म्युजिक भिडियोमै उमेशको व्यस्तता

काठमाडौं । काठमाडौं उपत्यकालगायतका थुप्रै जिल्लामा तीन साता बढी समयदेखि निषेधाज्ञा जारी छ । जसका कारण सबै घरमा बस्न बाध्य छन् । लकडाउनमा पनि नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम रोकिएको छैन ।

यस्तै, गत साता मात्र निर्देशक उमेश गुरुङले आफ्नो निर्देशनमा गायक प्रमोद खरेलको गीत परदेशी…को भिडियो सार्वजनिक गरे । लकडाउन हुनुअघि उनले पाँचवटा म्युजिक भिडियोको छायांकन सम्पन्न गरेका थिए । यतिबेला आफू गणेश गुरुङ र दुर्गाा गुरुङको स्वरमा रहेको कौडा गीतको भिडियो सम्पादनको अन्तिम चरणमा व्यस्त रहेको यी निर्देशकले बताए ।

उमेशको निर्देशनमा यो निषेधाज्ञामै तीनवटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । दुई साताअघि उनकै निर्देशनमा रामदीको दोभान.. गीतको भिडियो रिलिज भएको थियो । सुनिता बुढाक्षत्री र यज्ञजंग शाहको स्वरमा रहेको यो गीतको भिडियोलाई पनि रुचाइएको छ । उनले गत वैशाखको दोस्रो साता निषेधाज्ञा जारी भएको चार दिनभित्रै बिरु गुरुङ र भीमकला गुरुङको स्वरमा नयाँ गीत लाहुरेको जिन्दगी…को भिडियो सार्वजनिक गरेका थिए । यसरी यो तीन सातामा यी निर्देशकले आफ्नो निर्देशनमा तीनवटा म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् ।

अब दुई साताका लागि दुईवटा भिडियो रिलिज गर्न बाँकी रहेको उमेशको भनाइ छ । कौडा गीत रिलिजपछि अर्को साता मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज गर्ने उनले बताए । छायांकनका लागि आधा दर्जन गीतको स्क्रिप्ट तयार गरेर बसेका उनी निषेधाज्ञा कहिले खुला र म्युजिक भिडियोको छायांकनमा रमाउँला भन्ने कुरामा प्रतीक्षारत छन् ।

उमेश गुरुङ नेपालमा व्यस्त म्युजिक भिडियो निर्देशनमा पर्छन् । नृत्य कलाकारका रूपमा दुई दशकअघि यो क्षेत्रमा भित्रिएका उनले डेढ दशकअघिबाट म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन् । त्यसबेलादेखि हालसम्म निरन्तर उनी भिडियो निर्देशनमा छन् । एक दशकअघि मासिक २५ वटासम्म म्युजिक भिडियो निर्देशन गरेका उनी लकडाउन सुरु भए यता केही महिना घरमा बस्नु पर्दा निकै तनाव भएको बताउँछन् । पछिल्लो समय मासिक सात÷आठवटा म्युजिक भिडियो निर्देशन गरेका उमेश कोरोनाले चलचित्र क्षेत्रजस्तो गीतसंगीत र भिडियो क्षेत्रलाई असर नपारेको बताउँछन् ।

उनी आफैं भिडियोको निर्देशनसँगै नृत्य निर्देशन पनि गर्छन् । उनले नृत्य कलाकार, सम्पादक, छायाकारदेखि पुरै टिम नै आफ्नो बनाएका छन् । अहिले बन्दका कारण नृत्य कलाकार र प्राविधिक भने आर्थिक संकटमा पर्न थालेको उनले बताए । उनीहरूलाई आफूले नै सहयोग गर्नुपरेको पनि उमेशको भनाइ छ ।

करिब वर्ष दयाराम दाहालसहित विभिन्न निर्देशकको सहायक निर्देशक भएर काम गरेपछि डेढ दशकअघि उमेशले विष्णु माझीको स्वरमा रहेको गीत तिमीबिना एक्लै…को भिडियोमार्फत निर्देशनमा हात हालेका थिए । झरना थापाले अभिनय गरेको यो गीत र भिडियो हिट भएपछि उनी पूर्णरूपमा म्युजिक भिडियोमै केन्द्रित भए । यो डेढ दशकमा उनले करिब १५ सयवटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

आफ्नै टिम भएका कारण उमेश गुरुङले कुनै पनि गीतको भिडियो निर्माणको सम्पूर्ण जिम्मेवारीसहित निश्चित पैसामा निर्देशन तथा निर्माणको जिम्मा लिँदा रहेछन् । कम्तीमा १ लाखदेखि बढीमा ८ लाख रुपैयाँसम्मको म्युजिक भिडियो आफूले निर्माण निर्देशन गरिरहेको उनले बताए ।

उमेश गुरुङले निर्देशन सफल भएका म्युजिक भिडियोहरूमा थानेश्वर गौतम र अबुन पान्डेको स्वरमा रहेको स्याङजा गएँ पाल्पा गएँ…, टीका पुन र मौसम गुरुङको स्वरमा रहेको हजार जुनी जुनी…, पूर्णकला बिसी र मौसम गुरुङको स्वरमा रहेको ठूलो मान्छे…, सुलिन गिरीको स्वरमा रहेको पिपलु हौ तिमी…, दसैं आयो…, मिनल गुरुङ र भिमु गुरुङको स्वरमा रहेको रोदी घर…जस्ता कैयौं भिडियो रहेका छन् । उनले भाषाभाषी गीतको पनि त्यतिकै भिडियो बनाएका छन् । उमेशको निर्देशनमा तयार भएको तामाङ भाषाको आनीको छोरी…, लोछार हाम्रो चिनारी…जस्ता गीतको भिडियोलाई युट्युबमा १० लाखपटक बढी हेरिएको छ ।

मंगलजीत तामाङ र शशिकला मोक्तान, राजेशपायल राई, प्रमोद खरेल, स्वरूपराज आचार्य, अञ्जु पन्त, मेलिना राई, विष्णु माझी, डम्बर नेपाली, सुनिल गिरी, एकनारायण भण्डारीसहित नयाँ पुस्ताका कैयौं गायकगायिकाको गीतको भिडियो उमेशले निर्देशन गरिसकेका छन् ।

नेपाली चलचित्रका अघिल्लो पुस्ताका अभिनेता शिव श्रेष्ठदेखि पुष्पा खडकासम्म, अभिनेत्री सिर्जना बस्नेतदेखि नीता ढुंगाना, शिल्पा पोखरेल हुँदै एलिसा राईसम्म थुप्रै कलाकारलाई उनले आफ्नो भिडियोमा नचाइसकेका छन् । चलचित्र जेसुकै होस्को निर्देशनसमेत गरेका उमेश अहिलेको परिस्थिति केही सहज होस् भन्ने प्रतीक्षामा छन् । त्यसपछि भिडियोमा निरन्तर लाग्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा