निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा नेतृत्वले आफ्नो संगठन, आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्दै वा परिवर्तनलाई आफ्नो अनुकूल अवलम्बन गर्दै संगठनलाई नयाँ क्षितिजमा पु¥याउँछ, सफलता प्राप्ति गर्दछ । यसकारण नेतृत्व परिवर्तनको वाहक हो । कसैको विश्वास प्राप्त गर्नु, कसैलाई आफूतर्फ आकर्षित गर्नु, कसैलाई आफूले भनेझैं हिँडाउन, निर्देशन पालना गराउन, पुरस्कृत र दण्डित गर्न÷गराउन सक्ने नेतृत्वदायी भूमिका नेताले निर्वाह गर्दछ । नेताको कार्य नेतृत्व गर्नु हो । नेता पथपर्दशक हो । नेता भिजन दिन, समस्या समाधान गर्न र विश्वास जित्न सक्दछ । नेतृत्व भनेको नेताको गुण, क्षमता, जिम्मेवारी, उत्तरदायी र स्वभावको एकीकृत रूप हो । विश्वासको शक्तिपुञ्ज हो । नेतृत्वले आफ्नो उद्देश्य पूरा गर्न जबरजस्ती नगरेर स्वतन्त्ररूपमा अरूको व्यवहार प्रभावित र उत्प्रेरित गर्दछ किनकि नेतृत्वमा त्यस्तो उत्पे्ररित गर्ने विशेष चरित्र, क्षमता, सीप, चाहना र पुँजी अन्तर्निहित हुन्छ । नेतृत्वमा नै संगठनको सफलता असफलता निर्भर गर्दछ ।

प्रारम्भमा नेतृत्व व्यक्तिको जन्मसिद्ध गुणमा आधारित हुन्छ भन्ने भनाइ नेतृत्वको गुण सिद्धान्तले वकालत ग¥यो । त्यस्तै, करिस्मेटिक सिद्धान्तले नेतृत्व व्यक्तिमा अन्तर्निहित अभूतपूर्व आत्मविश्वासी, भिजनरी र जनताको मन जित्ने गुणको परिणति हो भनी वकालत गर्दछ । नेतृत्वको व्यवहारवादी सिद्धान्तले गुणले मात्रै बन्ने होइन, नेतृत्व व्यक्तिको व्यवहारले निर्धारण गर्ने धारणा राख्दछ । नेताले कामलाई जोड दिएर अनुयायी, सहयोगीलाई परिचालन गर्दछ कि अनुयायी सहयोगीको भावना, क्षमता र सक्रियतालाई आत्मसात् गर्दै उद्देश्य प्राप्त गर्न क्रियाशील हुन्छ भन्ने मत नेतृत्वको व्यवहारवादी सिद्धान्तको हो । त्यस्तै, नेतृत्वको ग्रिड (मनोभावना) सिद्धान्तले संगठनको काम र व्यक्तिको क्षमताको आधारमा नेताले कस्तो व्यवहार र प्रक्रिया अवलम्बन गर्नुपर्ने हो सोको आधारमा नेताको व्यवहार निर्माण गर्दछ भन्ने दृष्टिकोण राख्दछ । यस सिद्धान्तले काममुखी व्यक्तिमुखी काम र कर्मचारी दुवैप्रति असंवेदन टिममुखी तथा मध्यमार्गी चरित्रको नेतृत्वका रेखांकन गर्दछ । व्यक्तिको गुण र व्यवहारले मात्र होइन, परिस्थिति व्यवस्थापन गर्न उन्मुख नेतृत्व हुने विश्वास नेतृत्वको परिस्थिति वा भैपरी अवस्था सिद्धान्तले अगाडि राख्दै आएको छ । परिस्थितिअनुकूल नेतृत्वले आफूलाई ढाल्दछ अर्थात् निर्माण गर्दछ ।

साथसाथै, नेतृत्व व्यक्तिको परिपक्वताको विकास र सम्बन्धले उसको क्षमता विकास गर्ने विचार जीवनचक्र सिद्धान्तले राख्दछ भने यस सिद्धान्तले नेतृत्वले भर्खर सेवा प्रवेश गरेको नयाँ कर्मचारी वा अनुयायीलाई कार्य सम्पादन गर्न निर्देशन गर्ने, आफ्नो निर्णय विचार लागू गर्न दिने वा निर्णय लाद्ने, अनुयायी वा कर्मचारी परिपक्क हँुदै गएपछि निर्णय प्रक्रियामा सहभागी गराउने तर जिम्मेवार नदिने र अनुयायी वा कर्मचारी पूर्ण रूपमा परिपक्व भएपछि मात्र अधिकार सम्पन्न गराई कार्य सम्पन्न गर्न स्वतन्त्र जिम्मेवारी दिने गर्दछ भन्ने व्याख्या गर्दछ । त्यस्तै, पाथगोल सिद्धान्तले संगठनको लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिका रणनीति र प्रक्रिया तथा जिम्मेवारी निर्धारण गर्ने नेतृत्वको खुलेर चर्चा गर्दछ । नेतृत्वको रूपान्तरण सिद्धान्तले नेतृत्वले संगठनको उद्देश्य प्राप्त गर्न सामान्य रीत, प्रक्रिया र सिद्धान्तभन्दा भिन्न, एकदम भिन्न किसिमले नवीनतम सोच, सिकाइ, रणनीति र गन्तव्यको प्रवाह वा कर्मचारीमा गर्दछ र संगठनलाई यथास्थितिबाट रूपान्तरण गर्दछ । यस्तो नेतृत्व महानेतृत्व कहलिने विश्वास गर्दछ । यस सिद्धान्तले नेतृत्वले भिजन दिने, अनुयायी वा कर्मचारीलाई सशक्तीकरण गर्ने र सशक्त रणनीतिका माध्यम संगठनको उद्देश्य हासिल गर्ने मान्यता राख्दछ ।

परिवर्तनशील एवं ज्ञानयुक्त समाज, विश्वका देशको बढ्दो अन्तरनिर्भरता तथा सूचना तथा सञ्चार प्रविधिको अकल्पनीय विकासले राजनीतिक नेतृत्वका अगाडि चुनौती थपिदिएको छ

नेतृत्वका परम्परागत सिद्धान्तभन्दा फरक मत राख्दै नेतृत्वको प्रतिस्थापन सिद्धान्तले नेतृत्वभन्दा संगठनको काम, सहयोगी कर्मचारीमा रहेको गतिशीलता र कार्यसम्पादन सन्तुष्ठि र संगठनका खास विशेषताहरूले संगठनात्मक सफलता प्रभावित हुन्छ भन्ने धारणा राख्दछ । परम्परागत सिद्धान्तले पदसोपानी नेतृत्वले आफना सहयोगीको सक्रियतालाई नजरअन्दाज गर्दछ भने नेतृत्वको प्रतिस्थापन सिद्धान्तले कतिपय अवस्थामा नेतृत्वको उपस्थिति र व्यवहारलाई नै असान्दर्भिक ठान्दछ । नेतृत्व संगठनको उद्देश्य हासिल गर्न रहस्यमय ढंगले किन र कसरी उत्प्रेरित हुन्छ भन्ने जिज्ञाशा नेतृत्वको मनोभवना विश्लेषण एप्रोचले राख्दछ भने रोमान्स नेतृत्व एप्रोचले संगठनको लक्ष्य प्राप्त गर्न सहयोगी कर्मचारीलाई नेतृत्वले कसरी रोमान्समा पार्दै उत्प्रेरित गर्दछ भन्ने जिज्ञासा साथ स्थापित भइरहेका नेतृत्वका सिद्धान्तहरूलाई चुनौती दिएको देखिन्छ ।

