सिलोसायबिन च्याउ नेपालमा वैध कि अवैध ?

सिलोसायबिन च्याउ जसलाई सामान्यतया म्याजिक अर्थात् जादुई च्याउ भनेर चिनिन्छ । एक अनौपचारिक च्याउको समूह हो, जसमा सिलोसायबिन र सिलोसिन रसायन हुन्छ । यसलाई साइकेडेलिक च्याउ पनि भनिन्छ । आज यसलाई एउटा मनोरञ्जनात्मक औषधिको रूपमा चिनिन्छ । यसले मनभित्र भ्रम र हर्षको भाव जगाउँछ । यसका २ सय भन्दा बढी प्रजातिहरू संसारभर पाइन्छन् । सामान्यतया साइकेडेलिक च्याउ उष्ण र उपोष्णकटीबन्धीय क्षेत्रको मैदान, चरन र जंगलमा पाइन्छ ।

प्रजातिअनुसार काठका टुक्रा (चिप्स), कुहिएका मुढा, ह्युमस भएको माटो, गोबर, वा ओसिलो, छायाँदार क्षेत्रहरू यसको विकासका लागि उपयुक्त हुन्छ । कोपल्यान्डिया, जिम्नोपिलस, इनोसाइबे, पनेओलस, फोलियोटिना, प्ल्युटियस र सिलोसायबे सिलोसायबिन च्याउका जिनसहरू हुन् । पुरानो धार्मिक रीतिथिति र समारोहमा सिलोसायबिन च्याउको प्रयोग हुँदै आएको छ ।

साइकेडेलिक च्याउको उत्पत्ति हजारौं वर्ष पुरानो भएको मानिन्छ । यद्यपि यसको प्रयोग कहिलेदेखि सुरु भयो भनेर ठ्याक्कै पत्ता लगाउन गाह्रो छ । तर, ढुंगाका चित्रका आधारमा उत्तरी अफ्रिकाका सहार आदिवासी जनजातिले ईसापूर्व ९००० देखि च्याउको प्रयोग गर्दै आएका भन्ने प्रमाण छ । त्यस्तै गरी स्पेनमा ६००० वर्ष पहिले चट्टानमा कुँदिएका चित्रको आधारमा सिलोसायबे हिस्पानीका विलार्डेल हुमोको नजिकैको केही धार्मिक अनुष्ठानमा प्रयोग भएको पाइन्छ ।

माया र एजेटेकजस्ता मूल निवासी अमेरिकी परम्परामा भेटिएका प्रतीक, मूर्ति र चित्रबाट थाह हुन्छ कि मूलनिवासी विशेषगरी धार्मिक अनुष्ठानमा आफ्ना देवीदेवतासँग संवाद गर्न सिलोसायबिन च्याउ खाने गर्थे । नहुआ, माजाटेक, मिक्सटेक, र जापाटेकजस्ता मध्य अमेरिकामा उत्पत्ति भएका अन्य जनजातिले पनि यस्तै उद्देश्य लागि च्याउको प्रयोग गरेको भेटिन्छ । स्पेनिस इतिहासकारले १६औं शताब्दीमा यस पवित्र च्याउ’bout उल्लेख गरेको पाइन्छ ।

म्याजिक च्याउको व्यावसायिक सम्भावना र जनस्वास्थ्यसमेतलाई ध्यानमा राखेर अध्ययन–अनुसन्धान, खेती, ओसारपसारलगायतका गतिविधिलाई समयमै व्यवस्थापन गर्नु आवश्यक देखिन्छ

सन् १९३८ मा ओक्साका, मेक्सिकोबाट प्यानेओलस स्फिंक्ट्रिनस र सिलोसायबे क्युबेन्सिसको नमुनाहरू संकलन भएको पाइन्छ । यद्यपि, गोर्डन वासन र उनकी श्रीमती भ्यालेन्टिना पावलोभनाको खोजीपछि मात्र यसले विश्वको ध्यान आकर्षित गर्न सफल भए । सन् १९६० को सुरुतिर सिलोसायबिन च्याउ मेक्सिकोमा मात्र पाइन्छ भन्ने कुरा व्याप्त थियो जसले गर्दा आफैंले यसको चमत्कारिक असर अनुभव गर्नेको लागि ओक्सिकन सहर हुआउटला डे जिमनेज तीर्थस्थलको रूपमा परिणत भएको पाइन्छ । साइकेडेलिक च्याउ मानवले प्रयोग गर्ने सबैभन्दा पुरानो मनोरन्जनात्मक औषधि हुन् जुन आज पनि सक्रिय रूपमा प्रयोगमा रहेका छन् ।

