काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आह्वान गरेको चार्जिङ स्टेसन निर्माणको ग्लोबल टेन्डरमा कोरोनाको प्रभाव देखिएको छ । ५० वटा चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले आह्वान गरेको टेन्डरको समयावधि करिब एक महिना थप गरिएको छ ।
देशव्यापी रूपमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्न गत ११ माघमा ४५ दिनभित्र आवेदन दिनुपर्ने गरी ग्लोबल टेन्टर आह्वान गरेको थियो । प्राधिकरणले तोकेको समयसीमा सकिन लाग्दा समेत टेन्डर नआएपछि समय थप गरेर १४ चैत (२७ मार्च)सम्म पु¥याइएको हो ।
विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय गतिविधि सिर्जना नभएको कारण टेन्डर प्रक्रियामा असर परेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले भने, ‘कोरोना भाइरसका कारण विश्वव्यापी रूपमै मुमेन्ट कम भएको छ, जसका कारण चार्जिङ स्टेसन निमार्णका लागि आह्वान गरेको समय सकिन लाग्दा पनि कुनै कम्पनीले बोलपत्र पेस गरेका छैनन् ।’
अर्कोतर्फ हामीले नेपालका लागि छुट्टै विशिष्टताका आधारमा सामानको डिजाइन गर्नुपर्ने सर्त राखेका कारण त्यसका लागि बढी समय चाहिएको भन्दै कम्पनीले नै समय थप गर्न अनुरोध गरेकाले समयावधि लब्बिएको हो ।
प्राधिकरणले निमार्ण गर्न लागेको चार्जिङ स्टेसन सातवटै प्रदेशमा पाँच-पाँच वटा, काठमाडौं । उपत्यकामा १० वटा र पोखरा, नेपालगन्ज, विराटनगरलगायतका ठूला सहरमा माग बढी भए सम्बोधन गर्न सक्नेगरि पाँचवटा चार्जिङ स्टेसन रहेको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।
चार्जिङ स्टेसन निर्माण गर्न भ्याटसहित ६३ करोड लागत अनुमान गरेको छ । उपकरणको किसिम र क्वालिटीलाई विशेष प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । यी चार्जिङ स्टेसन एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आबद्ध गरिने भएको छ । सबैलाई कन्ट्रोल रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिनेगरी स्टेसन निर्माण हुने चार्जिङ स्टेसनको सफ्टवेयरलाई मोबाइल एपसँग कनेक्ट गरिने प्राधिकरणले जनाएको छ ।
अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक–फरक पोर्टमा लाग्ने खालका तीनवटा चार्जर हुनेछन् । जसबाट एकैपटक तीनवटा गाडी चार्ज गर्न मिल्नेछ । एक चार्जिङ स्टेसनको क्षमता १४२ किलोवाटको हुनेछ, जसमा ५० वटा चार्जिङ स्टेसनले ७ हजार १ सय किलोवाट अर्थात् ७ दशमलव १ मेगावाट विद्युत् खपत गर्ने प्राधिकरणले जनाएको छ ।
आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको चार्जिङ स्टेसनमा सबै खाले विद्युतीय यातायात चार्ज गर्न सकिनेछ । एक घण्टामा फुल चार्ज गर्न सकिनेगरी डिसी बुस्ट चार्जिङ राख्न लागिएको हो । एकपटक फुल चार्ज भएपछि ३ सय किलोमिटरसम्म सवारी गुड्न सक्नेगरी स्टेसन निर्माण गर्न लागिएको छ । हाल काठमाडौंमा ६ देखि ७ सय वटा विद्युतीय सवारीसाधन रहेको अनुमान छ । यी सवारीसाधन निजी क्षेत्रबाट सञ्चालनमा रहेका कारण घरमै निकै समय लगाएर चार्ज गरेर चलाइन्छ ।
चालू आवको अन्त्यसम्म एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य लिएको प्राधिकरणले जलविद्युत् आयोजना निर्माणपछि बिजुली बढी हुने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिएको हो ।
अर्कोतर्फ विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थ आयातमा मुलुकलाई ठूलो राहत मिल्ने प्राधिकरणको दाबी छ ।






