गोपीचन्द्र र गौरिका उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी । एथलेटिक्सका गोपीचन्द्र पार्की र पौडीकी गौरीका सिंह सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष पुरुष र महिला खेलाडीबाट सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

पार्कीले १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्णपदक जितेका थिए । उनले पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई १ सेकेन्डले पछाडि पार्दै १३ वर्षअघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए । यस्तै सिंहले १३औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण २ रजत र ३ कास्य जितेकी थिइन् ।

१ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने कीर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा वढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ ।

यस्तै, भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छन् । चौधरीलाई वनदेवी क्लब पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अञ्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५.९ प्रतिशत भोट पाइन् भने सिंहले ४४.८५ र चन्दले ९.२५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टिमकी महŒवपूर्ण खेलाडी थिइन् चौधरी । उनले १३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजतपदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भए । उनको प्रशिक्षणमा नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशकअघि चारपटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलाली गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अञ्जली चन्दलाई वर्षको स्पेसल अवार्डबाट सम्मानित गरिएकोे छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । अञ्जलीले १३औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन् । उनले ह्याट्रिकसहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् । उनी पहिलो ओभर मेडेन राख्दै ३ विकेट, दोस्रो ओभरको अन्तिम २ बलमा २ विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन् ।

यस्तै, कुस्तीकी संगीता धामी वर्ष युवा खेलाडी घोषित भएकी छन् । उनले १३औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन् । उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्णपदक जितेकी थिइन् । ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भए ।

दाहालले १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो रजतपदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्षमुनिको प्रतिस्पर्धामा दोहोरो कास्यपदक जितेका थिए । जुनियर इन्टरनेसनल च्यालेन्जसमा कास्यपदक, प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिजको १९ वर्षमुनिमा कास्यपदक र अन्नपूर्ण अन्तर्राष्ट्रिय सिरिजमा ऐतिहासिक रजतपदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न