यसका ’boutमा पुराना गुफा चित्र, पाण्डुलिपि र निर्माणमा उल्लेख गरिएको पाइन्छ । आज यिनीहरूको चर्चा पप संस्कृति, संगीत, चलचित्र, र पुस्तकमार्फत् भइरहेका छन् । खेती गर्न सबैभन्दा सजिलो भएको हुनाले सिलोसायबे क्युबेन्सिस सबैभन्दा लोकप्रिय र व्यापक रूपमा खेती गरिएको सिलोसायबिन च्याउ हो ।

साइकेडेलिक च्याउमा औषधीय गुणहरू समेत रहेको कुरा पछिल्ला समयमा भएका अनुसन्धानबाट पुष्टि हुन्छ । हाल ४ दर्जनभन्दा बढी क्लिनिकल परीक्षणसहित विभिन्न साइकोट्रिक डिसअर्डरमा सिलोसायबिनको प्रयोगसम्बन्धी अनुसन्धान भइरहेका छन् । पछिल्लो समयमा यसको सम्भावित उपचारात्मक क्षमतामा सम्पूर्ण विश्वको ध्यान आकर्षित भएको देखिन्छ । विभिन्न जटिल मानसिक स्वास्थ्य समस्या जस्तै उपचार प्रतिरोधात्मक उदासीनता, कुलत, पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डर, चिन्ता, इत्यादिको उपचारमा सिलोसायबिन अत्यन्त सुरक्षित र प्रभावकारी देखिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनका वैज्ञानिकले सिलोसायबिनलाई अनुसूची–१ ड्रग्सबाट अनुसूची–४ ड्रग्समा पुनः सेड्युलिंग गर्न सिफारिससमेत गरिसकेका छन् । सन् १९७० देखि, सिलोसायबिनलाई संयुक्त राज्य औषधि प्रवर्तन एजेन्सी (डीईए) द्वारा अनुसूची–१ (दुरुपयोगका लागि उच्च सम्भावना भएको तथा कुनै चिकित्सीय लाभहरू नभएको) ड्रगको रूपमा वर्गीकृत गरिएको छ ।

विश्व सिलोसायबिन उद्योगको विकास तीव्र रूपमा भइरहेको पाइन्छ । जर्नल अफ क्लिनिकल साइकियट्रीमा प्रकाशित एउटा अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा मात्रै उपचार प्रतिरोधक डिप्रेसन (टीआरडी)को लागि प्रत्येक वर्ष रोजगारदाताहरूको ४८ अर्ब अमेरिकी डलर खर्च हुने गर्दछ । यसले यसको ठूलो बजारको सम्भावनाको संकेत गर्दछ । यसको अतिरिक्त डिप्रेसनको औषधि बजार २०१४ मा १४.५ अर्ब डलरबाट बढेर २०२० सम्ममा १७ अर्ब अमेरिकी डलर रहेको अनुमान छ ।

साइकेडेलिक अनुसन्धानकर्ताले सिलोसायबिनका लागि प्रतिग्राम ७००० देखि १०,००० अमेरिकी डलरसम्म भुक्तान गर्ने गरेका छन् । यो सिलोसायबिनको मात्राको आधारमा सुख्खा म्याजिक अर्थात् जादुई च्याउको सडक मूल्यभन्दा १३ गुणाले बढी हो । जादुई च्याउको सडक मूल्यको आधारमा सिलोसायबिनको लागत प्रतिग्राम करिब ७५० डलर हुन आउँछ । यद्यपि यो फरक फरक भए पनि ५००० मिलिग्राम सुख्खा जादुई च्याउ करिव ६६ मिलिग्राम सिलोसायबिन बराबर हुन्छ ।

