सुदूरपश्चिममा कोभिडका बिरामीलाई आवश्यक पर्ने औषधि अभाव

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिडबाट संक्रमित भएका लागि आवश्यक पर्ने औषधिको अभाव भएको छ । कोभिडका बिरामीलाई अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले रगतमा संक्रमण र निमोनिया हुनबाट बचाउने भएपनि यी औषधिको सहजरुपमा पाउन मुस्किल हुनेगरेको छ । यो सँगै भिटामिन सी, जिङ्क, डेक्सामेथासोन र रेम्डेसिभिर जस्ता औषधिको पनि अभाव हुन लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

औषधि व्यवसायी संघ कैलालीले पनि कोभिडको उपचारमा प्रयोग हुने औषधिको अभाव हुन थालेकोले प्रशासनले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

अक्सिजन आपूर्तिमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेशमा कोभिड उपचारमा प्रयोग हुने औषधिको समेत सहज आपूर्ति हुँदैन कि भन्ने चिन्ता गरिन थालिएको हो । सुदूरपश्चिम प्रदेशमा कोभिडका उपचार गर्नुपर्ने बिरामी बढेसँगै अक्सिजनका अतिरिक्त आईसीयू र एचडीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या समेत बढेको छ । तर आईसीयू र एचडीयूमा रहेका बिरामीका लागि चलाउनुपर्ने औषधि भने बजारमा सजिलै उपलब्ध नहुँदा समस्या हुन थालेको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबिन्द रोकायाले बताए ।

‘आईसीयू र एचडीयूमा रहेका विरामीलाई दिनुपर्ने औषधिको अभाव देखिएको छ। बजारमा रेम्डेसिभिर, मेरोपेनम, लिभोफ्लोक्सासिन र हेपारिन जस्ता औषधिको अभाव देखिएको छ । संक्रमण हुनबाट बचाउने र निमोनिया हुन नदिन प्रयोग गरिने यी हौषधि पाउन निकै मुस्किल हुन थालेको छ,’ डाक्टर रोकायाले भने ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि कोभिडको उपचारमा प्रयोग हुने औषधि सजिलै पाउन मुस्किल हुन थालेको छ । केहि दिनदेखि औषधिको केहि अभाव भएजस्तो महसुस हुन थालेको भनाइ धनगढीको कैलाली अस्पतालका कन्सल्टेन्ट फिजिसियन डक्टर अनिल ढकालको छ ।

सुदूरपश्चिममा केही औषधिको अभाव रहेकको भनाइ औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष जनकराज जोशीले बताए । सर्वसाधारणले बिरामी भइ पो हालिन्छ कि भनेर औषधि खरिद गरेर घरमा थन्क्याउँदा समस्या भएको जोशीको दाबी छ ।
‘स्थानीय प्रशासनले बजार अनुगमन गरेर चिकित्सकको सिफारिस बिना कोभिडमा प्रयोग हुने औषधिको बिक्री वितरणमा रोक लगाउनु पर्छ। अहिले विशेषज्ञ डक्टरको निगरानीमा दिनुपर्ने औषधिको पनि अभाव देखिएको छ। यो कुरा रोक्न स्थानीय प्रशासनले अनुगमन गर्न जरुरी छ ।’

अक्सिजनको अभाव कम गर्न सरकारी र जनस्तरबाट धमाधम काम हुन्छ कि भन्ने आशा पलाएको बेला कोभिडका सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने औषधिको अभाव हुन थालेको हो। यो अवस्थमा औषधिको अभाव हुन नदिन स्थानीय प्रशासनले बजार अनुगमन गर्नु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीबाट जोगिएका कैलालीका श्रमिक घर फर्किए, १४० भन्दा बढी अझै सम्पर्कविहीन