भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन ।

आगामी २५ चैतदेखि चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट प्राप्त खोप आगामी बुधबारदेखि लगाउने योजना बनाएको हो । चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनका लागि जाने तयारीमा रहेका व्यक्तिहरूलाई खोप लगाइनेछ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘सिनोफार्म’ खोपको ८ लाख डोज गत १६ चैत्रमा काठमाडौं आइपुगेको थियो । औषधि व्यवस्था विभागले सो खोपलाई ४ फागुनमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

– भारतमा दैनिक ९० हजार संक्रमित थपिँदै
– २५ चैतदेखि चिनबाट प्राप्त खोप लगाइँदै
– ७ वैशाखबाट दोस्रो मात्रा लगाउने योजना
– भारतबाट १० लाख मात्रा ‘कोभिसिल्ड’ आउनेमा अन्योल

यसअघि, नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । नेपालले १४ माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई ७ वैशाखदेखि दोस्रो मात्रा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७ लाख ९० हजार १ सय २५ जनालाई पहिलो मात्राको खोप उपलब्ध गराइसकिएको छ । पहिलो खेपमै लगाएकालाई दोस्रो मात्रा ७ वैशाखदेखि दिइने बताइएको छ । यस्तै, नेपाल सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप कहिले आउने भन्नेमा अन्योल कायम रहेको छ ।

देशभर आइतबार थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पीसआिर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ । हाल देशभर ५७ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर संक्रमितमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले संक्रमित संख्या बढ्दै गएपछि स्वयं व्यक्ति सचेत हुनुपर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग र भौतिक दूरी कायमलाई पालना गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी