रियो दि जेनेरिया । अर्जेटिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार अर्जेन्टिनाले शनिबार भएको खेलमा इक्वेडरलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । सो प्रतियोगितामा मेसीले उत्कृष्ट खेल पर्दशन गरे । मेसीले फ्रिकिकमार्फत एक गोल गरे भने दुई गोल गर्न सहयोग गरे ।
खेलको सुरुवातदेखि नै अर्जेटिनाले आक्रमण गरेको थियो । उसले थु्रपै मुभ सिर्जना ग-यो । इक्वेडरका गोलरक्षक निकै व्यस्त देखिए । केही उत्कृष्ट बचाउ समेत गर्न सफल भए । इक्वेडरले पनि केही मुभ सिर्जना गरेको भए पनि गोल गर्नबाट चुक्यो ।
दोस्रो हाफमा इक्वेडरले सुधारिएको प्रदर्शन गर्दै केही समय अर्जेन्टिनालाई दबाबमा राखेको थियो । लगातार अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । अन्तिम समयमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि इक्वेडर प्रतियोगिताबाट बाहिरिएको थियो । मेस्सीले फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको अन्तिम चार यात्रा तय गरे । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ । रोड्रिगो डे पलले अर्जेटिनाका लागि पहिलो गोल गरेका थिए । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १–० ले अगाडि लगाए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।
७४औं मिनेटमा डे पलको पासमा मेस्सीले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ८४औं मिनेटमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा अग्रता दोब्बर पा¥यो । डी मारियाले इक्वेडरको पेनाल्टी क्षेत्र अगाडि डिफेन्डरबाट बल खोसेपछि मेस्सीले बल मार्टिनेजलाई दिए । मार्टिनेजले वन भर्सेस वनमा सहज फिनिस गर्दै गरेका थिए ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । पेनाल्टी क्षेत्रबाहिर एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले भीएआरको सहयोग लिँदै डिफेन्डर पिएरो हिन्कापिएलाई रातो कार्ड दिएका थिए । मेस्सीले उक्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै जित पक्का गरे ।
कोलम्बिया सेमीमा
गोलरक्षक डेबिड ओस्पिनाले टाइब्रेकरमा दुई बचाउ गरेपछि कोलोम्बियाले कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेलाई पराजित गरेको थियो । टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै कोलोम्बियाले सेमिफाइनलमा स्थान बनायो ।
निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले एक अर्काको गोलरक्षकलाई खासै धेरै समस्या दिन सकेनन् ।
टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाको जित पक्का गरेका थिए । कोलोम्बियाका लागि भने सबै ४ प्रहार गोल भएको थियो ।
कोलोम्बियाका लागि दुभान जपाटाले पहिलो प्रहारमा गोल गरेपछि उरुग्वेका एडिन्सन काभानी र कोलोम्बियाकै देभिन्सन सान्चेजले गोल गरे । एटलेटिको म्याड्रिडका डिफेन्डर जोसे जिमिनेजले गरेको दोस्रो प्रहार विफल पार्दै ओस्पिनाले टोलीलाई अघि राखेका थिए ।
कोलोम्बियाका येरी मिना, उरुग्वेका लुइस सुआरेज र त्यसपछि कोलोम्बियाका मिगुएल बोर्जाले पेनाल्टीमा कुनै गल्ती गरेनन् । चौथो प्रहार गर्न आएका उरुग्वेका भिनाको प्रहार पनि ओस्पिनाले विफल पारेपछि खेल कोलोम्बियाले जितेको थियो ।






