नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो पार्टीको नियमित महाअधिवेशन समयमा सम्पन्न गर्न नसक्ने अवस्था देखिएको छ । यही ७ फागुन देखि १० गतेसम्म हुने भनी तय गरिएको भए पनि अन्तिम समयमा आएर १४औं महाअधिवेशन ६ महिना अरू लम्ब्याउने तयारीमा कांग्रेस लागेको छ । यसले अबका दिनमा नेपाली कांग्रेस आफ्नो आन्तरिक पार्टी प्रजातान्त्रीकरणमा कमजोर बन्दै जान सक्ने देखिएको छ । जसका कारण पार्टीमा गम्भीर खालका समस्या पनि देखापर्न सक्छन् ।
प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासमा पार्टीको नेतृत्व विधानतः समयमा नै चुनिनुपर्छ । यही प्रक्रियालाई नै अनियमित बनाइयो भने प्रजातान्त्रिक हक र अधिकार कुन्ठित हुन जान्छ । यसले प्रजातान्त्रिक आत्माका रूपमा रहेको चुन्ने र चुनिने अधिकारबाट सिंगो पार्टी र जनवर्गलाई आइसोलेट गर्दछ । फलतः प्रजातन्त्र र प्रजातान्त्रिक अधिकार भन्ने कुरा नै हराउँछ र त्यो पनि शनैःशनैः व्यक्तिको पकडमा जान्छ र अधिनायकवादतिर डोरिन थाल्छ । यसमा सामूहिकताको गुन्जायस रहन छोड्छ ।
नेपाली कांग्रेसले यसको पछाडि आन्तरिक कारण नै मुख्य भएको बताएको छ । क्रियाशील सदस्यहरूको नामावली देशभरबाट संकलन गर्न नसकिएको उसको भनाइ छ । तर यो भनाइमा खासै अर्थ देखिँदैन । पार्टी विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि मात्र चार वर्षको हुन्छ । दैवी प्रकोप, राजनीतिक संक्रमण, राष्ट्रलाई नै क्षति पु¥याउने खालको देशमा आएको उथलपुथल तथा अन्य डरलाग्दा घटना भएमा मात्र त्यस्तो असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ । तर अहिले गरिन थालिएको महाधिवेशनको म्याद थप कांग्रेस पार्टीको विधानको मान्यताभित्र छैन । पार्टीको विधानअनुसार यो म्याद थप आफैंमा अमान्य छ, अवैधानिक छ र अस्वीकार्य पनि । यसले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक भन्न र भनाउनबाट असजिलो अवस्थामा पु¥याएको छ । यसका सभापति शेरबहादुर देउवालाई अब पार्टीको विधान मिचेको आरोपबाट बचाउन सकिने स्थिति रहने अवस्था छैन । यसले पार्टीभित्र तीव्र मतभेद पनि सिर्जना गरिरहेको छ ।
कांग्रेसमा अहिले पार्टीको केन्द्रीय समितिको वैधानिकतापनि सकिन थालेको कुरा आइरहेको छ । त्यसैले महाधिवेशन अब नेपाली कांग्रेसका लागि जीवन बुटी बन्न गएको छ । त्यो बुटी पाएमा कांग्रेस बाँच्ने र नपाए छिन्नभिन्न हुने अवस्था पनि सिर्जना हुने देखिन्छ । यी विषयमा गम्भीर छलफल हुने भनिए पनि निर्णय लिन भने बाँकी छ । अबको ६ महिनाको म्यादले भदौसम्म भेटे पनि के वर्खाको समयमा महाधिवेशन सम्भव छ त भन्ने प्रश्न फेरि पनि उठेको छ । अहिले चुनाव हुने वा संसद् पुनस्र्थापना हुने भन्ने बहस र द्विविधा पनि छ । यो बेलामा महाधिवेशन नभए पनि यसले केही फरक नपार्ने नेपाली कांग्रेसको दाबी रहे पनि कार्यकर्ता र समर्थक तथा शुभचिन्तकमा भने निकै चासो छाएको छ । नेपाली कांग्रेसले छिटोभन्दा छिटो महाधिवेशन मार्फत नेतृत्व चयन गरेर प्रजातान्त्रिक अभ्यासको मामलामा चनाखो र सचेत रहनुपर्छ ।






