खाद्यान्नमा परनिर्भरता कम गर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुई वर्षका उपलब्धिहरू सार्वजनिक गर्दैगर्दा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको आँकडा प्रस्तुत गरे पनि यी दुई वर्षमा खाद्यान्नमा नेपालको परनिर्भरता अरू बढ्न गएको छ । सबैभन्दा पहिलो आधारभूत आवश्यकता वा गाँसको स्थिति देशभित्र कस्तो छ भन्ने कुरा नै मिथ्या देखाउन थाल्ने हो भने अन्य कुराको त विश्वास गर्न सकिने आधार नै देखिँदैन । सरकारले प्रस्तुत गर्ने आँकडा यथार्थ र वस्तुवादी हुनुपर्छ । यो झुट्ठा र नौटंकीपूर्ण हुनुहुँदैन । किनकि, जनताले दिनमा न्यूनतम चारपाँचपटक हातमुख जोड्ने र सबैभन्दा परिचित वा जानकार रहने कुराको नै अवास्तविक आँकडा प्रस्तुत गरिएपछि सरकारद्वारा प्रस्तुत अन्य आँकडामा विश्वसनीयता स्वतः रहँदैन । सकारले सिँचाइ सुविधा विस्तार गरेपछि र कृषि मलमा अनुदान दिएपछि कृषक खुसी र उत्साहित भएर कृषिकर्ममा लागे भन्ने भान परेको छ । तर, देशको कुल खाद्यान्न उत्पादन र विगतको उत्पादनको तुलनामा के कति घटी÷बढी हुन गयो, सो ’bout कुनै तुलनात्मक प्रस्तुति रहेन । यसले एकातिर खाद्यान्नमा परनिर्भरता बढ्दै गएको कुरालाई ढाक छोप गर्न खोजेको अनुभूति गरायो भने अर्कोतिर सिँचाइ सुविधा र अनुदान दिएपछि स्वतः उत्पादन वृद्धि भइहाल्यो भन्ने अवस्तुवादी निष्कर्षलाई बल पु¥यायो । तर, कृषि उत्पादनका लागि आवश्यक श्रमशक्ति देशबाट दिनहुँ पलायन भइरहेको तथ्य गुमनाम बनाइनु आफंैलाई गुमराहमा राख्नु बराबर हो । यसले सरकारको प्रस्तुतिलाई पनि फिक्का साबित गरिदियो ।

यो दुई वर्षको अवधिमा वर्षे र हिउँदे खाद्यान्नमा परनिर्भरता घटेन, बरु बढेको छ । सबै मौसममा खाद्यान्न परनिर्भरताले गर्दा चालु आर्थिक वर्षमा चामल, मकै, गहुँ र जौलगायतका खाद्यान्न आयात गर्दा देशको १ खर्ब २३ अर्ब ४५ करोड २ लाख ३९ हजार रकम बाहिरिएको छ । कम्युनिस्टको सरकार छ भनेर मात्र पनि उत्पादन बढ्दैन । हुनसक्छ कम्युनिस्ट उत्पादनमा आत्मनिर्भर हुन चाहन्छन्, यो इच्छा वा चाहनाको कुरा हो । तर, व्यवहारमा उपलब्धि हासिल गर्ने भन्ने कुरा निकै जटिल छ । उत्पादक शक्तिको जबर्जस्ती विकास नगरेर, उत्पादनका साधनमा आधुनिकीकरण नगरेर देशको उत्पादन सम्बन्धमा आमूल परिवर्तन आउँदैन । परिणामतः प्रतिफल पनि हात लाग्दैन र देश आत्मनिर्भर हुन सक्दैन । गाउँगाउँमा कृषि कर्म गर्ने किसान दैनिक अध्यागमनमा ताँती लागेर विदेसिइरहेका बेला कसले खेती गर्ने र उत्पादन बढ्ने ? बरु उत्पादन ह्रास हुँदै गएको छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण नामको सरकारी संयन्त्र निर्माण गरेर मात्र देशको उत्पादनमा बढोत्तरी हुने कुरा पनि होइन ।

अर्को कुरा, पुरानै तरिकाका कृषिकर्ममा कनिका छरेझैं अनुदान वा कहिल्यै पनि पूरा हुन नसक्ने सिक्टा सिँचाइजस्ता चुहिने र पहिरो जाने कुलो वा नहरका कुरा गरेर पनि देशमा अपेक्षित खाद्यान्न उत्पादन हुन सम्भव छैन । सुधार गर्ने वा जनता झुक्याउने यो तरीका पुरानो हो । यसले गर्दा नै देशलाई आजको यो दर्दनाक हालतमा पु¥याएको यथार्थतालाई भुल्न खोज्नुहुँदैन । देशलाई वास्तवमा उँभो लगाउने प्राथमिक कुरा भनेको खाद्यान्नमा आत्मनिर्भता नै हो । खाने कुराको समस्या हल भएपछि मात्र विकास र समृद्धिको कुरा आउँछन् । जुन देशका जनताले खान नै पाउँदैनन् वा अरू देशको भर पर्नुपर्छ त्यो देशका जनताले कति सोच, समय र कर्म विकास निर्माण वा सिर्जनाका काममा दिन सक्षम हुन्छन् होला ? त्यसैले प्राथमिकताका साथ खाद्यान्न परनिर्भरतामा कमी ल्याउने अथक प्रयत्न गर ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी