नाचघरमा बुद्ध थिएटर फेस्टिभल

काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृति संस्थान, राष्टिय नाचघर यतिबेला बुद्ध नाटकमय भएको छ । आइतबारबाट त्यहाँ बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो ।

भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो । संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले आइतबार उद्घाटन गरेको यो फेस्टिभल आगामी शनिबारसम्म जारी रहने आयोजक नाट्यकर्मी पुष्कर गुरुङका जानकारी गराएका छन्,‘यस वर्ष बुद्धसम्बन्धी बनेका नाटकहरू खोज्यौं । हामीले पाँचवटा नाटक पायौं र फेस्टिभलको आयोजना गर्न तम्सियौं,’ उनले भने ।

कवि तुलसी दिवसको भनाइमा बुद्धको ज्ञान विश्वभर फैलिनुका साथै बुद्ध नेपालमा जन्मेको भन्ने सन्देश यो महोत्सवले दिनेछ । उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।

फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा. दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो । नाटकमा बुद्धले जाति व्यवस्था र छुवाछूतलाई नमान्ने प्रसंगलाई प्रस्तुत गरको थियो । नाटकमा तल्लो जातका एक युवकले पानी छोइदिएको निहुँमा कथित माथिल्लो जातका मानिस उनलाई कुट्न तम्सिन्छन् । आफूमाथि ज्यानको संकट आएको देखेपछि ती युवक सहाराको खोजीमा चिच्याउँछन् । यहीबेला बुद्ध आउँछन् र तिनलाई संरक्षण गर्छन् । अँगालोमा राखेर लुकाउन खोज्छन् । यस्तै, यो महोत्सवमा सोमबार विकास जोशीको निर्देशनमा नयाँ नाटक रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुनेछ ।

यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ । नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ । १ घन्टाको यो नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन् ।

नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिसा लामिछाने, अभिषेक शर्मा आदि कलाकारको अभिनय रहेको छ । मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रवीन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’