कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला कोभिड–१९ को संक्रमणसँगै थला परेको पर्यटन क्षेत्रलाई उकास्ने र मुलुकको आर्थिक विकासमा थप टेवा पु-याउने लक्ष्यका साथ अघि बढिरहेको बताउँछन् । कोइराला कुनै पनि योजना बनाउन र कार्यान्वयन गराउने विषयमा आफू स्पष्ट रहेको बताउँछन् । कोइरालासँग पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या, चुनौती र समाधान’bout केन्द्रित रहेर राजधानी दैनिकका रामसूदन तिमिल्सिनाले गरेको संवाद:
कोभिडबाट सबैभन्दा प्रभावित क्षेत्र पर्यटन क्षेत्रको अवस्था अहिले कस्तो पाउनुभएको छ ?
पर्यटन व्यवसायलाई कसरी पुनरुत्थान गर्ने भन्ने विषय अहिलेको सबैभन्दा महŒवपूर्ण विषय हो । विदेशी मुद्रा भिœयाउने दुईवटा मुख्य क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि हो । धेरै मुलुकको विदेशी मुद्रा आयआर्जनको मूल क्षेत्र नै पर्यटन क्षेत्र बनेको छ । नोपलमा रेमिट्यान्स र पर्यटन क्षेत्रको योगदान छ । कोभिडका कारण यस क्षेत्रको अवस्था निकै कमजोर भएको भए पनि नेपालमा सम्भावना धेरै भएकाले छिट्टै यसलाई पुनरुत्थान गर्न सकिन्छ । पुनरुत्थान गर्न हामीले सोहीअनुसार नवीन योजना र कार्यक्रम ल्याउने गरी अघि बढिरहेका छौं ।
त्यो सम्भावना कसरी देख्नुभएको छ ?
नेपालमा जस्तो प्राकृतिक रूपमा नै बनेका साहसिक पर्यटकीय गन्तव्य अन्त कमै होलान् । त्यसैगरी कोभिडपछि मानिस भिडभाडभन्दा पनि शान्त स्थानमा घुम्न मन पराउने भएको छ । भिडभाडरहित शान्त स्थानको हामी कहाँ कमी छैन । ट्रेकिङका रुट धेरै छन् । मेचीदेखि महाकालीसम्म ३ सय ट्रेकिङ रूट छन् । ताल तलैया छन्, जंगल सफारी छ । खाली हामीले यी कुरा भजाउन मात्र सक्नुपर्छ ।
कोभिडपछि चुनौती बढेको देखिन्छ । पर्यटन क्षेत्रका थप चुनौती देख्नुभएको छैन ?
अब पर्यटक कसरी आउँछन् भन्ने विषयमा खोज र अनुसन्धान गर्नुपर्नेहुन्छ । त्यसैले चुनौती हामी कहाँ मात्र होइन सबै क्षेत्रमा छ । यस क्षेत्रलाई जोगाइराख्नु अहिलेको चुनौती हो । तर, कोभिडपछि यो क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्दा ठूलो आम्दानी हुन्छ । हामीले पर्यटकीय आकर्षणका विषयलाई अझै पनि निषेध पो गरेका छौं कि ? पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको भन्ने अनि विभिन्न अवरोध सिर्जना गर्ने अवस्था हुँदा मात्र चुनौती हुने हो । हामीले पर्यटकलाई घुम्न सक्ने वातावरण बनाउनुपर्छ । २४ घण्टा उसले उपयोग गर्न सकोस् । मानिस अमेरिकाबाट नेपाल होटलमा सुत्न आउँदैन भन्ने कुरा बुझ्नुपर्छ ।
भनेपछि अझै पनि नीतिगत समस्या देख्नुभएको छ ?
नीतिगत रूपमा सच्चाउनुपर्ने विषय छन् । हिजोका दिनमा विकृति भयो भनेर हामीले कतिपय विषयलाई निषेध गरेका छौं । अनुगमन गर्ने विषयलाई ध्यान दिनुपर्छ निषेध गर्नुहँुदैन भन्ने हो । व्यवसायीलाई सहज रूपमा काम गर्ने वातावरण पनि सिर्जना गर्नुपर्छ । उनीहरूले पनि राज्यको नीति नियमको दायरालाई मान्नुपर्दछ । नीतिगत रूपमा हामी प्रस्ट नहुँदा पर्यटकीय क्षेत्रलाई पनि हामीले खुला रूपमा चल्न पो दिएका छैनौं कि भन्ने हो । तर, यति बेला चाहिँ कोभिडबाट थला परेको यो व्यवसायलाई कसरी चलायमान बनाउने भन्ने प्रमुख विषय हो । त्यसमा हामी स्पष्ट खाका लिएर आउनुपर्छ त्यसका लागि आवश्यक गृहकार्य थालेका छौं ।
सरकारी निकायबीच नै अन्तरसम्बन्ध नहुँदा समस्या भोग्नुपरेको भन्ने पनि छ नि ?
विभिन्न स्टकहोल्डरबीच अन्तरसम्बन्ध नभएकाले केही जटिलता देखिएको छ । एउटा काम ११ वटा निकायसँग समन्वय गरेर गर्नुपर्ने भएपछि यस क्षेत्रमा कसरी लगानी भिœयाउने भन्ने समस्या छ । पर्यटन प्रवद्र्धन गर्न होलसेलमा सबै कामको जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिनुपर्छ । तब मात्रै सहज रूपमा काम हुन्छ । अहिले त वनमा गयो वनले अड्काउने, भूमिमा गयो भूमि सुधारले अड्काउने, गृहमा गयो उसकैमा समय लाग्ने अवस्था छ । सरकारी निकायबीचको समन्वयलाई पनि प्रभावकारी र चुस्त बनाउनुपर्छ ।
यसका लागि तपार्इंको पहल के हुन्छ त ?
अब अन्तरनिकाय समन्वय चाहिन्छ । सबै संवेदनशील हुनुपर्छ । यो क्षेत्र चलायमान भएन भने भोलि हाम्रो अर्थतन्त्र धराशायी हुन्छ । सबै निकायले पर्यटन मन्त्रालयले पत्र पठाएपछि यो राष्ट्रको गौरवसँग जोडिएको विषय भनेर तत्काल परिणाम देखिने गरी काम गर्नुपर्छ । सबैले आ–आफ्नो दायित्वबोध गर्नुपर्छ । एउटा व्यक्तिले भनेको भरमा हुने कुरा होइन । पर्यटन मन्त्रालय मेरो पनि हो भन्ने बुझ्नुपर्छ । मेरो घरमा पानी कहाँबाट चुहिन्छ भन्ने मलाई थाहा हुन्छ कि मेरो छिमेकीलाई ? सम्बन्धित मन्त्रालयको समस्या त्यहीँको सचिवलाई थाहा हुन्छ । यहाँ आफूअनुकूल नीति बनाएको हुन्छ अर्काेलाई त्यो नीति पाच्य हुँदैन । त्यसको अन्त्य गर्न सबैसँग छलफल गरेर सहज रूपमा पर्यटन व्यवसाय अगाडि बढाउन पहल हुन्छ । कोभिड–१९ पछि यो व्यवसायलाई कसरी अगाडि बढाउने भनेर व्यवसायीसँग पनि आवश्यकताअनुसार छलफल गर्दै अघि बढ्छौं ।
कोभिड–१९ का कारण अब नयाँ गन्तव्य पनि तोक्नुहुन्छ ?
अहिलेको परिस्थिति र अवस्थालाई ध्यानमा दिएर हामीले कदम चालेको खण्डमा मात्र हामी अगाडि बढ्न सक्छौं नत्र पछाडि पर्छाैं । त्यसका लागि नयाँ गन्तव्य तोकिन्छ । तर, पूर्वाधारलाई पनि ध्यान दिनुपर्छ । त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्छ । निजी क्षेत्रले आफ्नो लगानी सुरक्षित छ भन्ने आभाष पाएपछि मात्र यस क्षेत्रमा आउने भएकाले त्यसका लागि पनि हामीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । अहिले त कसैले कुनै नयाँ ठाउँमा पाँचतारे होटल बनाउन थाल्यो भने चौतर्फी घेराबन्दीमा पर्छ । स्थानीय स्तरबाट यसको समन्वय भएन भने यो क्षेत्रको विकासमा चुनौती हुन्छ । त्यसका लागि हामी आवश्यक पहल गर्छौं । अहिले पहिलो प्राथमिकता कोभिड–१९को चुनौतीबाट सहज रूपमा अवतरण गर्ने नै हो ।
अबको तपार्इंको योजना के छ ?
ट्राभल्स टुर एजेन्सी, रेस्टुरेन्ट, क्युरियो पसल, होटल, रिसोर्टलगायत साहसिक पर्यटकलाई आकर्षित गर्ने अन्य क्षेत्र प्रभावित भए । कतिपय बन्द भएको अवस्थामा छन् । यस क्षेत्रमा कार्यरत कर्मचारी बेरोजगार भएको अवस्था छ । अब ती कर्मचारीलाई पुनरुत्थान गर्न नयाँ समयअनुसारको शिक्षा, ट्रेनिङको आवश्यकता छ । अब हामीे नेपाललाई नयाँ रूपमा ब्रान्डिङ गरेर जाने सोच बनाएका छौं । प्राकृतिक, हिलङ र वेलिनेसको डेस्टिनेसका रूपमा नयाँ रणनीतिबाट पुनरुत्थान गर्न सकिन्छ भन्ने हो । त्यसलाई सबै स्टकहोल्डरसँग सहकार्य र छलफल गर्छाैं ।
नेपाल एयरलायन्सको डोमेस्टिक यात्रुका लागि अनलाइन टिकेटिङ सिस्टम त लागू भएको छैन भने अरू योजना के लागू होला र भन्ने छ नि ?
नेपाल एयरलाइन्सको डोमेस्टिक यात्रुका लागि अनलाइन टिकेटिङ सिस्टम अब छिट्टै सुरु गर्नुपर्छ । कोभिडपछि सबै क्षेत्र अनलाइनमा गइसक्दा यसले पनि सोहीअनुसारको प्रविधि अवलम्बन गर्नुपर्छ । सोहीअनुसार हामी सुुधार गर्दै अघि बढ्छांै ।






