ओली श्री ३ बन्न खोजे : दाहाल

फाइल तस्वीर

बुटवल । बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफूलाई आशंका नभएको बताएका छन् । तर, सबैभन्दा ठूलो फैसला जनताको हुने उनले टिप्पणी गरे ।

‘अदालतमा अहिले मुद्दा छ, मलाई विश्वास छ, अदालतले संसद् पुनःस्थापना गर्नेछ । म त्यो विश्वास व्यक्त गर्न चाहन्छु । म अहिले केही आशंका गर्न चाहन्न,’ प्रचण्डले भने, ‘तर सबैभन्दा ठूलो अदालत जनताको अदालत हो, तपाईंहरूको अदालत हो, तपाईंहरूको फैसला हो ।’

अध्यक्ष ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप समेत लगाए । दाहालले प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेको समेत दावी गरे । ओलीको निरंकुशता केही महिनामै समाप्त हुने दाहालको दाबी छ ।

‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने । दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दावी गरे ।

कम्युनिष्ट पार्टीलाई सिध्याउने ओलीको कदमः ज्ञवाली

कार्यक्रममा नेकपा प्रचण्ड नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले ओलीको नेपालको कम्युनिष्ट सिद्धाउनको लागि भएको आरोप लगाए । ‘संसद बिघटन गरेर ओलीले कम्युनिष्ट पार्टीलाई छिन्न भिन्न बनाउन खोजे’ नेता ज्ञवालीले भने, ‘अब हामी ओली बिनाको कम्युनिष्ट पार्टी बनाउछौ । प्रतिगमनकारी ओली विनाको कम्युनिष्ट पार्टी नंै सच्चा कम्युनिष्ट हुनेछ ।’ ओलीको कदमले देशमा प्राप्त उपलब्धीलाई खत्तम बनाउने उनको बताए । ओली नक्कली राष्ट्रबादी भएको आरोप समेत ज्ञवालीले लगाए । ओलीको राष्ट्रबाद खोक्रो हो । उनी नक्कली राष्ट्रबादी हुन’ ज्ञवालीले भने ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री वर्षमान पुनले मन्त्रीद्वय रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीलाई ढेडु बाँदरको संज्ञा दिए । सभामा बोल्दै नेता पुनले माओवादी जनयुद्धलाई कुहिएको फर्सी र सहभागीलाई बाँदर भनेको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । नेता पुनले कुहिएको ठूलो फर्सी र ढेडु बादर ओलीको आसपासमा रहेको टिप्पणी गरेका छन् ।

‘जसले तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा पु-यायो, त्यहीँ जययुद्धमा हिँडेकालाई कुहिएको फर्सी भन्ने ? जनयुद्धमा लागेकालाई बाँदर भन्ने ? त्यसो हो भने ओलीको दायाँबायाँ रहेका रामबहादुर थापा ‘बादल’ र रायमाझी नामका ढेडु बाँदर हुन्, अब तपाईंको गुट कसरी बन्छ ?’ पुनले भने ।

नेता पुनले आधिकारिक नेकपा कुन हो हेर्न बुटवल आउन ओलीलाई आग्रह समेत गरे । प्रचण्ड र नेपाललाई दुई वटा नट बोल्ट खसेका हुन भन्ने ओलीलाई पुनले भने, ‘दुई नट बोल्ट र कुहिएको फर्सी के हो । बुटवल हेर्नहोस ओली ज्यू ।’ ओलीले अरुलाई गर्ने व्यङग्य आफूमाथिको व्यग्ङग्य हुने नेता पुनले बताए । नेता पुनले प्रचण्ड र माधव नेपाल रहेको पार्टी नै नेकपाको मूलधार भएको दावी गरेका छन् ।

ओलीको बाटो बर्बादीतर्फकोः भुसाल

सभामा नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’ का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताए । भुसालले ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताए । भुसालले भने, ‘आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आए आफूहरुसामू ओली की नेपालको आफ्नो बाटोमा हिड्ने विकल्प रहेकोले त्यो जनताले छान्नेछन ।’ ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी रहेको भुसालको भनाइ छ ।

प्रतिनिसभा पुनस्थापित गरेरै छाड्छौः खनाल

स्थायी कमिटी सदस्य चक्रपाणि खनालले सरकारमा सहभागी मन्त्रीहरूलाई अनुहार चिन्ने गरी मात्र खरानी घस्न सुझाव दिए । ‘अहिले मन्त्री खान जाने बेला हो ? यति धेरै खरानी घस्ने ? ऐनमा हेर्दा चिन्ने गरी मात्र घस, ताकी तिमीहरूको इतिहास हामीले बताइदिनुपर्नेछ,’ खनालले भने, ‘हिजो हामी जनसेनालाई दुत्कार्नेले आज कालीबहादुर चाहिने, काखी च्याप्दै हिँड्ने ?’ उनले चुडकीको भरमा संविधान बनेको नभई ठूलो बलिदान र रगत बगाएको संविधानबाट आएकोले प्रतिनिधिसभा जनताले स्थापित गरेरै छाडने दावी गरे ।

प्रतिनिधिसभा जिउँदैछः घर्ती

नेकपा नेता तथा पूर्व सभामुख ओनसरी घर्तीले संविधानको कुनै धारा उल्लेख नगरी विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुने दावी गरेकी छन् । प्रतिनिधिसभा जिउँदै रहेको र आफू सांसदहरू जिउँदै रहेको उनले दावी गरिन् । नेतृ घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रको सविधानप्रति सबैभन्दा धेरै माया महिलाहरूलाई रहेको बताइन् । ‘प्रधानमन्त्रीले कुनै धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्नुभएको छ, यो असंवैधानिक छ । प्रतिनिधिसभा जिउँदैछ, हामी जिउँदैछौं, अदालतले छिट्टै फैसला देला,’ घर्तीले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 767 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र एक महिनाभित्र सञ्चालनमा आउने