रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रधानमन्त्री ओलीले गरे भर्चुअल शिलान्यास

 

सप्तरी, राजविराज । लामो समयदेखीको जग्गा विवादले अन्यौलमा परेको बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ ।

जग्गा विवाद निरुपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । शिलान्याससँगै प्रतिष्ठान निर्माण कार्य अघि बढेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरे । उनले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने बताए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको सुधार, रुपनीदेखी दक्षिणतर्फको फोर लाइन सडक तथा जिल्लाको कृषिमा आधुनिकीकरणका लागि समेत सरकारले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले शिलान्यास मन्तव्यको क्रममा जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन समेत आग्रह गरे ।

२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए । जसका लागि राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि जग्गा विवाद उत्पन्न भई प्रतिषठन निर्माण अन्यौलमा परेको थियो । विवादका कारण नगरपालिकाले उपलब्ध गराएको जग्गा प्रतिष्ठानको नाउमा आउन नसक्दा कुनै काम अघि बढ्न सकेको थिएन् ।

उक्त जग्गाको फाइल भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमै रोकिदा यहाँको जनतामा निराशा छाएको थियो ।

यसैबीच जनता समाजवादी पार्टीको तर्फबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका लक्ष्मणलाल कर्णले पद वहाली गरे लगत्तै उक्त जग्गा प्रतिष्ठानको नाममा स्वीकृत गरेपछि प्रतिषठन निर्माणको बाटो सहज भएको हो ।

प्रधामन्त्रीले त्यसको शिलान्यास समेत गर्दा अहिले जिल्लामा खुशीयाली छाएको छ । प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाले जिल्लाका साथै प्रदेशमै स्तरिय स्वास्थ्य सेवाका साथै प्रदेशको समृद्धिमा सहयोग पुग्ने बताउँदै अबको पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए ।

झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको रामराजा स्वास्थ्य वित्रान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 527 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण