आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह रूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले २२ वैशाख मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हाल, अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई भने अनुमति दिने भएको छ । उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि हवाई उडान बन्द गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उसको सिफारिसअनुसार मन्त्रिपरिषद्ले हवाई उडान बन्द गरेको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बैठकले यसअधि १६ वैशाखदेखि साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले सो निर्णय अनुमोदन गर्दै थप एक साता बढाएर १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

सीसीएमसीले पहाडी जिल्लामा २ सय र सहरी जिल्लामा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउने जिम्मा सीडीओलाई सुम्पिएको थियो । उपत्यकामा हाल निजी तथा सार्वजनिक यातायात र खाद्यान्नलगायत अत्यावश्यकबाहेकका पसलसमेत बन्द छन् ।

तपाइको प्रतिक्रिया
(Visited 595 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन