निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान् व्यक्ति आफ्नो पेसा र व्यवसाय, काम र कर्तव्य, सिद्धान्त र उद्देश्यप्रति सधैं विश्वस्त रहन्छ । दृढ आस्थाका साथ आफ्नो उद्देश्य पूरा गर्न निरन्तर क्रियाशील बन्छ । निष्ठाहीन व्यक्तिको आचरण र व्यवहार सधैं स्थिर हुँदैन । उसले अवस्थाअनुसारै व्यवहारमा पनि बराबर परिवर्तन गरिरहने भएकाले अरूको विश्वास जित्न सक्दैन । पेसाअनुरूप निष्ठाको क्षेत्र पनि सीमित वा वृद्ध हुने भएकाले निष्ठा व्यक्तिलाई सफलताको शिखर चढाउने आधार स्तम्भ नै हो ।

अन्य पेसाको तुलनामा राजनीतिले समाजको बृहतर क्षेत्रलाई नै समेट्ने भएकाले राजनीतिज्ञका निम्ति त निष्ठाको राजनीति सफलताको महŒवपूर्ण कडी नै मानिन्छ । जनविश्वासमा आधारित रही निरन्तर सञ्चालित हुनुपर्ने पेसा भएकाले राजनीतिज्ञले निष्ठालाई संवेदनशील ठान्नुपर्छ । राजनीतिक सफलताको आधारभूत तŒव भएकाले निष्ठारहित व्यक्तिको राजनीति दीर्घकालसम्म टिक्दैन । हरेक व्यक्तिले प्रारम्भमा नजरिया निष्ठाकै धरातलमा टेकेर राजनीतिमा प्रवेश गर्दछन् । तर, कतिपयले निष्ठालाई निरन्तर अवलम्बन गर्न नसक्दा दूषित राजनीतिभित्र प्रवेश गर्छन् । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित हुन्छ भने निष्ठाको राजनीति आमनागरिक र राष्ट्रकै हित र स्वार्थमा केन्द्रित रहन्छ ।

पछिल्लो समयमा स्वार्थको राजनीतिक प्रतिस्पर्धाले व्यवहारमा महŒव पाउँदै आएको छ । यसको कारण पनि व्यक्तिमा निहित लोभ लालच र स्वैच्छाचारिता नै हो । सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् । निष्ठाकै राजनीति अवलम्बन गर्दै यस्ता व्यक्ति सफलताको शिखरमा चढ्छन् । यस्तो अनुकरणीय दृष्टान्त भएका राजनीतिज्ञ हाम्रोमा प्रशस्त छन् । यसविपरीत राजनीतिलाई आर्जनको पेसा बनाउने उद्देश्य लिएर राजनीतिमा होमिएका व्यक्तिले नै स्वच्छ राजनीतिलाई दूषित बनाउँदै ल्याएका छन् । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ । अस्थिर राजनीतिको अवस्थामा त यो दिनको दुई गुना, रातको चारगुना नै फैलन्छ । मुलुक अब पुनः त्यही अवस्थामा फर्कंदै छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरको अवस्था स्वच्छ र पारदर्शी व्यक्तिको नजरमा सराहनीय भए पनि दूषित राजनीतिमा आबद्ध व्यक्तिका निम्ति भने संसद्को पुनस्र्थापना मौका बन्दै छ । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् ।

स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताका लागि भने घातक बन्दै आएको छ

निष्ठामा आधारित स्वच्छ प्रतिस्पर्धा राजनीतिको आधारभूत विशेषता हो । यस क्रममा दलीय सिद्धान्तप्रति निष्ठा, नेतृत्वउपरको आस्था र विश्वास, साथ सहयोगी र सहकर्मीउपरको श्रद्धा विश्वास, निष्ठाको राजनीतिका आधारभूत तŒव हुन् । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीतिले नागरिकलाई आकर्षित गराएर मात्र सफलता प्राप्त हुन्छ भन्ने कुरालाई हृदयंगम गर्नुपर्छ । पछिल्लो समयमा स्वार्थको राजनीतिले निष्ठाको राजनीतिलाई ओझेलमा पार्दै ल्याएको छ । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै राजनीतिक वृत्तमा अगाडि पर्दै आएका छन् । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने भएकाले उनीहरू लाभ र हानिमा मात्रै केन्द्रित रहन्छन् । खानु र खुवाउनु स्वार्थको राजनीतिकै विशेषता हो ।

सिद्धान्तप्रति अगाध आस्था र विश्वास हुने भएकाले निष्ठाको राजनीति सधैं सकारात्मक कार्यतर्फ उन्मुख हुन्छ । यसको कार्य परिणाम पनि तत्कालै देख्न सकिन्छ । निष्ठावान् राजनीतिज्ञको मनमस्तिष्कमा कपट र विकार हुँदैन । कुटिल मानसिकता त निष्ठाको दुस्मन नै हो । एकाग्र चिन्तन र मननका साथ निष्ठावान् व्यक्ति आफ्नो कामकर्तव्य र सिद्धान्तप्रति निरन्तर क्रियाशील बन्ने भएकाले उसको क्रियाकलाप सबैका निम्ति अनुकरणीय बन्छ । सामूहिक हितलाई सर्वोपरि ठान्ने भएकाले लक्षित कार्य सम्पन्न बनाउन साथ सहयोगीको भूमिका उल्लेख्य हुन्छ ।

निष्ठाको राजनीति र दूषित राजनीतिबीच अन्तरसम्बन्ध कहिल्यै हुन सक्दैन । यी दुई नदीका दुई किनारझैं सधैं टाढिएरै रहन रुचाउँछन् । कथंकदाचित यी दुईबीच अन्तर सम्बन्ध भए त्यो प्राकृतिक र शोभनीय मानिँदैन । निष्ठाको राजनीति सामाजिक जीवनस्तर सुधार गर्नमा केन्द्रित रहन्छ भने स्वार्थको राजनीति व्यक्तिगत लाभमै सीमित रहन्छ । जीवनस्तर सुधारका क्रममा सर्वसाधारणका अत्यावश्यक आधारभूत पक्षजस्तो गाँस, बास, कपास, रोजगारी, शिक्षा र स्वास्थ्य, निष्ठाको राजनीतिका लक्षित विषयवस्तु हुन् । तर, स्वार्थको राजनीति अपनाउने व्यक्तिका निम्ति यिनै आधारभूत विषयवस्तु मागी खाने भाँडो बन्छन् । निष्ठाको राजनीतिले सिद्धान्त, विकास निर्माण र जनसरोकारका विषयलाई मूल मुद्दा बनाएको हुन्छ भने स्वार्थ यसविपरीत हुन्छ । हाम्रो मुलुकको सन्दर्भमा अहिले निष्ठाको राजनीति घट्दो अवस्थामा छ भने स्वार्थको राजनीति मौलाउँदो अवस्थामा ।

विगतकै राजनीतिक इतिहास हेर्ने हो भने वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि शिष्ट र रामराजाप्रसाद सिंहसमेतका व्यक्तिहरू निष्ठावान् राजनीतिज्ञका रूपमा परिचित थिए । उनीहरूको सार्वजनिक क्रियाकलाप र गतिविधि कतिपय अवस्थामा आलोचनात्मक बनेको भए पनि यी सबै व्यक्ति आआफ्नो राजनीतिक सिद्धान्तमा अडिग थिए । राजनीतिक निष्ठालाई उनीहरूले आफ्नो जीवनको सर्वोपरि ठाने । अहिले राजनीतिज्ञको रूपमा कहलिएका अधिकांश व्यक्ति उनीहरूकै संसर्गबाट राजनीतिक जीवनको प्रारम्भ गरेका हुन् । उनीहरूकै प्रेरणाको छाप अहिले पनि उनीहरूको मनमस्तिष्कबाट हटेको छैन । उनै प्रेरणादायी व्यक्तित्वहरूकै सिको गर्दै राजनीतिमा होमिएका व्यक्ति नै अहिले मुलुकको हर्ताकर्ता राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनीहरूको राजनीतिक जीवनले पाँच दशक पार गरिसक्दा पनि उनीहरू अग्रज राजनीतिज्ञको उचाइमा पुग्न सकेनन् । यसको कारण पनि उनीहरूले अवलम्बन गर्दै आएको स्वार्थको राजनीति नै हो । निष्ठाको राजनीतिले व्यक्तिको कद बढाउँछ, स्वार्थको राजनीतिले घटाउँदै लान्छ भन्ने कुरा उनीहरूकै व्यवहारबाट प्रतिविम्बित भइरहेको छ ।

