कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक रोजगारमा गएका युवाहरू कृषि उत्पादन कार्यमा संलग्न हुन थालेका छन् । यसले उत्पादनको मात्रामा धेरै वृद्धि ल्याउने देखिएको छ । जसले गर्दा सकारात्मक परिणाम आउने विश्वास गर्न सकिन्छ भने यसलाई सन्तोषजनक रूपमा हेर्न सकिन्छ ।
विश्व बैंकले हालभन्दा १२ गुणा बढी निर्यात हुन सक्ने उल्लेख गरेपछि यो सोचेकोभन्दा बढी रहेको अनुमान लगाएको भनी केही आलोचनात्मक रूपमा पनि लिन थालिएको छ । तथापि नेपालमा उत्पादन बढ्नेमा भने सबैको अनुमान एक ठाउँमा छ । नेपाल आजभन्दा दुई दशकअघिसम्म कृषि उत्पादन र त्यसमा पनि खाद्यान्न निर्यातकर्ता देशका रूपमा रहेको थियो । यसले दक्षिण एसियाली देशमा पर्याप्त खाद्यान्न निर्यात गरिरहेको थियो । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि नेपालको कृषि तथा औद्योगिक निर्यातमा कमी आउँदै गएको हो । पछिल्लो समयमा कोरोना महामारीका कारण हुँदै आएको आर्थिक संकुचन देशभित्र कोभिड महामारीसँगै नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको र वैदेशिक रोजगारमा रहेका युवा घर फर्कने र कृषि तथा औद्योगिक उत्पादनमा उनीहरूको लगावका कारण यो सम्भावना बढ्दै गएको हो ।
पछिल्लो समय मनसुनमा आएको अनुकूलताले कृषि उत्पादनसमेत राम्रो असर ल्याउने देखिएको छ । विश्व बैंकको अनुमानअनुसार नेपालको उपयोग गर्न सक्ने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब रुपैयाँ बराबर रहेको छ । यो पहिलेको भन्दा १२ गुणाले बढी हो । कोभिड–१९ पछिको पर्यटन बजारसँग सामन्जस्य हुनेगरी सुधार गर्नका लागि नेपाल सरकार पनि निकै लागि पर्नुपर्छ । यसका लागि निर्यातकर्ताको क्षमता अभिवृद्धि, आधुनिकीकरण, निर्यात लागत न्यूनीकरण, निर्यात हुने वस्तुको गुणस्तर नियन्त्रण आदि आवश्यकतामा नेपालले ध्यान दिनुपर्ने कुरा हुन् । यसका लागि विश्वव्यापी मूल्य शृंखलामा जोड्न ‘डिजिटल’ व्यापार र ई–कमर्सलाई बढावा दिनुपर्ने देखिन्छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता घाटा घट्न गई कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १.२ प्रतिशत पुग्ने पूर्वानुमान पनि रहेको छ । यससँगै राजस्व संकलन लक्ष्यअनुसार गर्न÷गराउन ध्यान दिनुपर्ने देखिएको छ । तर, यति बेला बढ्न सक्ने नेपालको सार्वजनिक ऋणका ’boutमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ ।
नेपाल अल्पविकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने चरणमा छ । यसका लागि नेपाल र नेपालीसँग जम्मा पाँच वर्षको समय छ । यति छोटो अवधिमा यसले सफलताको यो उचाइ चुम्नुपर्ने भएको छ । यसका लागि आर्थिक उन्नति नै नेपाली सफलताको एक मात्र बाटो रहेको छ । अन्य सूचकांकमा नेपालको स्कोर राम्रो रहेको छ । कोभिड प्रभावित कृषि तथा उद्योगको पुनरुत्थानका लागि सरकारले बजेट ल्याउने भनेपछि सायद यो लक्ष्यमा चुम्नका लागि आधार खडा गर्दै जान सकिने देखिन्छ ।






