‘एक इन्च तलमाथि भए कारबाही हुन्छ : तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपुर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन् । शनिबार काठमाडौं एक कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई सो चेतावनी दिएकी हुन् । सदस्यलाई निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनबाहिर गएर काम कारबाही नगर्न निर्देशनसमेत दिइन् ।

‘तपाईंहरूले निश्चित अधिकार मात्रै दिइएको छ,’ उनको भनाइ थियो, ‘ऐनविपरीत जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’ मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलिया सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरूलाई प्रभावित बनाउने समूह आउँछ,’ उनको स्पष्ट भनाइ थियो, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’

आयोगका पदाधिकारी नै सर्वैसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकार मात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्य मात्रै गर्न आग्रह गरिन् । सरकारले गत साता मात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन÷तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिइन् ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको काँधमा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आयोगको कामले सरकारको इमेज देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन अपिल गरे । कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूहरूमाथि ९ लाखभन्दा बढीलाई जग्गाको लालपूर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

एकैदिन विपद्का ४२ घटना