काठमाडौं । कक्षा ८ देखि कक्षा १२ सम्मका ५० विद्यार्थीले आफ्ना क्यानभासमा ‘स्टिललाइफ’ शीर्षकमा कला पोतेका छन् ।
नेपाल व्यावसायिक कलाकार संघ (क्यान)द्वारा आयोजित विद्यालयस्तरीय ‘ओपन स्टिलाइफ आर्ट कम्पिटिसन’क्रममा उनीहरूले कला पस्केका हुन् ।
काठमाडौंस्थित शहीद शुक्र स्कुलमा सम्पन्न प्रतियोगितामा नोवेल एकेडेमीका सहेल वैद्य प्रथम, कुलेशर आवास स्कुलका सुरज श्रेष्ठ द्वितीय र विजेश्वरी स्कुलका सुनिल भगराती तृतीय भएका छन् । नोवेल एकेडेमीका सागर रोकायलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । प्राध्यापक राधेश्याम मुल्मी र प्रज्ञा ज्योति प्रकाश विकेको निर्णायकमण्डलीले प्रतिभा चयन गरेको हो ।
समाजसेवी भद्रकुमारी घलेले पुरस्कार वितरण गर्दै सिर्जनात्मक गतिविधिबाट विद्यार्थीको प्रतिभाले अझ बढी निखारिने मौका प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
क्यान पेन्टिङ कक्षा प्रमुख दीपक कुँवरले प्रतियोगिता भए पनि आपसमा केही सिक्ने र सिकाउने अवसर पाउने बताए । उनका अनुसार क्यान पेन्टिङ कक्षाले आगामी दिन विद्यालयस्तरीय प्रतियोगिता, स्कुल आर्ट टिचर ट्रेनिङ, स्क्रिन प्रिन्ट तालिम, हस्तकला कक्षासमेत सञ्चालन गर्दैछ ।






