नेपालमा अत्यन्त अल्प अवधिमा विभिन्न प्रकारका राजनीतिक प्रणालीको अवलम्बन हँुदै आएको छ । २०१५ सालमा संसदीय लोकतन्त्रको अभ्यास भएको थियो दुई वर्ष पनि बित्न नपाउँदै निर्दलीय पञ्चायती शासन प्रणाली अवलम्बन गर्ने निर्णय तत्कालीन राजा महेन्द्रले लिँदै लोकतन्त्र र यसका समर्थकहरूको अस्तित्व समाप्त पार्ने असफल प्रयास गरेका थिए । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक देश नेपालमा गत दुई दशकमा धेरै प्रकारका राजनीतिक परिवर्तन भएका छन् । नेपालको राजतन्त्र निरपेक्षबाट संवैधानिक राजतन्त्रमा सीमित हुन पुगेकामा २०६३ बाट देश गणतन्त्र बनेको छ । विश्वकै एक मात्र हिन्दू राष्ट्रको पहिचानबाट गौरवान्वित नेपाल धर्म निरपेक्ष राज्यमा बदलिएको छ । एकतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्दै आएको देश संघीयतामा रूपान्तरित भई तीन तहका सरकार कायम भएका छन् । धर्म निरपेक्ष, गणतन्त्र र संघीय देश बनेपश्चात् धेरै प्रकारका अपेक्षा नेपालीले गर्नु स्वाभाविकै हो । तर, शासन सञ्चालन गर्नेहरूको गलत रवैयाका कारण नेपाली जनतामा नैराश्यता छाएको छ । सरकार विस्तारै सर्वसत्तावादतर्फ उन्मुख हँुदै गएको अवस्था छ ।
लोकतन्त्रका नाममा शासन सञ्चालन गरिराखेकालाई यसको वास्तविक अर्थको जानकारी भएको देखिएन । विश्वका विभिन्न समाजमा अभ्यास गरी आएका प्रजातन्त्रको विकास र परिभाषा विविध प्रकारले हुँदै आएको छ । यो देश र समाज सापेक्ष हुनुपर्छ । लोकतन्त्रको परिभाषा पृथक प्रकारले हँुदै आएको छ । तापनि यसको आधारभूत तत्वहरू समान छन् । सबैले स्वीकार गरेका छन् । जनता र देश सार्वभौम, बहुमतको शासन, अल्पमतको अधिकार, सम्मान र सम्बोधन, मानव अधिकारको प्रत्याभूति, कानुनी शासन र कानुनको समान प्रयोग, संवैधानिक नियन्त्रणमा सरकारका सबै अंग, स्वतन्त्र र निष्पक्ष निर्वाचन, सामाजिक, आर्थिक र राजनीतिक बहुलवादलाई व्यवहारमै सम्बोधन आदि अत्यन्त महत्वपूर्ण मानिन्छन् । यिनै आधारभूत विशेषताको प्रयोगको अवस्थामा लोकतन्त्रको विकास निर्भर गर्छ ।
लोकतन्त्रमा नीति निर्माण गर्दा र निर्णय लिँदा त्यसको उपादेयतालाई वस्तुगत आधारमा प्रमाणित गर्न सकिने आधार बनाउनु जरुरी छ
देशमा लोकतन्त्रको अभ्यास कसरी भएको छ ? यिनै आधारमा अमुक देशको लोकतन्त्रको अवस्थाको परीक्षण गरिनुपर्छ । नेपालमा जुन रफ्तारमा इमानदारिता साथ यी तत्वको प्रयोग हुनुपर्ने हो सोको अभाव देखिएको छ । संघीयतालाई उत्तम लोकतान्त्रिक व्यवस्था मानिँदै आएको छ । नेपालले पनि यसको उपयुक्त व्यवस्थापनबाट धेरै प्रकारका अधिकार र स्वतन्त्रता जनतालाई प्रदान गरी यथार्थतामा सार्वभौम अधिकार सम्पन्न बनाउन सक्थ्यो । तर, सरकारमा रहनेहरूमा केन्द्रीकृत मानसिकता हावी छ । व्यवहारमा इमानदारिताका साथ संघीयताको अभ्यास हुन सकेको छैन । प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी संसद्मा विधेयक पेस गर्न जस्ता सरकारका गैरलोकतान्त्रिक सोचको प्रतिनिधि उदाहरण प्रस्तुत गर्दै यसका अन्य धेरै दृष्टान्त वास्तविकतामा आधारित हँुदै प्रस्तुत गर्न सक्ने अवस्था छ । यस्तै, गलत अभ्यासबाट सरकारले आफ्नो लोकतान्त्रिक साख गुमाउँदै गएको छ ।
