काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियल जापानमा भेला हुने क्रममा रहेका छन् । ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबललगायतका सामूहिक खेल सुरु भइसक्नेछन् ।
नेपालबाट यसपटक टोकियो ओलम्पिकमा ४ खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । पौडी, सुटिङ र जुडोका खेलाडी जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्नेछ । यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्नेछन् ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तथा नेपाल ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिवले अन्तिम समयमा जापान नजाने निर्णय गरेका छन् । सेभ दि मिसनका रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रहेका छन् । टोकियो ओलम्पिक २०२० को उद्घाटन भएको भोलिपल्ट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेस गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।
ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदकभन्दा पनि आफ्नो प्रदर्शन सुुधार गर्नु नै हुनेछ । २७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । २८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । ३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । यो टोकियो आलेम्पिकमा नेपालका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिए पनि अन्तिम समयमा सरस्वती चौधरीले १०० मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । ३० जुलाईमा हिट चरणको खेल हुनेछ । जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ । गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् । गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।
नेपाली खेलाडी ओलम्पिक भिलेजमा
टोकियो ओलम्पिक २०२० का लागि तीन खेलका चार नेपाली खेलाडीसहित पदाधिकारी ओलम्पिक भिलेजमा पुगेका छन् । तीन दिनअघि जापान पुगेका नेपालकी जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले आफ्नो क्वारेन्टिन अवधि सकेर पहिलो दिन अभ्यास गरेकी छन् । मंगलबारै सेभ दि मिसन रमेशकुमार सिलवालले सीडीएम बैठकमा पहिलोपटक भौतिक रूपमा उपस्थित भएका छन् । यसअघि भर्चुअल रूपमा उपस्थित हुने गरेका थिए ।






