खोप खरिद ठेक्कामा पारदर्शिता जरुरी

स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागमा खोप खरिदका लागि ठेक्का निवेदन आउन थालेपछि खोप खरिदमा पारदर्शिता अपनाउनुपर्ने भन्दै जनसाधरणको चासो जाग्न थालेको छ । भारत र चीन दुई छिमेकी देशहरूले सहयोगमा दिने खोपबाहेक कोरोना भाइरसविरुद्धको अन्य खोप खरिदका लागि सरकारले प्रक्रियाको थालनी गर्न चाहेपछि खोप खरिद गर्न इच्छुक औषधि कम्पनीहरूले खोप खरिद ठेक्काका लागि औषधि व्यवस्था विभागमा निवेदन दिन थालेका हुन् । हालसम्म कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । अरू कम्पनी पनि निवेदन दर्ताको प्रक्रियामा आउँदै गरेका देखिन्छन् । औषधि व्यवस्था विभागले प्राप्त निवेदनमाथि प्रक्रिया पूरा गरेर मात्र ठेक्काको अनुमति प्रदान गर्ने र यसका लागि आफूहरूको तर्फबाट ढिलाइ नहुने जनाएपछि खोप समयमै आउन सक्ने सम्भावना बढेर गएको छ । नेपाली जनताका माझमा कोरोनाविरुद्धको खोप लगाउने चाहना बढ्दै गएको छ । सुरुसुरुमा भएका केही भ्रमपूर्ण अभिव्यक्ति पनि साफ हुँदै गइरहेका छन् । पहिलो तथा दोस्रो लटको खोप र उक्त खोपले नेपाली जनतामा केही पनि असर नपारेको कुराले पनि अबका दिनमा खोप लिनेहरूलाई ढुक्क र निर्धक्क बनाउँदै लगेको छ ।

खोप र खोपको असर’bout सबै मानिस सचेत र भयमुक्त हुँदै गएको देखिन्छ । तर, सरकारले खरिद गन लागेको ठेक्का प्रक्रियाले नेपाली जनतालाई ढुक्क र निर्धक्क बनाउन नसक्ने पो हो कि भन्ने आशंका भन कायमै छ । यस अघिको पीसीआर टेस्ट र अन्य सामग्रीका लागि आवश्यक सामान खरिद गर्न सम्बन्धित निकायले अपनाएको गलत रवैयाबाट जनता विश्वस्त हुन सकिरहेका छैनन् । नेपाल सरकार र औषधि व्यवस्था विभागले अत्यन्तै पारदर्शी प्रक्रियाको आधारमा प्रक्रिया अघि बढाउन सक्नुपर्छ । गलत कार्यका कुनै पनि छाया वा प्रतिछाया अबको औषधि खरिद ठेक्का प्रक्रियामा देखिनुहुँदैन । निष्पक्ष र पारदर्शी रूपमा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहनु र राखिनुपर्छ । सरकार र त्यस मातहतको औषधि व्यवस्था विभाग जनताको जनस्वास्थ्यका लागि अभिभावक हुन् । यिनै अभिभावकले आफ्ना सन्तति वा जनतामा खेलवाड गर्न सुहाउँदैन । त्यो अनैतिक मात्र नभएर दण्डनीय कुरा पनि हो । यसबाट सरकार र सम्बन्धित सबैले पाठ सिक्ने र जनताले जनस्वास्थ्यसम्बन्धी सेवासुविधा पाउने सबैभन्दा ठूलो कुरा हो । यदि ठेक्का प्रक्रियाबाट समस्या पैदा हुन्छ भने सरकारले जीटुजीमार्फत औषधि लिँदा पनि बेस हुन्छ ।

नेपालमा छिमेकी देश भारतबाट उपलब्ध गराइएको र हाल पहिलो र दोस्रो लटमा दिइरहेको खोप अपेक्षा गरिएभन्दा कम खपत भइरहेको छ । यस्तो किन भयो सोको पुनरावलोकन हुनु पनि जरुरी छ । भारतले नेपालको जनस्वास्थ्य क्षेत्रमा सहयोग गरेको अक्सफोर्ड एस्ट्राजेनिकाको मात्रा तथा कम्पोजिसन उसको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप हाल नेपालमा चलिरहेको छ । चीनले उपलब्ध गराउने भनिएको सहयोगको खोप आउन बाँकी छ । तर, त्यति मात्र खोपको मात्रा नेपाली जनताका लागि पर्याप्त छैन । खोप लगाउन योग्य सबैका आवश्यक कोरोनाविरुद्धको खोपको मात्रा अझ धेरै आवश्यक भएकाले भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन, रुसले उत्पादन गरेको स्पुतानिक भी र चिनले उत्पादन गरेको सिनोफम खोपका लागि हाल नेपालमा ठेक्का निवेदन प्रक्रिया सुरु भएको छ । यी खोप ल्याउन अघि बढाइएका ठेक्का प्रक्रिया सरल र पारदर्शी होऊन् भोलिका दिनमा कुनै पनि गलत प्रश्न उठ्न नपाऊन् ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा