकै चासो बढाएको छ ।’, उनले भने , ‘अहिले बाल मन्टेश्वरी शिक्षाको आरम्भले पनि अभिभावकहरुले राम्रो प्रतिकृया दिइरहनुभएको छ ।’
यता बिद्यालयका प्रधानाध्यापक शंकर कुमार आचार्य भने पछिल्लो समय सरकारको उदार कक्षोन्नतीको अभ्यासले पनि बिद्यार्थीहरुको पढाई प्रति नैराश्यता बढेको बताउँछन, यद्यापी बिद्यालयले शुरु गरेको मन्टेश्वरी कक्षाले भने उर्जा दिएको उनको तर्क छ, ‘बिथार्थीको चापले हामी दंग छौँ’ , उनी भन्छन्, ‘निजी बिद्यालयमा जस्तो आफ्ना बालबालीकालाई बिद्यालयमै छाडन आउने अभिभावकको संख्या पनि बढेको छ ।’

आफ्नो बच्चा प¥ुर्याउन आएकी सिमराका एक अभिभावक शान्ता कुमारीले मन्टेश्वरी कक्षा सजाईएको हेर्दा आफुँ दंग परेको बताईन् । सामुदायिक बिद्यालयले पनि निजीले जस्तै गरी कक्षा संचालन गरेपछी निजी बिद्यालयबाट निकालेर यस बिद्यालयमा पढाउन सुरु गरेको भन्दै उनले निजीमा दुई महिनामा नसिकेको धेरै कुराहरु यहाँ आएको दुई हप्तामै सिकेको धारणा राखिन् ।

यसैगरी, सिमराका अर्का एक अभिभावकले बोर्डिङ्ग भनेपछी रुने बच्चाले अहिले यस बिद्यालयमा ल्याएपछी घरमा भन्दा बिद्यालयमै आउन रुची देखाउने गरेकोमा खुशी ब्यक्त गरे ।
अहिले बाल मन्टेश्वरीमा ५० बढी बिद्यार्थी भर्ना भइसकेका छन् । निजी बिद्यालयको तुलनामा निकै सर्वसुलभ शुल्कमा अनुभवी र तालिम प्राप्त शिक्षिकाहरुबाट पठनपाठन भइरहेको छ भने मन्टेश्वरी कक्षाहरुको भौतिक ब्यवस्थापन पनि उत्तीकै आकर्षक र बालमैत्री बनाईएको छ ।







