सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ । यसअघि विभिन्न पदमा चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय गरेका आठ जना आकांक्षी व्यवसायीले हाल आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चेम्बरमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन हुने भएको हो ।

यसअघि धेरैपटक नेतृत्व वहन गरेका वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने निणर्य गरेका हुन् । चेम्बरको इतिहासमै व्यवसायीबीच यस्तो सहमति जुटेसँगै अब आगामी नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सम्हाल्ने छन् भने वरिष्ठ उपाध्यक्षको जिम्मेवारी उपाध्यक्ष कमलेशकुमार अग्रवालले सम्हाल्ने सहमति भएको चेम्बर स्रोतले जनाएको छ ।

आगामी नयाँ नेतृत्व चयन गर्नका लागि चेम्बरमा निर्वाचनको प्रक्रिया सुरु भई व्यवसायीबीच यस्तो सहमति भएको चेम्बर निर्वाचन समितिले जनाएको छ ।

चेम्बर निर्वाचन समितिका अनुसार बिहीबार आठ जना आकांक्षी व्यवसायीले सर्वसहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । जसअनुसार चेम्बरको कुल ५५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उनीहरूले नयाँ नेतृत्वको रूपमा मल्ललाई छनोट गर्नेछन् ।

चेम्बरको चुनावी कार्यतालिका अनुसार मनोनयन दर्ता भई बिहीबार अन्तिम नाम प्रकाशन भएको थियो । सोअनुसार आगामी २६ र २७ चैतमा नयाँ नेतृत्वका लागि निर्वाचन तय भएको थियो । सहमति जुटेसँगै निर्वाचन नहुने भएको छ ।

काठमाडौंमा हुने सो निर्वाचन तथा ७०औं वार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चेम्बरले जनाएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल आगामी कार्यकालका लागि नयाँ अध्यक्ष हुने निश्चित भएको चेम्बरमा आबद्ध व्यवसायीले जानकारी गराएका छन् ।

चेम्बरको विधानअनुसार सुरुमा ५५ जना सदस्यका लागि निर्वाचन हुने र सोही निर्वाचनबाट चयन भएका सदस्यले नै आगामी कार्यकालका लागि नयाँ अध्यक्षलगायतका पदाधिकारी चयन गर्ने प्रवधान रहेको छ ।

अब यही प्रावधानअनुरूप चेम्बरको नयाँ अध्यक्ष वर्तमान वरिष्ठ उपाध्यक्ष मल्ललाई नै दिने सहमति भएको चेम्बरका एक व्यवसायीले जानकारी दिए । उनका अनुसार चेम्बरको संघीय संरचनाअनुसार अब चेम्बरमा प्रदेशसहित कुल ६२ जनाको कार्यसमिति हुनेछ । प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम पनि केन्द्रीय कार्यसमितिले नै चयन गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

३० जेष्ठ २०८३