सिलोसाइबिनको वैधानिकता:
सिलोसाइबिन कम्पाउन्ड र सिलोसाइबिन च्याउ कानूनी दृष्टिकोणबाट पर्यायवाची होइन । साइकोट्रपिक (दिमागी अवस्थालाई असर गर्ने) पदार्थहरूमा सम्पन्न विश्व सम्मेलनको आधारमा संयुक्त राष्ट्र संघद्वारा सन् १९७१ देखि सिलोसाइबिन कम्पाउन्डको निषेध गरिएको हो । सम्मेलनले सिलोसाइबिनलाई अनुसूची–१ मा राख्यो जो सबैभन्दा प्रतिबन्धात्मक (कुनै उपचारात्मक मान नभएको र जनस्वास्थ्यमा गम्भीर जोखिमको रूपमा परिभाषित) समूह हो । यद्यपि यसले सिलोसाइबिन च्याउ वा फंगल माइसेलियमको वैधतालाई स्पष्टसँग परिभाषित गरेको छैन र यसमा एउटा प्रावधान (धारा ३२) समावेश गरिएको छ । यसले सिलोसाइबिनको केही परम्परागत प्रयोगलाई छुट दिन अनुमति दिएको छ ।

साइकेडेलिक च्याउमा औषधीय गुणहरू रहेको कुरा पछिल्ला समयमा भएका अनुसन्धानबाट पुष्टि भइसकेको छ

त्यसैले सिलोसाइबिन च्याउ संयुक्त राष्ट्र संघीय साइकोट्रपिक पदार्थ अधिनियम अन्तर्गत पर्दैन किनकि अधिनियमले प्राकृतिक रूपमा हुने बोटबिरुवा जसमा अधिनियममा अनुसूचित ड्रगहरू रहेको हुन्छ, समावेश गरेको छैन । यसरी संयुक्त राष्ट्र संघीय साइकोट्रपिक पदार्थ अधिनियम अनुसार सिलोसाइबिन च्याउलाई निषेध गर्ने वा नगर्ने निर्णय लिने अधिकार सदस्य राष्ट्रहरूमा रहेको देखिन्छ र अधिकांशले यसको फरक कानूनी व्याख्या गरेर सिलोसाइबिन च्याउलाई निषेध गरेको छैन । तर सिलोसाइबिन पदार्थ÷अणुलाई निषेध गर्न सबै सहमत छन् । यद्यपि धेरै देशहरूले आफ्ना घरेलु कानून अन्तर्गत सिलोसायबिन च्याउहरूलाई निषेध गर्दै आएको छ ।

अमेरिकी साइकोट्रपिक पदार्थ ऐनले सिलोसायबिन पदार्थ र सिलोसायबिन च्याउलाई अनुसूची–१ (दुरुपयोगका लागि उच्च सम्भावना, सुरक्षित औषधि तथा चिकित्सा उपचारमा मान्यता नपाएको)मा राखेको छ । यद्यपि अधिकांश राज्यले (अनुसन्धानका लागि) सिलोसायबे च्याउको विजाणु खरिद–बिक्रीको कानुनी मान्यता दिएको छ । न्यू मेक्सिको राज्यमा धार्मिक उत्सवहरूमा सिलोसायबिन च्याउको प्रयोग हुँदै आएको साथै यसको खेतीले कानुनी मान्यतासमेत पाएको छ । क्यानाडाको सिलोसायबिन (कम्पाउन्ड) सम्बन्धी कानुनहरू प्रायः संयुक्त राष्ट्रसंघीय साइकोट्रपिक पदार्थ अधिनियमसँग मिल्दोजुल्दो छ ।

यद्यपि क्यानाडामा पदार्थलाई अनुसूची–३ (केही परिस्थितिमा जनस्वास्थ्यमा केही जोखिम भएको)मा राखिएको छ । सिलोसायबिन च्याउका बीजाणुहरू र पूर्वइनोकुलेटेड ग्रो किटहरू खरिद गर्ने कार्य वैधानिक भए पनि सुख्खा च्याउ राख्न अवैध मानिन्छ । तर यो कानून प्रभावकारी रूपमा लागू छैन । दाना लार्सनको अनलाइन च्याउ औषधालयजस्ता धेरै साना च्याउ र च्याउमा आधारित उत्पादनको व्यवसाय सञ्चालनमा रहेको पाइन्छ । क्यानाडाली नियन्त्रित ड्रग्स र पदार्थ ऐनको धारा ५५(१)ले कुनै पनि निषेधित पदार्थलाई चिकित्सीय रूपमा आवश्यक भएमा वैधानिकता प्रदान गर्दछ ।

