सप्तरी, राजविराज । भान्जीको उपचारका लागि अस्पताल पुगेकी एक महिलामाथि उपचारमा संलग्न एक डाक्टरले आपत्तिजनक व्यवहार गरेको भन्दै शुक्रबार राजविराजस्थित छिन्नमस्ता अस्पताल दिनभर तनावग्रस्त बन्यो ।
तनाव बढ्दै गएपछि आरोपित डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरी उपरीक्षक राजेन्द्र धमलाले पीडित पक्षको उजुरीको आधारमा सो अस्पतालका बाल रोग विशेषज्ञ डा. राजन जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
पीडित महिला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ३२ बर्षीया महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् ।
पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताएकी छन् । भान्जीलाई जाँच्ने क्रममा डाक्टरले आफ्नो वैवाहिक अवस्था’bout सोध्दा आफूले चार बर्षअघि बिहे गरेको र हालसम्म सन्तान नभएको बताएपछि डाक्टरले भित्री वस्त्र खोल्न लगाई शरीरको संवेदनशिल अंगहरुमा हात लगेको उनको आरोप छ । महिलाले प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भींडले डाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताएका छन् ।
यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गरेको गुनासो आएपछि शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् डाक्टर जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।






