युभेन्टसका रोनाल्डोको अर्का कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सासुओलोलाई ३–१ ले पराजि गरेको छ । रोनाल्डोले सासुलोविरुद्ध एक गोल गर्दै युभेन्टसका लागि १ सय गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यो उपलब्धि हासिल गर्न सबैभन्दा कम खेल खेलेका हुन् । उनले १ सय गोल पूरा गर्न युभेन्टसको जर्सीमा १ सय ३१ खेल खेले । उनी तीन सिजनभन्दा कम समयमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी समेत बने ।

यसअघि युभेन्टसबाट १ सय गोल पूरा गर्न ओमार सिभोरी र रोबर्टो बाजियोले ५ सिजन लगाएका थिए । सन् २०१८–१९ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट आएका रोनाल्डोले तेस्रो सिजनमा नै यो उपाधि हासिल गरेका हुन् । यससँगै रोनाल्डो तीन फरक क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि पनि १ सय गोलको आँकडा पार गरिसकेका छन् । रोनाल्डोसँगै अर्जेन्टिनी स्टार पाउलो डिबालाले पनि सासुओलोविरुद्ध नै क्लबका लागि १ सय गोल पूरा गरेका छन् । उनी क्लबका लागि यो उपलब्धि हासिल गर्ने युरोपबाहिरका पहिलो खेलाडी पनि हुन् ।

युभेन्टसको जितमा एड्रिएन राबिओट, रोनाल्डो र पाउलो डिवालाले गोल गरे । जितका बाबजुद युभेन्टस अंक तालिकाको पाँचौं स्थानमा नै कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ । च्याम्पियन्स लिगको दौडमा रहेका अन्य क्लबले पनि जित हासिल गर्दा युभेन्टसले माथि उक्लन सकेन । एटलान्टा र एसी मिलानको समान ७५–७५ अंक तथा नेपोलीको ७३ अंक रहेको छ ।

रेबिचको ह्याट्रिक
एन्टी रेबिचले दोस्रो हाफमा १२ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’मा घरेलु टोली टोरिनोमाथि ७–० को फराकिलो जित दर्ता गरेको छ । टोरिनोमा बुधबार राति भएको खेलमा मिलानको फराकिलो जितमा थियो हर्नान्डेजले दुई तथा फ्रान्क केसी र ब्राहिम डियाजले समान एक गोल गरे । जितपछि मिलान ३६ खेलबाट ७५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा टोरिनो ३५ अंक जोडेर १६औं स्थानमा रहेको छ । समान ७५ अंक रहे पनि एटलान्टा गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ ।

यस्तै यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनिसकेको इन्टर मिलानले रोमामाथि ३–१ को सहज जित दर्ता गरेको छ । मिलानो इटालीमा बुधबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, माटियस भिसिनो र रोमेलु लुकाकुले गोल गरे । रोमाका हेनरिक मिख्टरयानले एक गोल फर्काए । जितपछि इन्टरको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित रोमा ५८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

जुत्ता उत्पादक व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह