तेल पेल्न अमेरिका र इन्डोनेसियादेखि भटमास ल्याइँदै
काठमाडौंं । अहिले नेपालबाट निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ । हाल यसरी पहिलो सूचीमा रहेको भटमासको तेलको निर्यात बढेर करिब २९ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको बितेका नौ महिना अर्थात चैतसम्मको तथ्यांकअनुसार भटमासको तेल निर्यात २८ अर्ब ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट भटमासको तेल निर्यात ७ अर्ब ८२ करोड रुपैयाँको मात्रै थियो ।
हाल नेपालबाट निर्यात हुने विभिन्न वस्तुको तुलनामा मुख्य हिस्सा भटमास तेलको नै रहेको छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये समग्र अन्य वस्तुको हिस्सा ७० प्रतिशत छ भने भटमास तेलको मात्रै हिस्सा ३० प्रतिशत छ । यो तेल अघिल्ला वर्षमा पनि अन्य वस्तुको तुलनामा धेरै नै निर्यात हुने गरेको थियो ।
आर्थिक वर्ष २०७५-७६ को एक वर्षमा भटमास तेलको निर्यात २३ अर्ब ४६ करोड रुपैयाँ थियो । गत वर्ष भने कोरोना महामारीका कारण यस्तो तेलको आयात जम्मा १२ अर्ब ६९ करोडमा सीमित भएको थियो । चालू आवमा भने बितेका नौ महिनामै २८ अर्ब ८१ करोड रुपैयाँ नाघेकाले बाँकी तीन महिनामा यसको निर्यात अझै बढ्ने अनुमान गरिएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले नेपालमा भटमास उत्पादन भएर भटमासको तेल निर्यात नभएको बताए । नेपालमा उत्पादन हुने भटमासबाट तेल उत्पादनमा कुनै हिस्सा रहेको देखिँदैन । बरु भटमास नै बाहिरबाट आयात गर्न पाइने र तेल बनाएर निर्यात गर्न पाइने भएकाले अन्य मुलुकबाट भटमासको कच्चा तेलसँगै भटमास पनि आउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
सिंगापुर, अमेरिकालगायतका देशबाट भटमास र कच्चा तेल आउँछ । चालू आवको चैतसम्मा ३१ अर्ब ८१ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको थियो । यसैलाई नेपालमा प्रशोधन गर्ने र केही मात्रा प्रयोग गरेर अरू निर्यात हुने गरेको छ
विभागका अनुसार नेपालले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर कम्तीमा ३० प्रतिशत भ्यालु एड अर्थात् थप मूल्यमा योगदान गरेर मात्रै भारतमा तेल निकासी गर्छ । नेपालबाट बाहिर जाने तेल निकासी भनेको भारतीय बजारमा नै हो । नेपालबाट हुने तेल आयात भारतले सहुलियत दिएको र नेपालले पनि निकासी गर्न छुट दिएकाले भटमासको तेल सजिलै निर्यात हुने गरेको छ ।
हाल नेपालमा आएको भटमासको तेल र भटमासबाट भ्यालु एड नभए निकासी सुविधा नपाउने र भारतले पनि सहजीकरण गरेकाले भटमास तेलको निकासी अन्यको भन्दा उल्लेख्य मात्रामा बढेको हो ।
हाल नेपालमा इन्डोनेसिया, मलेसिया, सिंगापुर, अमेरिकालगायतका देशबाट भटमास र कच्चा तेल आउँछ । चालू आर्थिक वर्षको चैतसम्ममा नेपालमा ३१ अर्ब ८१ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको थियो । यसैलाई नेपालमा प्रशोधन गर्ने र केही मात्रा प्रयोग गरेर अरू निर्यात हुने गरेको छ । नेपालमा तोरी र सूर्यमुखी तेलकै बढी प्रयोग हुने र तुलनात्मक रूपमा भटमासको तेल कम प्रयोग हुने गरेको विभागले जनाएको छ ।
नेपालबाट हुने निर्यात चैतसम्ममा ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले निर्यात बढेको हो । अघिल्लो वर्ष चैतसम्ममा ९४ अर्ब ७० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । नेपालबाट निर्यात हुने अन्य वस्तुमा ५ अर्ब ६१ करोडको अलैंची रहेको छ ।
अलैंची नेपालबाट निर्यात हुने दोस्रो ठूलो निर्यातजन्य वस्तु हो । हाल यसको मूल्य पनि दोस्रो ठूलो नै रहेको छ । त्यसपछि नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा ऊनका गलैंचा, धागो, जुटबाट बनेका सामानहरू, जुस, तयारी कपडा, पस्मिना, पिना, जडीबुटी, आयुर्वेदिक औषधि, चाउचाउ, मन्जनसहितका सामान रहेको विभागको तथ्यांकमा उल्लेख छ ।