परिवर्तनशील एवं ज्ञानयुक्त समाज, विश्वका देशको बढ्दो अन्तरनिर्भरता तथा सूचना, सञ्चार प्रविधिको अकल्पनीय विकासले संगठन मात्र नभएर राजनीतिक नेतृत्वका अगाडि पनि चुनौतीहरू देखापरेका छन् । निर्णय नगर्ने, सीमित सूचनामा भर पर्ने, जोखिम लिन नचाहने कारण नेतृत्व संकटमा परेको पाइन्छ । अनिश्चित निर्णय वातावरण र सबै सरोकारवालाहरूलाई मान्य हुनेगरी निर्णय गर्नुपर्ने अवस्था, सुसूचित तथा ज्ञानयुक्त समाजको विकास, नेतृत्वमा अन्तर्निहित र प्राप्त अधिकार शक्तिको व्यवस्थापन र उपयोग, नैतिक नेतृत्व प्रदर्शन, मिश्रित समाज, कार्यजन विविधता र बहुसांस्कृतिक कार्य वातावरण व्यवस्थापन, स्रोतको सीमितता र स्रोतको आधारमा परिवर्तन, जिम्मेवारी निर्वाहको सन्दर्भमा उत्पन्न हुने तनावप, विश्वव्यापीकरण र बदलिँदो संगठनात्मक कार्य वातावरण, गतिशील र लचिलो संगठन स्वभावको विकास जस्ले स्थीर वातावरण र स्थायी प्रक्रियामा काम गर्ने प्रवृतिलाई समाप्त पारिदिएको स्थिति, परिवर्तनले ल्याउने अस्पष्ट काम र सो कार्य सम्पादन गर्न अस्पष्ट अधिकार, दण्ड र पुरस्कारको प्रभावकारी उपयोगमा चुक्ने, पारदर्शिता कायम गर्ने र प्रेससँग समन्वय गर्ने बाध्यता, राज्यशक्तिभन्दा बाह्य शक्ति सरोकारवाला र स्वार्थसमूहको दबाबको निर्णयमा बढ्दो प्रभाव, जवाफदेहिताको बढ्दो माग, उत्तरदायित्व वहन गर्नुपर्ने आफ्नो कार्य, स्रोत उपयोग र सेवाप्रवाहको प्रभाव अवस्था तथा सार्वजनिक सवालको बजारमूलक समाधान खोज्नुपर्ने बाध्यता नेतृत्वका अगाडि चुनौती ल्याउने अवस्था हुन् ।

निजामती सेवामा नेतृत्व विकास अपहेलित क्षेत्र हो । संगठनको नेतृत्वमा पुग्नुअघि वा पुगेपछि नेतृत्वलाई संगठनको उद्देश्य, निर्णय जिम्मेवारी र प्रक्रिया, मानव संसाधन परिचालन, परिस्थतिको आँकलन तथा सम्बन्ध विस्तार गर्ने जानकारी भएन भने संगठनको अद्योगती हुने र अन्ततः संगठन असफल हुने हुन्छ । हाम्रा नेता संगठनको उद्देश्य, कानुन र रणनीतिका सम्बन्धमा अनभिज्ञ देखिन्छन् । हाम्रो प्रसंगमा चित्रण गर्दा हाम्रा संगठन बढी व्यवस्थापन गरिएका तर अकुशल नेतृत्वको भरमा रहेक देखिन्छन् । नेतृत्वको नेतृत्व आफंै विकास हुने (प्रकृतिको बरदान सम्झने) विश्वास, पदमा पुगेपछि मैमत्त हुने, आफंैले आफंैलाई सर्वज्ञ नेता सम्झने र अरूलाई गवार वा पिछलग्गु सम्झने प्रवृत्ति, पदमा पुगे पछि स्वतः आउने अधिकारको आडमा मर्मज्ञ बन्ने प्रवृत्ति, अधिनायकवादी नेतृत्व सोच र सोही अभ्यासमा रमाउने प्रवृत्ति, निर्णय टार्ने, ढिलो गर्ने वा निर्णय प्रक्रियामा सहयोगीलाई सहभागिता गर्नु कमजोरी सम्झने प्रवृत्ति, जिम्मेवारी निभाउन तथा कर्मचारी, अनुयायीको विषयमा सोच्न उदासीन तर आत्मकेन्द्रित हुने तथा सधैं शक्ति बढाउन गुट बनाउने र शक्तिशालीहरूको चाकरी गर्न प्रवीण र पोख्त चरित्रहरू नेतृत्वका आलोचनात्मक चरित्र हुन् ।

निजामती सेवामा स्पष्ट रूपमा नेतृत्व विकासलाई फोकस गरिको नभए पनि निजामती सेवा ऐनमा भएको देहायबमाजिमको व्यवस्था नेतृत्व विकासका लागि पर्याप्त देखिन्छ । लोकसेवा आयोगको छनोटदेखि नियुक्ति, पदस्थापना, बढुवा, सरुवा सबै नेतृत्व विकासका वृत्ति पथ हुन् । तर पदस्थापन, बढुवा, सरुवामा अत्यधिक रूपमा सांगठनिक राजनीति हुने कारण अपेक्षित उपलब्धि निजामती सेवालाई प्राप्त छैन । निजामती सेवा तटस्थ र प्रतिबद्ध हुन नसकेकाले सेवामा निर्देशित नेतृत्व (लाए÷अह्राएको गरौं) मात्र विकास भएको पाइन्छ । कार्यसम्पादन मूल्यांकन नेतृत्व विकासको आधारभ्ृत तत्व हो । तर, कार्यसम्पादन मूल्यांकनको जिरो मूल्य अर्थात् सबैको बराबर अंक आउने भएको कारण नेतृत्व विकासको आधार बन्न सकेको छैन । तालिम नाममा मात्र सीमित छ, नेतृत्व विकास फोकस्ड छैन ।

हाम्रो निजामती सेवाको नेतृत्वको न्वारन पदले गर्दछ । पदमा पुगेपछि सर्वज्ञ देख्ने र बन्ने प्रवृत्ति सर्वत्र पाइन्छ । नेतृत्वको चरित्र पूर्वसक्रियभन्दा पश्चसक्रिय हुने खालको छ । सहयोगीको कुरा तर्क सुन्ने क्षमता कम र आफू जान्ने देखाउने मनोच्छा बढी पाइन्छ । नेतृत्व टिमवर्क गर्न रुचाउँदैन भने सहभागितामूलक काम गर्न कमजोरी ठान्दछ । नेतृत्व जिम्मेवारी लिन अग्रसर हुँदैन । काम बिग्रेको अवस्थामा जिम्मेवारी नलिन र अर्कालाई दोष लगाउन पोख्त पाइन्छ । नेतृत्व बोस गुट, र शक्ति केन्द्रको इच्छामा निर्णय गर्न अभ्यस्त छ भने आफूले मान्नुपर्ने अस्पष्ट शक्तिकेन्द्रको चाहनामा र आफनोे ब्रह्ममा निर्णय गर्न उद्यत हुने र रम्ने प्रवृत्ति नेतृत्वमा पाइन्छ । नेतृत्व उच्च र उदार विचारले सिञ्चित छैन । नेतृत्व संगठनको रणनीतिकज्ञ बन्न सकेको अवस्था छैन । वार्षिक बजेट र कार्यक्रम बनाउँदा नेतृत्व प्रायः संलग्न भएको हुँदैन । अत्यधिक छिटो कर्मचारी सरुवाले कार्यालयको नेतृत्वले तदर्थ रूपमा मात्रै काम गर्ने गरेको हुन्छ ।

नेताको क्षमता निर्णय लिने र निर्णय कार्यान्वयन गराउन सक्ने तथा आफ्ना अनुयायी र सहयोगीलाई उत्प्रेरणासहित नियन्त्रण र परिचालन गर्ने खुबी हो

