लिखु–४ जलविद्युत् आयोजनामा छानबिन समिति गठन

काठमाडौं । ओखलढुंगा र रामेछापको सीमावर्ती नदीमा निर्माणाधीन ५२ दशमलव ४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको परीक्षणका क्रममा डिस्यान्डर (बालुवा थिग्य्राउने पोखरी) भत्किएपछि यसको छानबिन गर्न समिति गठन गरिएको छ ।

परीक्षणको क्रममा रहेको बाँध एक्कासि शुक्रबार बिहान (७ जेठ) फुटेको थियो । बाँध फुटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् विकास विभागको छलफलको निष्कर्षबाट समिति गठन गर्ने निर्णय गरेको हो । विभागले आयोजना अध्ययन महाशाखाका सीडीई (सिनियर डिभिजनल इन्जिनियर) आशिष श्रेष्ठको संयोजकत्वमा सोमबार (१० जेठ) पाँच सदस्यीय छानबिन समिति गठन गरेको विभागले जनाएको छ । समितिमा विभागबाट संयोजकसहित पाँच जना र स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)बाट एक जना प्रतिनिधि छन् ।

सम्पन्न हुने चरणमा रहेको ड्याममा गत बिहीबार पानी हालेपछि राति नै बाँध फुटेको थियो । ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजना अन्तिम चरणमा आएर बाँध फुटेपछि त्यसको छानबिनका लागि समित गठन गर्न लागिएको हो । आयोजनामा काम दुईवटा ठेकेदार कम्पनी एसएसएनआर कम्पनी र ग्रिन भेन्चर्स रहेका छन् । बाँध फुट्नुको कारण प्रवद्र्धक कम्पनी ग्रिन भेन्चर्स र निर्माण कम्पनी एसएसएनआरले गरेको निर्माणमा लापर्बाही भएको आरोप स्थानीयको छ । कमजोर संरचना निर्माणका कारण पानी ड्यामले थाम्न नसकेपछि बाँध फुटेको प्रारम्भिक अनुमान गरिएको थियो ।

जलविद्युत् आयोजना निर्माणक्रममा कतिपय भौगोलिक अवस्थाका कारण समस्या आउने गरेको भएपछि लिखुमा आएको समस्यामा विभागले अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ । समितिलाई छानबिन गरी अध्ययन प्रतिवेदन बुझाउन एक महिनाको समय तोकिएको छ । साथै, समितिलाई डिजाइन तथा ड्रवीङ हेर्ने, परीक्षण प्रतिवेदन अध्ययन गर्नेलगायत सुरुदेखिका काम कारबाहीको अनुगमन गर्न निर्देशनसमेत दिएको विभागले जनाएको छ ।

यसैगरी, डिस्यान्डर भत्केको दिन त्यस क्षेत्रमा कति पानी परेको थियो र खोलाको बहाव कति थियो भन्ने पक्षसमेत सूक्ष्म रूपमा अध्ययन गर्न निर्देशन दिइएको छ । आयोजनाले खोलामा एक्कासी पानीको बहाव बढेको अर्थात् बाढी आएका कारण डिस्यान्डर भत्किएको बताएको छ ।

आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३ र लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको १, २ र ७ नम्बर वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनाको अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनाका साथ आयोजना निर्माण सुरु भएको थियो ।

१० अर्ब १६ करोड रूपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकले ७५ प्रतिशत लगानी गर्ने र आयोजनामा २५ प्रतिशत लगानी त्रिवेणी गु्रप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको छ । २०७३ असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगस्टभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर आयोजनाबाट हालसम्म पछि विद्युत् उत्पादन गर्न सकिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 513 times, 1 visits today)

epaper

ताजा समाचार

निडर प्रकृति: जो साढे ३ सय शव पहिचानमा खटिइन्