नेपालकै पहिलो महिला पिएचडी बानिरा गिरीको हालै हृदयघात र कोराना संक्रमणबाट निधन भयो । जतिबेला महिलाहरुले स्कुलको ढोका पनि देख्न नपाउने समय थियो, त्यत्तिबेला बानिराले पिएचडी गरेकी थिइन् । यो चानचुने उपलब्धी थिएन नेपाली महिलाहरुका लागि ।
भारतको खर्साङमा सन् १९४६ मा जन्मिएकी डा. बानिरा राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुन काठमाडौं आएकी थिइन् । उक्त कविता प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । चटक्क मिलेको ज्यान, गहुगोरो छाला र बाटुलो मुहारमा जनकपुर निवासी इञ्जिनियर शंकर गिरी लोभिए । त्यसो त बानिरा पनि शंकरको व्यक्तित्व र सुडोल शरीरप्रति आकर्षित भएर नै होला उहाँहरु गहिरो प्रेममा डुब्न पुगे । उहाँहरुको सम्बन्ध पछि विवाहमा रुपान्तरण भयो ।

बानिरासँग मेरा केही निजी र पारिवारिक भेटघाटहरु भएका थिए । मेरा श्रीमान् र उहाँका छोरा अपूर्व गिरी मिल्ने साथी थिए । पारिवारिक मित्र भएकाले मैले उहाँलाई नजिकबाट देख्न र भेट्न अवसर पाएकी हुँ ।
न त अन्य महिलाजस्तो साजसज्जामा उहाँलाई देखें, न त कुनै सुनचाँदि हिरा मोतीजस्तो बहुमूल्य धातुहरुप्रति उहाँ आकर्षित भएको देखें । सायद उहाँ आफू नै ती धातुभन्दा बहुमूल्य भएर हुनुपर्छ ।
उहाँसँग मेरो पहिलो भेट मेरै विवाहमा भएको हो । उहाँ विशिष्ट पाहुनाका रुपमा उहाँ आउँनु भएको थियो । मलाई विवाहको उपहार स्वरुप उहाँले आफ्ना पुस्तक दिनुभएको थियो । त्यत्तिबेला मलाई असाध्यै खुशी लागेको थियो । त्यसै पनि म नारी हस्ताक्षर खोजी खोजी पढ्छु । उहाँको पुस्तक हातमा पर्नुअघि उहाँको कथा कवितालगायतका लेखहरु विभिन्न पत्रपत्रिकामा पढेकी थिएँ । एक किसिमले म उहाँको फ्यान नै बनिसकेको थिएँ । अझ उहाँ नेपालकै पहिलो पिएचडी गर्ने महिलाभन्दा बेग्लै छाप परेको थियो ममा।
उहाँलाई प्रत्यक्ष भेट्दा र पुस्तक उपहार पाउँदा मेरो विवाहको सबैभन्दा अमूल्य उपहार लाग्छ अझै मलाई । लगत्तै पछि २–४ पटक भेटघाट भयो, जसले हाम्रो सामिप्यलाई अझ नजिक बनायो । उहाँलाई आफ्नै हातले चिया पकाएर खुवाउन पाउँदा म फुरुङ्गै पर्थें ।

साह्रै साधारण मानिस उहाँ, न त अन्य महिलाजस्तो साजसज्जामा उहाँलाई देखें, न त कुनै सुनचाँदि हिरा मोतीजस्तो बहुमूल्य धातुहरुप्रति उहाँ आकर्षित भएको देखें । सायद उहाँ आफू नै ती धातुभन्दा बहुमूल्य भएर हुनुपर्छ ।
मैले अन्तिम पटक उहाँलाई भेट्दा उहाँ अल्जाइमर रोगले ग्रस्त हुनुभएको थियो । कसैलाई नचिन्ने भइसक्नु भएको थियो । उहाँका छोरा अपूर्व दाइले गत वर्ष खाना खान निम्ता गर्नुहुँदा अन्तिम पटक भेटेकी हुँ ।
बानिरालाई संधैं भूमिको मोह थियो रे । पृथ्वीमा निश्चित भनेको भूमि मात्र हो । भूमि भनेको सकेजति धेरै लिनुपर्छ भन्नुहुन्थ्यो रे ।
पछिल्लो पटक मैले भेट्दा उहाँ साह्रै निरीहजस्तो, हलचल गर्न नसक्ने, कसैसँग बोल्न नसक्ने, कसैलाई नचिन्ने र अरुको साहारामा बाँचिरहनु जस्तो लाग्यो । त्यो अवस्था देख्दा साह्रै टिठ लाग्यो । यस्ता होनाहार देशकी छोरीले अझै कलम चलाउन सकेको भए कति सिर्जना जन्मिन्थे होलान् । कति कृतिहरु प्रकाशित हुन्थे होलान् भन्ने कुरा सम्झदै मन थकथक लागिरह्यो ।
छोरी पढाउनुभन्दा अर्काकी धन मानेर उमेर नै नपुगी पढाइ नै पूरा नगरी विवाह गरिदिने समय र समाजमा एक्लो योद्दा भएर पढाइ पूरा गर्नु सानो साहास थिएन, त्यो बेलामा । सायद त्यो साहसको पनि फ्यान थिएँ म ।
बानिरा गिरीलाई श्रीमान शंकरको पनि साथ र सहयोग थियो । शंकरको साथ नभएको भए बानिरा गिरी आज अरु साधारण महिलाजस्तै घर परिवार र चुलोचौकोमा सीमित हुनुहुन्थ्यो होला । केही आफन्तबीचमा मात्र परिचित हुनुहुन्थ्यो होला । तर बानिरालाई संसारमै परिचय र नाम दिने शंकर गिरीलाई पनि सलाम गर्नुपर्छ ।

शंकर गिरी उहाँलाई अंकल भन्छु म । उहाँसँग बानिरा गिरीको ’boutमा धेरै कुराकानी भयो मेरो पछिल्लो भेटमा ।
‘बानिराले लेखेर जताततै छरपस्ट पारेर छोड्थिन, म त्यसलाई सम्हालेर पुस्तकको रुप दिन्थे’ शंकर गिरी भन्नुहुन्थ्यो, अझै थुप्रै लेखेका कागजातहरु घरभरि छरपस्ट छन्, त्यसलाई सम्हालेर कृतिहरु प्रकाशित गर्नुछ । अहिले बानिराको स्याहार सुसारमा छु, फुर्सद भएपछि ती कृतिहरु प्रकाशनमा ल्याउने छु ।’
बानिरालाई संधैं भूमिको मोह थियो रे । पृथ्वीमा निश्चित भनेको भूमि मात्र हो । भूमि भनेको सकेजति धेरै लिनुपर्छ भन्नुहुन्थ्यो रे । त्यसैले मीनभवनस्थित आफ्नै घरपछाडि डेढ रोपनी भूमिमा बानिरा गिरीको नाममा ट्रस्ट स्थापना गर्ने काम भइरहेको छ । जहाँ बानिराका कृति, पुरस्कारहरु, केही सम्झनाहरु राख्ने विचारमा हुनुहुन्छ शंकर गिरी ।
अझै ८० वर्ष पुगें म, कति गर्न सक्छु यो बुढो शरीरले र ? उहाँ भन्दै हुनुहुन्थ्योे । उहाँको यो काम कहाँसम्म पुग्यो सोध्नु नै छ । युवा अवस्थामा माया प्रेममा परेर विवाह गरेको यो जोडी अझै पनि त्यत्तिकै प्रेम गर्नुहुन्थ्यो बानिरालाई ।







