रोम । प्रशिक्षक रोबर्टाे मान्सिनीले इटालीसँगको सम्झौता नवीकरण गरेका छन् । मुख्य प्रशिक्षक मान्सिनीले थप चार वर्षका लागि सम्झौता नवीकरण गरेको हो । यससँगै ५६ वर्षीय प्रशिक्षक मान्सिनी सन् २०२६ को विश्वकपसम्म इटालीको मुख्य प्रशिक्षक रहनेछ । मान्सिनीको सम्झौता २०२२ को विश्वकपसम्म रहेको थियो । तर, उनले आफ्नो सम्झौता अवधि बाँकी छँदै थप चार वर्षको सम्झौता गरेको हो ।
‘हामी हाम्रो कदमा उहाँलाई निरन्तरता दिन चहान्छौं । ट्रफी जित्ने योजना छ ।’ इटालियन फुटबल महासंघका अध्यक्ष गेब्रिएल ग्राभिनाले भने, ‘मान्सिनीले दुई वर्षदेखि राम्रो गरिरहेका छन् । यस परियोजनामा अगाडि बढ्नु भनेको संघ र हाम्रा प्रशंसको सम्मानका कर्तव्य हो । हामीले एउटा महŒवपूर्ण छनोट गरेका थियौं ।’ मान्सिनी सन् २०१८ को विश्वकपपछि इटालीको मुख्य प्रशिक्षक बनेका थिए । इटाली विश्वकप २०१८ मा छनोट हुन असफल भएको थियो । उनको प्रशिक्षणमा इटालीले २८ खेल खेल्दा १९ जित हात पारेको छ । २ खेल बराबरी खेल्दा ७ खेलमा हार बेहोरेको छ । उनकै प्रशिक्षणमा इटाली युरोपियन च्याम्पियनसिपको सबै १० खेलमा जित निकाल्दै कीर्तिमानसहित युरोकपमा छनोट भएको थियो ।
मान्सिनीले २०१९ मा लगातार ११ जितको कीर्तिमान राख्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पु¥याएका थिए । सेमिफाइनलमा इटालीले आगामी अक्टोबरमा स्पेनसँग खेल्दै छ । ‘म धेरै खुसी छु ।’ मान्सिनीले भने, ‘हामी हाम्रो काममा लक्षित छौं । आफ्नो मनपर्ने टोलीमै हुनुले सन्तुष्टि प्रदान गर्छ । म भविष्यका लागि आशावादी छु । यो एक वर्षको अवधिमा हामीसँग युरोकप, नेसन्स लिगको अन्तिम चरण र विश्वकप हुनेछ । यो लक्ष्य हासिल गर्न सक्षम हुन त्यति सहज छैन र केही भाग्य पनि चाहिन्छ ।’ इटालीकै पूर्व फरवार्डसमेत रहेका अनुभवी प्रशिक्षमा मान्सिनीले फियोरेन्टिना, लाजियो, इन्टर मिलान (दुईपटक), म्यानचेस्टर सिटी, गालाटासारे र जेनिथ सेन्ट पिटर्सवर्गलाई प्रशिक्षण दिइसकेका छन् ।