मनमस्तिष्कबाटै उत्पन्न हुने भएकाले निष्ठाको राजनीतिको सुवासना गाउँ समाज, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलँदै जान्छ । निष्ठाको राजनीतिको उत्सर्गको चरण भनेकै व्यक्तिको लोकप्रियता हो । लोकप्रियता सबैले आर्जन गर्न सक्दैनन् किनकि यो सहजै प्राप्त हुने कुरा होइन । यसलाई आर्जन गर्न जति कठिन छ यसलाई यथावस्थामा संरक्षण गर्न त्योभन्दा बढी कठिन पर्छ । किनकि सानो त्रुटि वा कमीकमजोरीले चुलिएको लोकप्रियता धरासायी बन्छ । राजनीतिक क्षेत्रमा यस्ता दृष्टान्त हाम्रोमा अनेकौं छन् । राजनीतिज्ञले सामूहिक स्वार्थलाई महŒव नदिए, सैद्धान्तिक मूल्य मान्यता लत्याएर, देश र जनताप्रतिको आफ्नो दायित्वलाई वहन नगरे तथा स्वार्थलाई बढावा दिए निष्ठाको राजनीति अन्त्य भएको ठानिन्छ । यस्ता राजनीतिक व्यक्तिहरू नै समाजको नजरमा घृणाको पात्र बन्छन् ।

अहिले मुलुकको राजनीतिले कोल्टे फेरिसकेको छ । बिरलै व्यक्तिले मात्र निष्ठाको राजनीतिलाई निरन्तरता दिँदै आएका छन् । अहिलेको राजनीतिको मुख्य विकृति भनेकै स्वार्थको राजनीति हो । जसले राजनीतिक क्षेत्रलाई नै दूषित र कलंकित बनाउँदै ल्याएको छ । निष्ठाले अभिप्रेरित भएर होइन अरूले आर्जन गरेको देखेर, कमाउन सहज, नेताभक्ति भए कारबाहीमै पर्नु नपर्ने, नेताबाटै संरक्षित भइने, समाजमा सबैको मान्य बन्न सकिने, इज्जत र प्रतिष्ठा नै बढ्ने भएको ठानी कतिपय व्यक्ति राजनीतिमा लाग्दै आएका छन् । यो मानसिकतामा राजनीतिमा लाग्ने व्यक्तिमा निष्ठा होइन स्वार्थ हावी हुन्छ । यस्तै, नजरिया राजनीतिज्ञ शीर्षस्थ नेता रिझाउन खप्पिस हुन्छन् । उनीहरू नेताको नजरमा विश्वास प्राप्त बन्छन् । नेता रिझाउने कला उनीहरूको राजनीतिक विशेषता हुन्छ । नैतिकवान्, इमानदार व्यक्तिभन्दा यस्तै अवसरवादी व्यक्तिहरू चाँडै सत्तामा पुग्छन् ।

सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्तिहरू निष्ठावान् हुन्छन्

लाभलाई महŒवपूर्ण ठान्ने शीर्षस्थ नेताका लागि त यस्ता व्यक्ति दाहिने हात ठानिन्छन् । मुलुकमा हुने उच्च स्तरको भ्रष्टाचार, तस्करी, कालो बजारी, ठेकापट्टा कमिसन, जस्ता अपराधिक कार्यमा यस्तै व्यक्तिको संलग्नता रहने गर्छ । यसको पछिल्लो दृष्टान्त बाइडबडी विमान खरिद प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ललिता निवासको जग्गा किनबेच प्रकरण, नेपाल ट्रस्टको जग्गा लिज प्रकरण तथा त्रिभुवन विमानस्थल नजिक सिनामंगलको नेपाल वायु सेवा नियमको नाममा रहेको जग्गा ३० वर्षका लागि होटल सञ्चालकलाई लिजमा दिन प्रारम्भ गरिएको हालैको प्रक्रिया नै हुन् । यी घटनामा को कसको नाम जोडियो ? उनीहरू कुन पृष्ठभूमिका व्यक्ति हुन् ? आरोपितउपर राज्यले कारबाही किन गरेन, यस्ता घटना नियन्त्रण गर्ने तथा कारबाही गर्ने संवैधानिक निकाय अख्तियार किन मौन रह्यो भन्ने कुरा त आमनागरिकले नै महसुस गरेकै कुरा हो । तर, त्यस्ता जटिल प्रकृतिका इस्युलाई पुनरावृत्त गराई कसुरदारलाई भविष्यमा दण्ड सजाय दिलाउनैपर्छ । योबराबर ब्युँतिरहने राष्ट्रिय मुद्दा र स्वार्थको परकाष्ठा हो ।

बराबर सत्तामा पुगेका राजनीतिक व्यक्तिहरू नै निसंकोच जनताबीच जान नसक्ने, जानै परे सुरक्षा दस्ता नै अघिपछि लगाएर मात्र जाने कारण पनि उनीहरूको स्वार्थको राजनीतिको परिणाम हो । आफ्नै गलत प्रवृत्तिले गर्दा नेताहरू नै जनताको दुश्मन बन्ने गरेका छन् । तर, जनमुखी कार्य गरी जनता रिझाउँदै आएका व्यक्ति भने जनतामा जान डराउँदैनन् । त्यस्ता व्यक्तिको सुरक्षाको जिम्मा पनि जनता आफैंले गर्छन् । नेकपामा आएको विखण्डन स्वार्थकै दुष्परिणाम हो । यो सिद्धान्त र निष्ठाको खिण्डन होइन । व्यक्तिगत स्वार्थ र पदलोलुपता नेकपा बिखण्डनको कारक तŒव नै हो । यसले बिखण्डित दुवै समूहका अग्रपंक्तिका नेता निष्ठाका राजनीतिज्ञ होइनन् । व्यक्ति केन्द्रित स्वार्थको बिखण्डनले नेकपालाई मात्र होइन सिंगो मुलुकलाई नै नकारात्मक असर परेको छ ।

नेकपाको बिखण्डित दुवै समूहका शीर्षस्थ नेताहरूले आफू सत्तामा पुगे सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने उद्घोष गर्दै आएको १२ वर्ष बितिसकेको छ । १२ वर्षमा उनीहरू नै पालोफेरोमा बराबर सत्तामा पुगे । तर, उनीहरूको कार्य गराइले यो नारालाई सम्बोधन गर्न सकेन किन ? यसको कारण हो उनीहरूले जनतालाई लोकप्रिय नाराले भुल्याउँदै ल्याए तर सुखी नेपाली समृद्ध नेपालको ठाउँमा सुखी परिवार समृद्ध नेता बन्नमै लागिपरे । यद्यपि नयाँ नेपाल सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा लगाउन अझै उनीहरू लाज मान्दैनन् । यसले निष्ठाको राजनीति समृद्धिको आधार, स्वार्थको राजनीति नेताकै व्यवहार भन्ने उपरोक्त कथनलाई नै प्रमाणित गर्छ । यो प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताको लागि भने घातक बन्दै आएको छ । भविष्यमा यो प्रवृत्ति पुनः निरन्तरता नपाओस् ।

तपाइको प्रतिक्रिया
(Visited 699 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगद्वारा मुख्यमन्त्री भट्टलाई २४ घन्टे स्पष्टीकरण