तुलसीपुर । एक करोड हिनामिना गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वजन बहुउद्देश्यीय सहकारी संस्थाकी संचालक तथा प्रमुख श्रृङ्गार शाह रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
सहकारीका एक हजार बढी सदस्यहरुले जम्मा गरेको करिब एक करोड रुपैयाँ हिनामिना गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए । तुलसीपुरको बिपीचोक नजिकै रहेको सहकारी संस्था काठमाण्डौमा रहेको सहकारी संस्थाको शाखा रहेको र यहाँ जम्मा भएको रकम काठमाडौ नै पठाएकाले भुक्तानी हुन ढिला भएकाकारण आफुमाथि हिनामिना गरेको आरोप लागेको आरोपितलाई उदृत गर्दै डिएसी सिंहले बताए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार दिउँसो शाहलाई नियन्त्रणमा लिएको हो । सोमबार दिनभर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा कुरा नटुङ्गीएपछि सदस्यहरुले मंगलबार लिखित रुपमा जाहेरी दिएपछि कानुनी प्रकृया अनुसार अघि बढ्ने प्रहरीले बताएको छ ।
‘मैले छोरीको नाममा दैनिक एक हजार÷ पन्ध्रसय बुझाउँदै आएको एक बर्ष भयो । अब बिमा गराईदिनु प-यो भनेर माग्न जाँदा भोलि पर्सी भन्दै झुलाउन थालेको ३ महिना भयो । तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दीर निबासी पोषण वलीले भन्नुभयो –‘चाहिएको बेला लग्नुहोला भनेर दैनिक बचत गरेको पैसा नदिएपछि ठग रहेछ भन्ने कुरा पत्ता लाग्यो ।’
अफठेरो परेको बेला झिकेर काम चलाउन सकिएला भनेर दैनिक पैसा जम्मा गरेका बचत कर्ताले चाहिएको बेला पैसा नपाएपछि कारबाहीको माग गर्दै सहकारीको कार्यालयमा तालाबन्दी समेत गरिदिएका छन् । दैनिक बचत गर्नेको संख्या दुई हजार बढी रहेको सदस्यहरुले दाबी गरेका छन् ।