नेतृत्वको नजरले सहयोगी कर्मचारीको सशक्तीकरण र सहभागिता आवश्यक देख्दैन । नेतृत्व यथास्थितिमा रमाउने र भविष्यमा अवसर लिने आशामा काम छोडेर सम्बन्ध विस्तारमा गर्न क्रियाशील देखिन्छ, संगठनका जिम्मेवारी र उत्तरदायित्व लिनुभन्दा निजामती सेवामा जोखिम लिएर निर्णय गर्ने र काम सम्पन्न गर्ने वातावरण र अधिकार छैन । संगठनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग न्यून भएको, सूचना प्रविधिमैत्री कर्मचारी विकास नभएकाले अहिले पनि सूचनामा पहुँच र सूचनामा खेल्ने वातावरण अपेक्षित रूपमा विकास भएको छैन र नेतृत्वले न्यून सूचनामा नै निर्णय लिनुपर्ने अवस्था विद्यमान छ । नेतृत्व पावर पाई बढाउन र एम्पायर बिल्ड गर्न तल्लीन र दौडधूप गर्दछ । नेतृत्वमा विषयगत, प्रविधिगत र मानव सम्बन्धगत रूपमा क्षमताको अभाव छ भने नेतृत्व विकास कार्यक्रम र नेतृत्व विकासका लागि उत्तरधिकारी योजना छैन । निजामती सेवा ऐन २०४९ को दफा ९ (क) मा मा नेतृत्व मूल्यांकनका लागि वार्षिक कार्य प्रगति, नीति विश्लेषण क्षमता, कार्यसम्पादन गर्दा नेतृत्व लिन सक्ने क्षमता, निर्णय गर्ने क्षमता, सेवाग्राहीको सन्तुष्टि, बेरुजु फछ्र्यौटको प्रगति, सामूहिक कार्यप्रणालीको उपयोग, पेसागत संवेदनशीलता, अन्तरवैयक्तिक सम्बन्ध तथा कार्यगत निकायमा गरेको रचनात्मक र सिर्जानात्मक सूधारजस्ता सूचकहरूको व्यवस्था भए पनि कार्यान्वयन फितलो छ ।

निर्णय गर्नु नै नेतृत्वको प्रमुख कार्य हो । निर्णय समयमा नगर्ने र निर्णय पन्छाउने वा गलत निर्णय गर्ने नेतृत्व कहिल्यै सफल हुन सक्दैन । नेतृत्वमा असीमित र अदृश्य शक्ति तथा परिभाषित अधिकार हुन्छ । शक्ति र अधिकार प्रयोगबाट नेतृत्वले निर्णय गर्ने, निर्णय कार्यान्वयन गर्न स्रोतसाधन र मानवशक्ति परिचालन गर्ने, अनुयायी, सहयोगी वा कर्मचारीलाई नियन्त्रण र परिचालन गर्ने, कार्य वातावरणको आँकलन गर्ने र संगठनको मूल उद्देश्य प्राप्त गर्न संगठन उन्मुख गराउन सकिएन भने नेतृत्व असफल हुन्छ । नेतृत्व असफल हुनका थप कारणहरू संगठनको सिद्धान्त, उद्देश्य, लक्ष्य तथा भिनजप्रति असंवेदनशील हुनु, उच्च र अस्वाभाविक महत्वाकांक्षा र नकारात्मक सोच रहनु, असफलताका लागि दोषारोपण खेल खेल्न लिप्त हुनु, संगठनका सदस्यहरूप्रति संवेदनहीन रहनु, संगठनका कार्यक्रम सञ्चालनमा उदासीन बन्नु, अधिकार प्रत्यायोजनमा असक्षम पाइनु, परिस्थितिवश भिन्नभिन्न प्रकारको नेतृत्वकला प्रदर्शन गर्न चुक्नु, खासगरी सुपेरियरर मेन्टरमा निर्भर रहनु, निर्णय गर्न हिचकिचाउने वा अरूको इच्छा वा ब्रह्ममा निर्णय गर्न रमाउने प्रवृत्ति पाइनु, आत्मकेन्द्रित मनोविज्ञान (संगठनको काम र व्यक्तिभन्दा) हुनु, व्यावसायिक दक्षता, सीप र ज्ञानको कमी रहनु, कामभन्दा आफ्नो स्वार्थका लागि शक्ति सञ्चय गर्न, एम्पायर बढाउन, शक्तिकेन्द्रको आसपासमा रहन, सम्बन्ध बढाउन केन्द्रित तथा जिम्मेवारी निभाउन बेवास्ता गर्ने बानी पाइनु र तजबिज अधिकारको शून्यता हुन् ।

पहिले नेतृत्वले परम्परागत रूपको स्थीर वातावरणमा यथास्थिति कायम गर्नासाथ पुग्दथ्यो । सबै समस्याको एक उत्कृष्ट तरिकाबाट गर्दा हुन्छ भन्ने विश्वास र नेताले सबै जान्दछ भन्ने मान्यता राखिन्थ्यो र काम हुन्थ्यो । सूचना सञ्चार प्रविधिको विकास र अन्तर्राष्ट्रिय उदारवादले समाजमा अभूतपूर्व गतिशीलता, परिवर्तन अन्तरनिर्भरताहरू आएका छन् । समाज अब सुसूचित, ज्ञानयुक्त र नजिक भएको छ । अनुयायी, सेवाग्राही तथा सहयोगी बौद्धिक व्यक्तिहरू आलोचनात्मक समर्थक बन्न पुगेका छन् । अत्यधिक गतिशीलताले निर्णय वातावरण जोखिमपूर्ण बनेको र सरोकारवालाहरूको दबाबले बुद्धिमत्तापूर्ण निर्णय लिनुपर्ने भएको छ । यस अवस्थामा कामकाजी, सीमित सम्बन्धको भरमा चल्ने र भविष्य आँकलन गर्न नसक्ने नेतृत्वको अब काम छैन । निर्णयबाट भाग्ने नेता नेता हुन सक्दैन । नेतृत्व अरूबाट कार्यसम्पादन गराउने संयन्त्र हो तापनि आजकाल नेतृत्व अग्रपंक्तिमा रहनुपर्दछ भन्ने विश्वास गरिन्छ । आजको नेतृत्व प्रक्रियामुखी बन्धनबाट परिणममुखी हुनुपर्दछ भने नेतृत्वले नैतिकताको पुष्टि गर्न कार्यसम्पादनलाई नियमकानुन, सिद्धान्तपरक र पारदर्शी पनि बनाउनु नै पर्दछ । नेताको क्षमता निर्णय लिने र निर्णय कार्यान्वयन गराउन सक्ने तथा आफ्ना अनुयायी र सहयोगीलाई उत्प्रेरणासहित नियन्त्रण र परिचालन गर्ने खुबी हो । यसर्थ, नेताले आफू पूर्ण रूपमा सूचित हुने र सूचनाको विविधतासमेत ग्रहण गर्न सक्नुपर्दछ । नेतृत्वले जिम्मेवारी, जनता (सेवाग्राही) र परिवर्तनशील कार्य वातावरणको त्रिकोणात्मक सम्बन्धमा सन्तुलन कायम पनि गर्नुपर्दछ । साथै, नेताले संगठनको लक्ष्य प्राप्त गर्न, संगठनको वातावरण, प्रतिस्पर्धीको व्यवस्थापन र स्रोतसाधनको व्यवस्थापन गर्न रणनीतिक, सहजकर्ता, अनुगमन, समन्वयकारी, निर्देशक, उत्पादक, मध्यस्थकर्ता, अन्वेषककर्ता, निर्णयकर्ता, सक्षमकर्ताको भूमिका खेल्न सक्नुुपर्दछ । यही आजको माग हो ।

तपाइको प्रतिक्रिया
(Visited 860 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार