विदेश पठाउने एजेन्टलाई कुटेर हत्या गर्ने पाँच जना पक्राउ

 

सप्तरी, राजविराज । सप्तरीमा दुई पक्षबीच भएको विवादका क्रममा एकको मृत्यु भएपछि घटनामा संलग्न रहेका पाँच जना फरार आरोपिलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती पक्राउ परेका उनीहरुको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका ९ बस्ने ३२ वर्षिय नजबुल मियाँ, ५५ वर्षिय मो. कालिस मियाँ, ६० वर्षिय रफुवा मियाँ, ४२ वर्षिय इजराइल मियाँ र ३२ वर्षिय मो. जाकिर छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर प्रसाद साह, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बिरेन्द्र पासवान र इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायब निरिक्षक सागिर राइनको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बोदेबरसाइन नगरपालिका ९ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेका अनुसार गत असार २४ गते राती १० बजेतिर सोही वडा निवासी ४२ वर्षिय मो. दाउदमाथी आरोपितहरुद्वारा लाठी, भाटालगायतका घरेलु हतियारले आक्रमण गरिएको थियो । सोही राती उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आरोपितहरु फरार भएका थिए ।

दाउद एक म्यानपावर कम्पनिका लागि गाउँघरका यूवालाई बैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका थिए । कुटपिटमा संलग्नहरुले भने अनुसारको काम नपाएको तथा विदेशमा आफन्त विचल्लीमा परेको भन्दै कुटपिट गर्दा दाउदको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

कहिले छिनोफानो होला १२ वर्षमा ५२ पटक सर्वोच्चको इजलासमा घुमेको छायादेवी कम्प्लेक्सको विवाद ?