लोकतान्त्रिक देश नेपालमा सरकारी क्रियाकलाप गैरलोकतान्त्रिक हँुदै गएका छन् । लोकतन्त्रको सिद्धान्तबाट सरकार क्रमशः विचलित हँुदै छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष सबैलाई समान व्यवहार गर्नु हो तर सरकार आफ्नो दल, दलभित्रका आफ्नो नजिक रहेको समूह, व्यक्तिगत नाता इष्टमित्रलाई सबै प्रकारका सुविधा राज्यका तर्फबाट उपलब्ध गराउन अभ्यस्त छ । सरकारी क्रियाकलापहरूको आलोचना गर्नेहरू सरकारको बक्रदृष्टिमा परेका छन् । देश सबै प्रकारका बहिष्करणवाट जनतालाई प्रताडित बनाउँदै छ । असहिष्णुता प्रदर्शन गरिराखेको छ । केही नागरिक समग्र नागरिकका तुलनामा असमान हुन् र यसैलाई लोकतन्त्रको परिभाषा सोचिराखेको छ । नेपाली जनताको स्वतन्त्रताको अपहरण गर्दै आएका उदाहरण दिन सकिन्छ । केही समय पहिले डा. बाबुराम भट्टराईको रेडियो नेपालमा दिएको अन्तर्वार्ता अभिलेख नरहने गरी मेटिएको थियो । काठमाडौं एक्सप्रेस डट कमले सरकारको आलोचना गरी प्रसारण गरेको समाचार प्रधानमन्त्रीकै सूचना प्रविधि सल्लाहकारले हस्तक्षेप गरेको समाचार त्यस समय भाइरल भएको थियो । अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको आधार हो । तर, सरकार यस प्रकारको स्वतन्त्रतामा समेत अंकुश लगाउन उद्दत रहेको छ । एक पूर्वसचिवलाई सरकारको आलोचना गरेको सन्दर्भमा प्रहरी कारबाही चलाएर मुद्दा लगाउनुलाई उचित कदमका रूपमा किमार्थ लिन सकिँदैन ।
यस प्रकारका सरकारी हर्कतकै कारण देशभित्रका कलमजीवी विद्वान आफ््ना अभिव्यक्ति लिखित र मौखिक रूपमा पाठक र स्रोता समक्ष पु¥याई राष्ट्रलाई योगदान दिन भयभित छन् । आफ्ना आलोचकलाई असल मित्रका रूपमा स्वीकार्न सक्ने राजनीतिक संस्कृति लोकतन्त्रमा जरुरी हुन्छ । किनकि, यसबाट कमीकमजोरीलाई सुधार गर्ने अवसर मिल्छ । तर, वर्तमान सरकार यस मूल्य र मान्यताबाट विमुख भइराखेको छ । सार्वजनिक नीति उत्पादक हँुदा पनि त्यसको निर्णय गर्ने तरिका लोकतान्त्रिक हुनुपर्छ । सरकार यसबाट समेत पलायन भएको छ । संवैधानिक परिषद्सम्बन्धी र दल विभाजनसम्बन्धी अध्यादेश’bout लिइएको निर्णय सर्वथा अनुचित थियो । सर्वत्र विरोध भएपश्चात् फिर्ता लिइयो । प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयले सरकारलाई संविधानभन्दा माथि राखी कार्य गरेको थियो । संविधानमा नभएको प्रावधानका आधारमा प्रतिनिधि सभा विघटन गर्नु भनेको लोकतन्त्रको उपहास गर्नु हो । यो अवस्था आउँदै गर्दा लोकतन्त्र खतरामा पर्ने निश्चित छ । यसतर्फ उद्धृत हुँदै सरकार आफूलाई लोकतन्त्रवादी भएको दाबी गरिराखेको छ ।
नेपालको लोकतन्त्र सरकारी अकर्मण्यताले गर्दा सिद्धान्तमा मात्र सीमित बनेको छ
प्रधानमन्त्रीको प्रतिबद्धता पटकपटक नागरिक अधिकारका पक्षमा देखिए तापनि सरकारी व्यवहार प्रतिकूल छ । तथ्यमा आधारित भएर यो सन्दर्भलाई प्रमाणित गर्न सकिन्छ । मिडिया काउन्सिल विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयकलाई संसद्मा पेस गर्नु प्रतिनिधि उदाहरणका रूपमा स्मरण गर्दा सरकारको इमानदारिता अभिव्यक्तिलगायत मौलिक हकको संरक्षणतर्फ देखिएको छैन । यी विधेयकहरूले नागरिक अधिकार कुण्ठित गराउने प्रस्ट देखिएको थियो । शक्तिको केन्द्र्रीकरण गर्दै अन्य क्षेत्रगत मन्त्रालयका अधिकारसमेत आफंैले लिई केन्द्रीकृत गर्न प्रधानमन्त्री ज्यादा लालायित देखिएका छन् । यसबाट उनकै मन्त्रीसमेत आलोचनामा उत्रिएको अवस्थासमेत अनुभूति गर्न सकिने वातावरण बनेको छ । सरकारमा रहनेहरूले संकुचित अर्थमा मात्र लोकतन्त्रलाई आत्मसात् गरेका छन् । उनीहरूको विचारमा अस्वस्थ तरिकाले नै भए पनि निर्वाचनमा विजयी बन्नु र सरकारमा पुग्नु नै लोकतन्त्र हो । प्रतिपक्षलाई सम्मान गर्न नसक्नु र असहिष्णु बन्नु नै सत्ता पक्षले ठूलो उपलब्धिका रूपमा स्वीकार गरिराखेको छ । सत्तारूढ पक्षका कतिपय नेताहरूको आफ्ना विपक्षप्रतिको अभिव्यक्ति गैरराजनीतिक समेत प्रतीत भएका छन् । जनताको आवाजलाई सम्मान गर्दै लोकतान्त्रिक मूल्य र मान्यता आधारमा शासन सञ्चालन गर्न सक्नु नै आफ्नो सफलता भएको र यसैमा लोकतन्त्रको विकास सम्भव हुने यथार्थतालाई स्मरण गर्दै सोहीअनुरूप व्यवहार गर्नु जरुरी छ ।
लोकतन्त्र सधैं समय र समाज सापेक्ष बन्न सक्नुपर्छ । लोकतन्त्रको परिभाषा विभिन्न कालखण्डमा परिमार्जन हँुदै आएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको परिभाषाले धेरै समय काम गरेको थियो । अब सो परिभाषामा जनताले (बाइ दि पिपुल) नै पर्याप्त मानिन्छ । तत्पश्चात् अल्पसंख्यकहरूलाई सम्मान र पछि परेकालाई समान बनाउने धारणाले मान्यता प्राप्त गरी समता र सामाजिक न्यायको पक्षमा पैरवी हँुदै आएको छ । समावेशीकरणको सिद्धान्त र यसैमा आधारित भएर बनेका नीतिहरू र कार्यक्रमलाई विश्वले नै स्वीकार गर्दै आएको छ । समानतामा समझदारी गरेर सबैलाई समान बनाउने दिशा यस नीतिले निर्धारण गरेको छ । समाजमा द्वन्द्वको अवस्था नामेट गर्न यस नीतिलाई अवलम्बन गरिएको हो । यसले उपयुक्त गन्तव्य निर्धारण गर्न सक्नुपर्छ र निश्चित समय अवधिका लागि मात्र कार्यक्रम र नीतिका आधारमा हस्तक्षेप गर्नुपर्छ । नेपालमा यस नीति र कार्यक्रमले पनि कमजोरलाई सम्बोधन गर्न नसकेको आलोचना भइराखेको छ । यसमा योगदान गर्ने वर्ग सन्तुष्ट हुन सकेको छैन । यो अवस्थामा यस्ता नीति अनुत्पादक हुने स्थिति बन्छ । बहुमतको सरकार हुने भन्ने एकल सोच मात्र लोकतन्त्र होइन । सबै प्रकारका कमजोर वर्गका लागि कार्यान्वयन हुने यस्ता कार्यक्रमहरूले गुणस्तरमा समझदारी गरिरहँदा अन्त्यमा सेवाग्राहीहरू नै मर्कामा परेका छन् । त्यसैले लोकतन्त्रमा नीति निर्माण गर्दा र निर्णय लिइँदा त्यसको उपादेयतालाई वस्तुगत आधारमा प्रमाणित गर्न सकिने आधारहरू बनाउनु जरुरी छ । आर्थिक पक्षलाई दृष्टिगत गरी यी कार्यक्रम सञ्चालन हुनुपर्छ ।
आधुनिक विश्व लोकतन्त्रको नयाँ प्रयोगमा जुटिराखेको छ । जवाफदेहितालाई यसले अभिन्न अंगका रूपमा अंगीकार गरेको छ । यसमा ठूलो संख्याले निर्वाचित गरी पठाएका प्रतिनिधि कुनै निश्चित अल्प संख्याप्रति जवाफदेहिता निर्वाह नगरेको पाइदा प्रत्याह्वानसमेत त्यही सानो संख्याले गर्न पाउने अभ्यासमा लागेका छन् । फिनल्यान्डले प्रारम्भ गरेको यो प्रक्रिया र व्यवस्थालाई स्वीटजरल्यान्डले परीक्षण गरिराखेको छ । यसरी जनताप्रति जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भलाई लोकतन्त्रले सर्वाधिक प्राथमिकता दिने अभ्यास विश्वव्यापी रूपमा लोकतान्त्रिक देशहरूले अवलम्बन गर्दै आएका छन् । यस अवस्थामा नेपालको लोकतन्त्र सरकारी अकर्मण्यताले गर्दा सिद्धान्तमा मात्र सीमित बनेको छ र समाजमा द्वन्द्व आमन्त्रण हुने अवस्था सिर्जना भइराखेको छ ।