सिलोसायबिन अणुसम्बन्धी बेलायती कानून संयुक्त राष्ट्र संघीय साइकोट्रोपिक पदार्थ अधिनियमसँग मुल्दोजुल्दो छ । सन् २००५ सम्ममा सिलोसायबिन च्याउको प्रयोग र बिक्रीवितरण पूर्ण रूपमा वैधानिक थियो । औषधि कानुनको दुरूपयोगसम्बन्धी कानुन २००५को संशोधनपछि सिलोसायबिन च्याउको खेती, बिक्रीवितरणलगायत यस च्याउसम्बन्धी सम्पूर्ण कार्यलाई प्रतिबन्ध गरिएको छ ।

सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ दुवै नेदरल्यान्ड्समा अवैध छन् । डच ड्रग दुरुपयोग ऐनले सिलोसायबिन च्याउलाई अवैध सूचीकृत गरे पनि, च्याउको माइसेलियमलाई यसले समेट्दैन, जसमा सिलोसायबिन हुन्छ । यही माइसेलियममा आधारित उत्पादन डच स्मार्ट सपहरूबाट नेदरल्यान्ड भरी बिक्रीवितरण हुने गरेको छ । अस्ट्रियामा सिलोसायबिन च्याउको खेती वैधानिक मानिन्छ । ग्रो किट र बीजाणु कानूनी रूपमा किन्न सकिन्छ तर ठूलो मात्रामा सुख्खा च्याउको बिक्रीवितरण र भण्डारण अझै पनि अवैध छ ।

मेक्सिकोमा दुवै सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ अवैध भए पनि व्यक्तिगत प्रयोगमा संयुक्त राष्ट्रसंघीय साइकोट्रोपिक पदार्थ अधिनियमको धारा ३२ अनुसार धार्मिक वा संस्कारात्मक प्रयोगका लागि छुट रहेको देखिन्छ । इटली र ब्राजिलमा सिलोसायबिन (कम्पाउन्ड) अवैध भए पनि सिलोसायबिन च्याउको खेती र बिक्रीवितरण वैध रहेको छ । थाइल्याण्ड, कम्बोडिया र लाओसमा सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । यद्यपि कानुन विशेष गरी पर्यटकीय क्षेत्रमा लच्चकताका साथ लागू भएको देखिन्छ । स्पेन र चेक गणराज्यमा सिलोसायबिन (कम्पाउन्ड) अवैध छ ।

सिलोसायबिन च्याउको अवैद्यता अन्त गरिसकेको भएपनि ठूलो मात्रामा च्याउको संग्रह र सुख्खा च्याउको बिक्रीवितरण अझै अवैध रहेको छ । तर यो कानुनको प्रभावकारी कार्यन्वयन भएको देखिँदैन । आइसल्यान्डमा सिलोसायबिन (कम्पाउन्ड) र सुकेको सिलोसायबिन च्याउ निषेध छन् । तर ताजा च्याउको उत्पादन, ओसारपसार बैध छ । इजरायलमा व्यक्तिगत प्रयोगका लागि सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । तर अनुसन्धानको लागि बीजाणु र पूर्वइनोकुलेटेड ग्रो किटहरू खरिद गर्ने कार्य वैधानिक छ । भारतमा सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । यद्यपि कानूनको कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन ।

हालसालै नेपालमा पनि विशेष गरी पोखरा, काठमाडौं, चितवनमा सिलोसायबिन च्याउको खोजी, संकलन, उपभोग र खेतीमा समेत जनचासो बढ्दै गएको पाइन्छ । विश्वको अन्य मुलुकजस्तो हाल नेपालमा कार्यान्वयनमा रहेका लागू औषध (नियन्त्रण) ऐन २०३३ लगायत अन्य कुनै घरेलु कानूनमार्फत् सिलोसायबिन च्याउलाई नियन्त्रण वा निषेध गरिएको अवस्था देखिदैन । यसको व्यावसायिक सम्भावना र जनस्वास्थ्य समेतलाई ध्यानमा राखेर अध्ययन–अनुसन्धान, खेती, ओसार–पसार लगायतका गतिविधिलाई समयमै व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।
(लेखक नास्टमा वरिष्ठ च्याउविज्ञका रूपमा कार्यरत छन् ।)

तपाइको प्रतिक्रिया
(Visited 776 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै