काठमाडौं । साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५७२ दशमलव २१ बिन्दुमा आइपुगेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै भएपछि सेयर बजारका लगानीकर्ता प्यानिक सेलको स्थितिमा देखिएका छन् । कोरोना त्रासका साथमा लकडाउनको आशंकाले सर्वसाधारण लगानीकर्ता निरुत्साहित भएका छन् ।
एकै दिन ७५ अंकले घट्यो नेप्से सूचक
तर, कोरोनाकै कारण त्रसित हुँदा थप नोक्सान बेहोर्नुपर्ने पनि हुन सक्छ । कोरोना संक्रमण फैलिने त्रासकै कारण आमलगानीकर्ताले विवेक गुमाउनु नपर्ने जानकारले बताएका छन् । गत वर्षको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणकैबीचमा सेयर बजारले नयाँ उचाइ बनाएको थियो ।
आइतबार २ सय १५ वटा कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँबराबरको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूह घटेका छन् । सरकारले होटेल व्यवसाय आगामी एक महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेसँगै आइतबार सबैभन्दा धेरै होटेल समूहको सूचक नै घटेको छ । यो उपसमूह ६ दशमलव १४ प्रतिशतले घटेको हो ।
सूचकमा भारी गिरावट आउँदा महिला लघुवित्त र विशाल बजार कम्पनीको सेयर मूल्य भने झन्डै १० प्रतिशतले बढेको छ भने चन्द्रागिरि हिल्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा धेरै घटेको छ ।
यस दिन नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वाधिक ३९ करोड ५२ लाखबराबरको सेयर कारोबार भएको छ भने ज्योति लाइफको ३३ करोड ८५ लाख, अपर तामाकोसीको २५ करोड ९७ लाख, नबिल बैंकको २० करोड ९७ लाख र एनआईसी एसिया बैंकको २० करोड ५६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ५६ अंकले घटेर ४ सय ६४ दशमलव शून्य ५ बिन्दुमा आइपुगेको छ ।






