काठमाडौ । सरकारले काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा एकनारायण अर्याललाई पठाएको छ । हाल रहेका सहसचिव मध्ये वरिष्ठमा एक नम्वरमा रहेका अर्याललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै काठमाडौ महानगरपालिकाको प्रशासकिय प्रमुखको जिम्मेवारी दिएको हो ।
अर्याल हाल कोलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत थिए । कुशल प्रशासकको छवि बनाएका अर्यालले काठमाडौको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहँदा थुप्रै सुधारका कार्यहरुको थालनी गरेका थिए । काठमाडौ महानगरपालिकामा अर्याललको प्रशासनिक नेतृत्व सँगै थप सुधारको अपेक्षा गरिएको छ ।
यसैगरि मन्त्रिपरिषद् बैठकले अर्का वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गर्दै अर्थ मन्त्रलायको राजस्व सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरि बैठकले अन्य विभिन्न ६ जना सचिवको सरुवा समेत गरेको छ । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने महिला मन्त्रालयका चन्द्र कुमार घिमिरेलाई उद्योग मन्त्रालयमा लगिएको छ ।
को कहाँ ?
१. एकनारायण अर्याल : काठमाडौं महानगरपालिका (बढुवा, पदस्थापन)
२. रामशरण पुडासैनी : कामु सचिव (अर्थ मन्त्रालय राजस्व)
३. यादवप्रसाद कोइराला : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
४. सूर्यप्रसाद गौतम :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
५. केदार न्यौपाने : भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
६. खगराज बराल : उपराष्ट्रपति कार्यालय
७.यामकुमार खतिवडा : महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय
८.चन्द्र कुमार घिमिरे : उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय






