राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध

तीन दशक लामो कूटनीतिक क्षेत्रको अनुभव सँगालेका विनयमोहन क्वात्राको नेपाल आगमन चासोको विषय बनेको छ । छिमेकी राष्ट्र भारतले नेपालका लागि राजदूतका रूपमा पठाउने निर्णय गरेपछि क्वात्रा चासोमा परेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कुटनीतिज्ञ भएकाले उनको कार्यकालमा नेपालसँग भारतको सम्बन्ध कस्तो रहने हो, उनको स्वभाव कस्तो छ, उनले कस्तो कूटनीतिक क्षमता प्रदर्शन गर्ने हुन् भन्ने विषयमा सामान्य नेपालीदेखि बौद्धिक जगत्मा समेत यति बेला कौतूहलता छाएको छ ।

को हुन् क्वात्रा ? नेपाल आउनु अघि क्वात्रा फ्रान्सका लागि भारतीय राजदूत थिए । लगातार ३२ वर्ष भारतको विदेश सेवामा कार्यरत उनी सन् १९८८ को भारतीय विदेश सेवा आईएफएस ब्याचका अफिसर हुन् । प्रधानमन्त्री मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएको बेला उनले विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । कुशल कार्यक्षमताका कारण उनलाई विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । उनको काम गर्ने शैलीबाट मोदी प्रभावित भएर निजी सचिव बनाउन खोजेका थिए ।

तीक्ष्ण बुद्धिका क्वात्रा विज्ञानमा स्नातकोत्तर गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आईएफएस बनेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी नभए पनि उनी विदेश मन्त्रालयको अधिकृत बने । तर, उक्त विषयको औपचारिक अनौपचारिक अध्ययन छाडेनन् । जेनेभामा पोस्टिङ हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए । बौद्धिक व्यक्तित्व क्वात्राले आफ्नो अध्ययनको विषयभन्दा भिन्न क्षेत्रमा प्रवेश गरेर पनि कार्यक्षमता देखाए ।

क्वात्रासँग भारतको स्थायी प्रतिनिधिका रूपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आईएलओ र डब्लूएचओ जस्ता संयुक्त राष्ट्र संघीय संस्थामा भारतको प्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेका थिए । क्वात्राले विदेश मन्त्रालयमा रहँदा संयुक्त राष्ट्र संघसम्बन्धी डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्मको १० वर्ष राष्ट्र संघसम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा काउन्सलरका रूपमा काम गरे । युरोपमा मात्र नभई उनी चीनमा रहेर काम गरेका क्वात्राले दक्षिण अफ्रिका र उज्वेकस्तिानमा पनि कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् ।

सन् २००६ देखि २०१० सम्म उनको पोस्टिङ काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार ब्युरो प्रमुख भएर काम गरेका क्वात्राले नेपाललाई नजिकबाट बुझ्ने मौका पाएका छन् । त्यसपछि सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रूपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा जिम्मेवारी सम्हालेपछि फ्रान्सका लागि राजदूत भएका उनले भारत–फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पु-याए ।

नेपालमा क्वात्राको भूमिका ः क्वात्रा नेपालमा राजदूतका रूपमा आउँदै गर्दा नेपाल र भारतको सम्बन्ध सुमधुर हुँदै गएको छ । भारतको ‘छिमेक प्रथम नीति’अनुसार मोदी युगमा कनेक्टिभिटीद्वारा दुई देशलाई यातायात सञ्जालले जोड्ने मोदीको गुरुयोजना कार्यान्वयन हुँदै गएका छन् । रेलसेवाबाट दुई देशलाई जोड्ने पूर्वाधार विकासका योजना प्रभावकारी ढंगले अगाडि बढिरहेका छन् । ग्याँस पाइपलाइन निर्माण, वीरगन्ज र विराटनगर गरी दुई स्थानमा संयुक्त चेकपोस्ट निर्माण भइरहेको छ ।

मोदी युगमा दशकौंदेखि अड्किएका जलविद्युत् आयोजनाको कामले गति लिएको छ । नौ सय मेगावाटको अरुण तेस्रो आयोजना धमाधम निर्माण भइरहेको छ । नेपाल र भारत दुवै देशका बैंकले आयोजनामा सहुलियतमा ऋण दिएर लगानी सुनिश्चित गरिसकेका छन् । माथिल्लो कर्णाली आयोजना निर्माणको पहल अगाडि बढ्दै छ । यसबाहेक रोकिएका विभिन्न विकासका परियोजना अगाडि बढेका छन् । नयाँ आयोजना अगाडि बढाउने पहल भइरहेको छ । भर्खरै सेवानिवृत्त भएका पूर्वराजदूत मञ्जिवसिंह पुरीले कूटनीतिक कुशलता देखाएर नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याए । दुई देशबीच आर्थिक सम्बन्ध प्रगाढ र विस्तार गर्नेतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारको भूमिकाले सिंहलाई सफल राजदूत बन्नसके ।

विगतभन्दा सहज भए पनि २१औं शताब्दीको आवश्यकता र दुवै देशको जनताको भावनाअनुसार नेपाल–भारत अघि बढनुपर्ने अवस्था आएको छ । नेपालको अपार प्राकृतिक स्रोत र भारतको प्रविधिमा सामञ्जस्यता भयो भने यो क्षेत्रकै कायापलट हुने देखिन्छ । नेपालको जलविद्युत् स्रोतको उचित सदुपयोगले नेपाल मात्र नभई भारतको कतिपय भाग नै झिलीमिली हुनसक्छ । दुवै पक्ष मनमुटु माझेर अघि बढ्नमा क्वात्राले कूटनीतिक कुशलता देखाउन सक्छन् ।

अपार पर्यटकीय सम्भावना भएको नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, स्वर्गद्वारीलगायतका स्थान एक अर्ब भारतीयका पवित्र तीर्थस्थल हुन् । उनीहरू नेपाल नआई जीवन सार्थक भएको ठान्दैनन् । तर, पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार विकास नहुँदा नेपालले जति लाभ लिनुपर्ने हो, त्यति लिन सकिरहेको छैन । यसका लागि पनि लगानी अपरिहार्य छ । पर्यटन व्यवसायमा भारतको लगानी र पूर्वाधार विकासमा भारतको सहयोग आवश्यक छ । क्वात्राको कार्यकालमा यसतर्फ उपलब्धि हासिल हुनसक्ने आशा गरिएको छ ।

भारतसँग नेपालको सीमा र विगतको सम्झौता कार्यान्वयनका केही समस्या छन् । जसका कारण दुई देशबीच बेलाबेलामा केही अविश्वासको वातावरण बन्ने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि कूटनीतिक तथा राजनीतिक पहलको आवश्यकता छ । यी समस्याको बेलैमा हल नहुँदा दुई देशबीचको सम्बन्ध बिगार्न खोज्नेहरू बेलाबेलामा सलबलाउने गर्दै आएका छन् । भ्रम फैलाउने गरेका छन् । अविश्वास पैदा गर्न खोज्छन् । यसको कूटनीतिक समाधान खोजिनुपर्ने दुवै देशको धारणा रहे पनि कार्यान्वयनमा जान सकिरहेको छैन । क्वात्राको कार्यकालमा यसतर्फ काम अगाडि बढ्नसक्ने सम्भावना रहन्छ ।

महाकाली सन्धिअन्र्तगतको पञ्चेश्वर परियोजना अगाडि बढ्न सकेको छैन । यसमा सहमति बन्न सकेको छैन । भारतीय प्रधानमन्त्री मोदीले यसलाई अगाडि बढाउन चाहेको देखिन्छ । तर, दुवै देशबीच सहमति निस्कन सकेको छैन । गरे नहुने छैन भन्ने अरुण तेस्रो आयोजना निर्माण र माथिल्लो कर्णाली सम्झौताले देखाइसकेको छ । पञ्चेश्वरको काम पनि चाँडै अगाडि बढाउनेतर्फ कूटनीतिक कुशलता क्वात्राबाट देखिने आशा गरिएको छ । यसबाहेक कतिपय जलविद्युत् आयोजनामा भारतीय लगानीको वातावरण बनाउन क्वात्राको भूमिका महत्वपूर्ण हुनसक्छ ।

नेपालमा उद्योग–व्यवसायका क्षेत्रमा लगानी बढाएर भारतले लाभ लिन सक्छ । यसले नेपालको स्रोतको उचित सदुपयोग भई रोजगारी बढीभन्दा बढी सिर्जना हुन्छ । यसबाट पनि नेपाल र भारत दुवैलाई लाभ पुग्छ । लाखौं रोजगारी सिर्जना हुने सामग्री उत्पादन गर्न नेपालसँग कच्चापदार्थ पर्याप्त छ । यसमा भारतले आर्थिक र प्राविधिक लगानी गर्न सक्छ ।

भारतीय उद्योगीलाई लगानीका लागि नेपालमा आकर्षित गराउनेतर्फ भारतीय पक्षले पनि भूमिका खेल्न सक्छ । यसबाट भारतले चाहेको जस्तै नेपालको आर्थिक समृद्धि हासिल हुनसक्छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘भिडियो–कन्फ्रेन्स’ मा ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा आफ्नो सधैं सहयोग र साथ रहने बताएका छन् । उनले विश्वास गरेका राजदूत क्वात्राले नेपालको समृद्धिको यात्रामा महत्वपूर्ण भूमिका निभाउन सक्छन् । यसबाट नेपाल र भारतको ऐतिहासिक सम्बन्धले अझ उचाइ हासिल गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी