काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६-७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयकातर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण सेयरधनीको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रूपमा अम्बिकाप्रसाद पौडेल निर्विरोध रूपमा निर्वाचित भएको घोषणा गरिएको थियो ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारण सभामा उपस्थित सेयरधनीलाई स्वागत गर्दै कम्पनीको १३औंं वार्षिक प्रतिवेदन पेस गरेका थिए । कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारण सभा गर्नुपरेको बेहोेर्न अनुरोध गर्दै सेयरधनीलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैं प्रतिबद्ध रहँदै आएको बताए ।
अध्यक्ष बस्यालले भने, ‘दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकका रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नुको साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको छ । मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांशलगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको छ ।’
उनले भने, ‘लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ । यसका साथै आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैरकरबापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको छ ।’
कम्पनीले तुलनात्मक रूपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताउँदै उनले कम्पनीले विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भिœयाउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फीतिका बाबजुद आकर्षक महसुल दरमा सेवा उपलब्ध गराउँदै आएको बताए । यी प्रयत्न मूलतः राष्ट्र निर्माणप्रति मुखरित भएका र यी कदमबाट १५औं आवधिक योजनाले परिलक्षित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा टेवा मिल्ने अपेक्षा राखेको बताए ।
महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्न सक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थामा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अघि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीको पठनपाठनमा निकै सहयोग पुगेको उनले बताए ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष बस्यालले भने, ‘कम्पनीले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए प्रविधिमार्फत भ्वाइस सेवा र एडीएसएल, लिज्ड लाइन, टुजी, थ्रीजी, फोरजी-एलटीई, वाइम्याक्स, एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । आव २०७६-७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ ।
त्यस्तै, इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ । जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डीय आधारका रूपमा स्थापित भइसकेको छ भने कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी-एलटीई सेवा विस्तारमा स्रोत÷साधन परिचालन गर्दै आएको छ । कम्पनी विगतमा जस्तै समीक्षा अवधिमा भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सामा अग्रस्थान कायम गर्न सफल भएको छ । कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको तथ्य अवगत गराउन चाहन्छु ।’
अनेकौं चुनौती एवं जोखिमका बाबजुद आव २०७६-७७ मा कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब ९९ करोड र ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उनले सेवाको गुणस्तर स्तरोन्नति, ग्राहकवर्गको अपेक्षा सम्बोधन तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको धारणा राखे ।






