काठमाडौंका सडकमा फेरी खाल्डाखुल्डी

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकमा फेरि खाल्डाखुल्डी देखिन थालेका छन् ।
विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पिच नगर्ने क्रम बढेर जाँदा काठमाडौंका सडकमा पछिल्लो समय खाल्डाखुल्डी बढेका हुन् भने त्यस्ता खाल्डाखुल्डीका कारण सडक समेत असुरक्षित बन्न पुगेको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका विभिन्न सडकहरुमा पछिल्ला दिनमा खाल्डाखुल्डी बढेका छन् भने ढल तथा पानीका लागि सडक खनेपछि पुनः पिच नहुँदा सडकमा खाल्डाखुल्डी यत्रतत्र देखिन थालेका हुन् । नियमित रुपमा सडकका खाल्डाखुल्डी टाल्ने तथा पिच गर्ने काम नहुँदा पनि सडकमा खाल्डाखुल्डी देखिएको सर्वसाधरणहरु बताउँछन् ।

सडक विभागले भने नियमित रुपमा खाल्डाखुल्डी पुर्ने, सडक पिच गर्ने काम भइरहेको जनाएको छ । गत वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै करिब दश हजार बढी खाल्डाखुल्डी पुरिएको जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रघुवीर महासेठलाई हटाएर नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएपछि सडकका खाल्डाखुल्डी टाल्ने, सडक रंगरोगन गर्ने, नियमित सडकको पिच गर्ने क्रम बढेको थियो । सरकारले सडकलाई सुरक्षित तथा धुलोरहित बनाउन भन्दै खाल्डाखुल्डी पुर्ने देखि रंगरोगन गर्ने अभियान नै चलाइएको थियो ।

तिब्र गतिमा खाल्डाखुल्डी पुर्ने अभियान चलेपछि त्यसको सर्वसाधरणले प्रशंशा समेत गरेका थिए । मन्त्री नेम्वाङले आफ्नो तीन महिनाको कार्याकालमा नै ९ हजार ५ सय खाल्डाखुल्डी पुरेपछि मन्त्रीको पनि प्रशंशा भएको थियो । पछिल्लो समय भने खाल्डाखुल्डी पुर्ने, सडकमा कालोपत्रे गर्ने कामले खासै प्राथमिकता पाउन सकेको छैन । मुख्य सडकमा नै महिनौं दिनसम्म खाल्डाखुल्डी खनेर नपुर्ने गरिएको पाइएको छ । भित्रि सडकहरुमा पनि त्यस्तै समस्या देखिन थालेका छन् ।

देशमा राजनीतिक संक्रमण बढेसँगै विकास निर्माणमा त्यसको प्रभाव देखिएको हो । यसअघि, राजनीतिक दलहरुले आफ्ना भाषणहरुमा विकास र समृद्धिलाई जोड दिने गरेकोमा सरकारले गत ५ पुसमा संसद विघटन गरेसँगै विकास निर्माणले कम प्राथमिकता पाउन थालेको छ । गत ११ फागुनमा सर्वोच्चद्धारा संसद विघटन बदर भएको छ । संसद विघटन बदर भएपनि राजनीतिक संक्रमण बढेकाले विकास निर्माणले गति लिन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 1,015 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा