आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य रूपमा अवसर हो । नेपाल अल्पविकसित देशबाट विकासशील देश बन्नु यसको अन्तर्राष्ट्रिय हैसियतमा बढोत्तरी हुनु हो । यही कुरा आन्तरिक रूपमा चुनौती हुनु भनेको तदनुसार नेपाली जीवनशैली र सोचमा परिवर्तन आउनु हो । अल्पविकसित देशबाट विकासशील देशमा आउनु भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यसको हैसियत परिवर्तन हुनु हो । विश्व आज खुला छ, स्थानीय विशिष्टता विश्वव्यापीकरण हुने प्रक्रियामा छन् भने विश्वव्यापीकरण स्थानीयकृत हुँदै गएको छ । विभिन्न भाषा, वेशभूषा, धर्म, संस्कृति, रहनसहन र जात तथा सम्प्रदाय विश्व मानवमा रूपान्तरण हुँदै गएको छ । विश्वमा भइरहेको प्रविधिजन्य सेवा प्रवाहका कारण यो सम्भव पनि हुँदै गइरहेको छ । तर पनि राजनीतिक विभाजनका हिसाबले देश, राष्ट्रियता र सीमारेखा आआफ्ना छन् । देशविशेषले पाएका शासक तथा तिनको हैसियतअनुसार गरेका शासनका हिसाबले कुनै देश अगाडि छन् भने कुनै देश पछाडि छन् । यसैका आधारमा संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रको अल्पविकसित, विकासशील, विकसित र अति विकसितजस्ता तह र श्रेणीमा वर्गीकरण गरेको छ ।
यही वर्गीकरणअनुसार नेपाल अबका पाँच वर्षमा विकासशील देशमा प्रवेश गर्दै छ । यसका लागि यसले आन्तरिक तथा बाह्य तयारी गर्नुपर्छ । आन्तरिक रूपमा जनताको जीवनस्तरमा वृद्धि, गरिबीमा कमी, अवसरमा जनताको पहुँच, प्रतिव्यक्ति आयमा बृद्धि, उत्पादनमा गुणत्मकता र शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतामा विकासशील देशको मापदण्डअनुसार विकास र अधिकारसम्पन्न बनाइनुपर्छ । यसको तयारीका लागि सरकारले मात्र पाँच वर्षको समय पाएको छ । किनकि संयुक्त राष्ट्रसंघको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा सिफारिस गरिसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालले आफूलाई तयार पार्ने भएकाले यसको सिलसिलेवार तयारी आवश्यक छ । यसको प्रभाव नेपाली अर्थतन्त्रमा सीधा पर्ने भएकाले नेपाल आफंैमा आत्मनिर्भर बढी, निर्यातमुखी बढी, प्रतिस्पर्धात्मक र उत्पादनमा गुणात्मकता हुनु जरुरी छ । मापदण्डअनुसार देशभित्र पनि हाल पूरा हुन नसकेको प्रतिव्यक्ति आयलाई १ हजार २ सय २२ डलरभन्दा माथि पु¥याउनुपर्नेछ । वैदेशिक ऋण लिँदा शून्य ब्याजदरमा पाइनेछैन । निश्चित ब्याज दरमा ऋण तिर्नुपर्नेछ । साथै यसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पठाउँदा निश्चित व्यापार कर तिर्नुपर्नेछ ।
वैदेशिक रोजगारमा हाल गइरहेका अदक्ष नेपाली जनशक्तिलार्ई दक्ष र सक्षम बनाउनुपर्छ । विज्ञान प्रविधिले निकै ठूलो परिवर्तन ल्याइरहेको विश्वमा नेपाली श्रम यसरी नै बिक्री भइराख्ला भन्ने ग्यारेन्टी छैन । यसका लागि सरकारले समयमै सचेत पहल लिनु जरुरी छ । सक्षम र दक्ष जनशक्ति मात्र अबका दिनमा वैदेशिक रोजगारका लागि निर्यात गर्न सकिने नेपाली श्रम हुनेमा कुनै आशंका छैन । देश आफैंमा कुशासनको सिकार भइरहेको छ । यसको ठाउँमा सुशासन जरुरी छ । यसका लागि राजनीतिक प्रतिबद्धतासहितको आर्थिक, सामाजिक तथा नैतिक प्रतिबद्धता अत्यावश्यक छ ।