सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् । बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डिएसपी माधव काफ्लेका अनुसार २०६९ चैत १५ गते साढेलाई बाधेको विषयमा विवाद हुँदा यादवले सोही वडा निवासी ललिता चामलिङलाई मर्नासन्न हुनेगरि कुटपिट गरेका थिए ।
कुटपिटबाट महिलाको टाउँको फुट्नुका साथै देब्रे हात समेत भाचिएको थियो । उक्त कुटपिट मुद्दा माथीको सुनवाईमा सप्तरी जिल्ला अदालतले २०७१ पुस ८ गते २ वर्ष कैद सजायको फैसला गरेको थियो । घटनापछि यादव फरार भएका थिए ।






