जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीमा वास्तविक जग्गाधनीको नाममा रहेको ११ कठ्ठाभन्दा बढी जग्गा कीर्ते गरी अर्कै व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला, खरिदार राजेशकुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलेदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय तथा जग्गा गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गराउने किशोरी धामी थारू र भोला धामी थारूविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस वडा नम्बर २(ख), हाल बलवा सोकनाहा क्षेत्रअन्तर्गत रहेको कित्ता नम्बर ६२ को ०–११–२ क्षेत्रफल अर्थात् ११ कठ्ठा २ धुर जग्गा कीर्ते गरी अर्कै व्यक्तिका नाममा दर्ता गराइएको थियो । उक्त जग्गा वास्तविक रूपमा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो ।

तर, जग्गामा कुनै हकभोग नै नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा जग्गा रहेको देखाउने गरी सरकारी अभिलेखमा झुट्टा विवरण तयार पारिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

भूमाफिया र मालपोत कार्यालयका कर्मचारीबीचको मिलेमतोमा वास्तविक जग्गाधनीको स्वामित्व समाप्त पार्ने उद्देश्यले मालपोत कार्यालयमा रहेको जग्गाको स्रेस्ता नै हेरफेर गरिएको थियो। वास्तविक तथ्य लुकाएर हुँदै नभएको जग्गाधनी खडा गर्ने, सरकारी अभिलेखमा अनधिकृत रूपमा थपघट गर्ने र गलत विवरणका आधारमा दाखिल खारेज गरी नक्कली जग्गाधनी पुर्जा तयार पार्ने काम भएको अख्तियारको ठहर छ ।

यसरी तयार पारिएको नक्कली कागजातका आधारमा जग्गा अर्को व्यक्तिको नाममा दर्ता गराउने र त्यसको बेचबिखनसमेत गर्ने प्रयास भएको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाबीचको योजनाबद्ध मिलेमतो पुष्टि भएको अख्तियारको दाबी छ । सरकारी अभिलेखको दुरुपयोग गरी आफूहरूलाई गैरकानुनी लाभ पु¥याउने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पु¥याउने बदनियत राखेर काम गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारी कागजात र अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरी गलत विवरणका आधारमा जग्गा दर्ता गराउने कार्यमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै तत्कालीन मालपोत प्रमुख यादव, नायब सुब्बा कोइराला र खरिदार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम सजाय माग गरेको छ ।

त्यस्तै, जग्गा दर्ताका लागि गलत विवरणसहितको सिफारिस उपलब्ध गराउने कार्यमा संलग्न रहेको अभियोगमा तत्कालीन वडा सचिव राम गुलाम रायविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ । सोही वडाका तत्कालीन अध्यक्ष कपिलेदेव चौधरीविरुद्ध भने दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।

अख्तियारले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई मात्रै होइन, कीर्ते प्रक्रियाबाट जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिहरूलाई समेत भ्रष्टाचार कसुरमा जिम्मेवार ठहर गरेको छ ।

किशोरी धामी थारूले गैरकानुनी रूपमा जग्गा आफ्नो नाममा दर्ता गराएको र भोला धामी थारूले उक्त जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने कार्यमा सहयोग गरेको आयोगको निष्कर्ष छ ।

उनीहरू दुवैलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यको मतियार ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह नै कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार सरकारी अभिलेख र प्रशासनिक प्रक्रियाको दुरुपयोग गरी व्यक्तिको निजी सम्पत्ति हडप्ने कार्यमा संलग्न सातैजनालाई कानुनी कारबाहीको दायरामा ल्याउन आरोपपत्र दायर गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा